१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १o:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

शिव शिखर सहकारी ठगीका नाइके केदारनाथ शर्मा जेल चलान 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:२२:oo

शिव शिखर सहकारीको संगठित ठगीका नाइके केदारनाथ शर्मा जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो । जसमा उनी थुनामा गएको र पक्राउ परेका अन्य तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । 

उनीसँगै पक्राउ परेकी कीर्तिपुर शाखाका प्रमुख रसना शाक्यसँग १० लाख तथा लेखा समितिको सदस्य रहेका रमेश खाइजू र शिवप्रसाद पौड्यालसँग सात–सात लाख धरौटी रकम माग भएको छ । उनीहरूमध्ये रसना धरौटी बुझाएर छुटेकी छिन् भने अन्य दुई जेल चलान भएका छन् । उनीहरुलाई अन्य जिल्लामा पनि मुद्दा चलाउने प्रहरी तयारी छ । 

काठमाडौं शाखाका सेयर सदस्यको उजुरीका आधारमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो । काठमाडौंका विभिन्न शाखामा सो सहकारीमा २१ हजार तीन सय ६९ हजार रुपैयाँ बचत देखिएको थियो । तर, प्रहरीमा एक हजार एक सय ४५ जनाले ७८ करोड १९ लाख ६३ हजार रुपैयाँबराबरको जाहेरी दिएका थिए । ७८ करोडकै बिगोको कायम गरी मुद्दा दायर भएको थियो । 

जेलमा रहेकी केदारनाथकी श्रीमती गीता शर्मा, संस्थाका कार्यकारी निर्देशक अमिश राजभण्डारी र शिखर अर्गनाइजेनसका मेनेजर पुष्कर मल्ल यसअघि नै जेल परेका छन् । भक्तपुरको मुद्दामा उनीहरू पक्राउ परेकोमा जेल चलान भएका थिए । काठमाडौंमा पनि उनीहरूलाई प्रतिवादी बनाइएको छ । 

१२ जना अझै फरार
१९ जनालाई प्रतिवादी बनाइएकोमा १२ जना फरार छन् । जसमा सुशील बानियाँ, तेजबहादुर तामाङ, राजु शाखकर्मी, दीपकबहादुर ऐर, लीलानाथ गौतम, भोजराज पौडेल, सुदर्शन कपाली, प्रदीप भट्टराई, त्रिचन्द्र सुवेदी, कुमार श्रेष्ठ, शमिना श्रेष्ठ र बालमुकुन्द कपाली छन् । बाँके स्थायी घर भएका शर्माले सहकारीका पैसा निजी कम्पनीमा लगानी गरी सहकारी संस्था डुबाएका हुन् । शर्मालाई सिआइबीले गत १२ असारमा भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको थियो । 

शर्माका विभिन्न कम्पनीको नाममा सम्पत्ति रहेको र त्यसलाई रोक्का राखेको सिआइबीले जनाएको छ । उपत्यकाका शाखाको हकमा सिआइबी र उपत्यकाबाहिरको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । 

०७० मा स्थापना भएको सहकारीले अन्य सहकारीभन्दा धेरै ब्याज दिएर निक्षेप संकलन सुरु गरेको थियो । पैसा संकलनसँगै कृषिसम्बन्धी व्यवसायमा लगानी गर्दै गयो । देशभरि शाखा पनि विस्तार गर्दै गयो । मार्टदेखि जग्गा कारोबारसम्म लगानी गरेको पाइएको छ । 

शिखरदीप सहकारीलाई समेत मर्ज गरेपछि संस्था अझै ठूलो भयो । जब कोभिड महामारी सुरु भयो, त्यसपछि सहकारीमा समस्या आउन सुरु भएको हो । लगानी गरेको ठाउँबाट ब्याज त आएन नै, साँबा पनि फिर्ता भएन । सहकारीमा एकैपटक पैसा निकाल्ने बढ्न थाले । फिर्ता दिने पैसा नभएपछि सहकारीमै ताला लागेको हो । पूर्वअध्यक्ष शर्मा भारत भागेका थिए । 

उपत्यकाको हकमा सिआइबीले अनुसन्धान गरेकोमा अन्य जिल्लामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । सो सहकारीले ३६ वटा शाखा कार्यालयबाट करिब १४ अर्ब रुपैयाँ ठगी गरेको सिआइबी निष्कर्ष छ ।

भक्तपुरमा २७ हजार, ललितपुरमा ६ हजार पीडित 
सहकारीको ललितपुर शाखाका सेयर सदस्य रहेका ६ हजार एक सय २३ सर्वसाधारण ठगिएका छन् । उनीहरूको ४९ करोड तीन लाख ७८ हजार रुपैयाँ संस्थामा बचत छ । काठमाडौंको मुद्दा सकिएपछि अब ललितपुरका सेयर सदस्यहरूको जाहेरी लिई जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्ने सिआइबीको तयारी छ । 

भक्तपुरमा सो सहकारीका २७ हजार दुई सय ५३ सेयर सदस्य थिए । उनीहरूको एक अर्ब ७१ करोड २८ लाख रकम डुबेको छ । देशभरि एक लाख ६८ हजार सात सय २५ सदस्य देखिएको र उनीहरूको नौ अर्ब ४९ करोड ७२ लाख २० हजार पाँच सय ६० रुपैयाँ सहकारीमा बचत देखिएको छ ।

ad
ad