१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मनीषाले देखेको सिनेक्षेत्रको रूपान्तरण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५५:oo

तीन दशकदेखि बलिउडमा सक्रिय नेपाली अभिनेत्री मनीषा कोइराला मौलिक कन्टेन्टमा चलचित्र बनाउन सके नेपालले आफ्नो दर्शकको दायरालाई पनि बढाउन सक्ने बताउँछिन् । ‘२१औँ शताब्दीमा रिल : नेपाली सिनेमाको विकास’ विषयमा काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन उनले सिने क्षेत्रमा देखिएका परिवर्तनबारे आफ्ना धारणा राखेकी छिन् । 

मैले पहिलेदेखि नै भन्दै आइरहेकी छु, आफ्नो वरपर भएको कथा आफूसँग सम्बन्धित हुनुपर्छ । कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ । दुःख–सुख, मूल्य–मान्यता, सोच, विचारलगायत पक्षमा सिनेमाले पनि हाम्रो जीवनमा केही योगदान दिन सक्छ, बाटो देखाउन सक्नुपर्छ भन्ने लाग्छ । 

अहिले म नेटफिल्क्सको एउटा वेबसिरिज गर्दै छु । ओटिटीबाट प्रसारण हुने भएकाले यो कुनै निश्चित ठाउँको भएन, विश्वभरको हुन्छ । तर पनि ओटिटीका सञ्चालकहरू जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन् । अन्तर्राष्ट्रियस्तरमा यदि नेपालको कथा भनेको हो भने यहाँकोे संस्कृति कस्तो छ, जीवन कस्तो छ भनेर हेर्न चाहन्छन् । त्यसैले जुनसुकै देशले पनि उसको देशको माटोसुहाउँदो फिल्म बनाउन जरुरी छ ।

जब म बलिउडको सिने उद्योगसँग जोडिएँ, त्यो नब्बेको दशकको नजिकको समय थियो । अहिलेसम्मको ३० वर्षे अनुभवमा धेरै परिवर्तन आएका छन्, विकास भएका छन् । त्यो समयमा धेरै मेलो ड्रामाका फिल्म बन्थे । पुराना फोटोहरू हेर्दा त्यो समयको ड्रेसिङ सेन्स देखेर मलाई अहिले हाँसो लाग्छ । अहिले धेरै कुरा विकास भइसकेका छन् ।

अहिले सिनेमामा वास्तविकता चित्रण गर्ने अभ्यास धेरै बढेको छ । विश्वभर नै वास्तविक विषयमा बनेका सिनेमा मन पराउँछन् । प्रस्तुतीकरण जति वास्तविक भयो, त्यति मन पराउँछन् ।

जब मैले सिनेमा सुरु गरेकी थिएँ, मेलो ड्रामा धेरै चाहिन्थ्यो । रुँदा पनि एकदमै धेरै आँसु निकाल्नुपर्ने, अनुहार बिगार्नुपर्ने । जति धेरै चिच्यायो, त्यति धेरै वाउ, कति राम्रो अभिनय गरेको भन्ने हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । अभिनय जति धेरै वास्तविक हुन सक्यो, त्यति राम्रो मानिन थालेको छ । अहिले अभिनय गर्दा आँखामा आँसु जरुरी छैन, आँखामा पीडा देखिनुपर्‍यो । 

सिनेमा अहिले ग्लोबल भिलेजजस्तो बनेको छ । सबै सिनेमा मोबाइलमा, इन्टरनेटको पहुँचमा पुगेका छन् । त्यसैले नेपाली सिनेमा पनि विश्वभरका मानिसलाई नै लक्षित गरेर बनाइनुपर्छ । 

गुणस्तरीय सोच, गुणस्तरीय मूल्यलगायत कसरी गुणस्तरीय तरिकाले सिनेमाका माध्यमबाट कथा भन्ने विषय एकदमै महत्वपूर्ण छ । अझै यसमा ठूलो हृदय भएको कथा भइदियो भने कति राम्रो । त्यसैले सिनेमा विकास भइरहेको छ, राम्रो भइरहेको छ ।

अहिले ५० कटेका कलाकारले पनि मुख्य भूमिकामा प्रशस्तै काम पाएका छन् । पहिले त्यस्तो हुँदैनथ्यो । उमेर बढ्दै गएपछि आमाको भूमिका या अन्य सहायक भूमिकामा मात्रै कलाकारहरू अटाउँथे । अन्त्यमा, राम्रो स्टोरी, राम्रो स्क्रिप्ट भए म नेपाली सिनेमामा काम गर्न चाहन्छु । मलाई नेपाली सिनेमामा काम गर्ने तीव्र इच्छा छ ।

ad
ad