१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला भलिबलमा विश्व कीर्तिमानी दर्शक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४८:oo

 फुटबल र क्रिकेटमा दर्शकको क्रेज धेरै छ । खेल जगत्मा राम्रा टोलीबीचको प्रतिस्पर्धा हेर्न रंगशालामा दर्शक खचाखच हुन्छन् । फिफाले आयोजना गर्ने विश्वकप र आइसिसी विश्वकपमा चिरपरिचित प्रतिद्वन्द्वीबीचको खेल हेर्न हजारौँ दर्शक आउने गर्छन् । तर, बिहीबार अमेरिकामा आयोजना भएको एक भलिबल प्रतियोगितामा दर्शकको उपस्थितिले फुटबल र क्रिकेटलाई समेत पाखा लगाएको छ ।

अमेरिकाको सिकागोमा भएको नेब्रास्का भलिबलमा दर्शकको उपस्थितिले विश्व कीर्तिमान नै बनायो । यसमा  ९२ हजार तीन जना दर्शक उपस्थित भएको बिबिसीले जनाएको छ । विश्व खेलकुदमा कुनै पनि महिला खेलमा यति धेरै दर्शक उपस्थित भएको यो पहिलोपटक हो । नेब्रास्का र ओमाहाबीचको खेल स्थानीय विद्यालयको फुटबल मैदानमा खेलाइएको थियो । यसअघि महिला खेलकुदमा गत वर्ष बार्सिलोना र रियल म्याड्रिडबीचको फुटबल खेलले कीर्तिमान बनाएको थियो । 

च्याम्पियन्स लिगअन्तर्गतको खेलमा ९१ हजार ६ सय ४८ दर्शक उपस्थित भएका थिए । यसअघि सन् १९९९ मा भएको फिफा महिला विश्वकपमा आयोजक अमेरिका र चीनबीचको खेल हेर्न ९० हजार एक सय ८५ दर्शक उपस्थित भएका थिए । एनसिएए भलिबलमा अहिलेसम्म सर्वाधिक दर्शक उपस्थिति भएको संख्या नै १८ हजार सात सय ५५ हो । सन् २०२१ को १८ डिसेम्बरमा नेब्रास्कालाई समर्थन गर्न ती दर्शकको ओइरो लागेको थियो ।

औसत २० हजार दर्शक
सामान्यतः अमेरिकामा भलिबल आयोजना हुँदा औसत २० हजार दर्शक आउने गर्थे । नेब्रास्का र ओमाहाबीचको रोमाञ्चक भलिबल खेलका लागि महिनौँदेखि प्रचार गरिएको थियो । अमेरिकाका प्रत्येक राज्यमा प्रचार भएपछि विश्व कीर्तिमान बनेको आयोजकले जनाएको छ । नेब्रास्काकी लिबेरो एन्डी ज्याकसनले अविश्वसनीय दर्शक उपस्थित भएको बताइन् । ‘यो एक किसिमको रेकर्ड हो, हामी भलिबललाई यति माया गर्छौं भन्ने विश्वास नै लागेको थिएन,’ उनले भनिन्, ‘म एकदमै उत्साहित भएँ ।’ 

नेब्रास्काका प्रशिक्षक जोन कुकले हजारौँ दर्शकमाझ जित निकाल्दा थप खुसी लागेको बताए । ‘हामी हजारौँ दर्शकमाझ उपाधि जित्न चाहन्थ्यौँ, त्यो पूरा भएको छ,’ उनले भने । बिहीबारको प्रतिस्पर्धामा नेब्रास्काले ३–० को सहज जित निकालेको थियो । 

ad
ad