
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले समाजवादी मोर्चा नेपाल समाजवादी क्रान्तिको यात्राको पहिलो कदम रहेको बताएका छन्। समाजवादी मोर्चा गण्डकी प्रदेशको आयोजना तथा माओवादी केन्द्रको व्यवस्थापनमा शुक्रबार पोखरामा सम्पन्न मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले समाजवादी मोर्चाको निर्माण एउटा समूह र पार्टीविशेषले गर्ने काम नभएको उल्लेख गर्दै यसका निम्ति करोडौँ जनता संगठित र आन्दोलित हुन आवश्यक रहेको बताए। यसका लागि विभाजित सवै कम्युनिस्ट, दिग्भ्रममा परेका समाजवादीहरू एक ठाउँमा केन्द्रित हुन जरुरी रहेकोमा उनको जोड थियो।
सो मोर्चा सानो उद्देश्य राखेर निर्वाचनका लागि नबनेको जिकिर गर्दै प्रचण्डले समाजवादका लागि नयाँ क्रान्ति र अभियान संस्कृतिका लागि मोर्चामा आबद्ध भएको बताए। ‘एउटा कालखण्डमा हामी फरक–फरक समयमा एउटै पार्टीमा थियौँ, विशेष कारणहरूले गर्दा अलग–अलग हुन पुग्यौँ। तर, अब मोर्चामार्फत एउटा रणनीतिक उद्देश्यका साथ केन्द्रीकृत हुँदै छौँ,’ उनले भने।