१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रञ्जन भण्डारी महाेत्तरी
२o८१ बैशाख १७ सोमबार o६:३९:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बोक्सी आरोपमा समाजसामु महिलालाई अर्धनग्न बनाएर कुटपिट

पीडकहरू पक्राउपछि वडाध्यक्ष र समाजका अगुवा पीडितको घरमै पुगेर मिलापत्रका लागि दबाब

Read Time : > 6 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:३९:oo

 पाँचजनाविरुद्ध किटानी जाहेरी, चार पक्राउ

कथित बोक्सी आरोपमा आमाहरू कुटिन्छन्, सार्वजनिक बेइज्जती भोग्छन् । पीडकहरू पक्राउ पनि पर्छन्, तर उनीहरूले सजिलै उन्मुक्ति पाउँदा फेरि उस्तै घटना दोहोरिन्छन् । खासगरी मधेसमा यस्तो नियति व्याप्त छ । महोत्तरीमा फेरि छिमेकी महिलालाई केही पुरुषले बोक्सी आरोपमा अर्धनग्न बनाएर सार्वजनिक स्थलमै कुटपिट गरेका छन् ।प्रत्यक्षदर्शी छिमेकी रमिते बनेका छन् । 

मनरा–सिसवा नगरपालिका– १० मरुवाहीकी ५७ वर्षीया सतीदेवी चौधरीमाथि स्थानीय रामसिंहासन चौधरी, उनका छोराहरू रामविनय चौधरी र रामसिकल चौधरी तथा नाति साजन चौधरी र छिमेकी राजकुमार चौधरीले बेइज्जत र आक्रमण गरेका हुन् । घटना गत बुधबार (६ भदौ)को हो । पीडितका श्रीमान् भोला चौधरी साँझपख बाहिरबाट घर फर्किँदै थिए । बाटोमै रोकेर रामसिंहासनले ‘तेरो बोक्सी श्रीमती कहाँ छ ? मेरो नातिनीलाई बिरामी बनाउने ? तेरो श्रीमतीलाई मेरो नातिनी ठीक पार्न भन्’ भन्दै छोरा–नातिसमेत लगाएर कुटपिट गर्न थाले । त्यतिवेला श्रीमान्ले हारगुहार गरेपछि घटनास्थल पुगेकी सतीदेवीमाथि रामसिंहासनको परिवार नै खनियो । उनीहरूले आफ्नो चुल्ठो समातेर लछारपछार पारेको तथा पेटिकोटबाहेक सबै कपडा फुकालिदिएर समाजको अगाडि बेइज्जत गरेको सतीदेवीले बताइन् । त्यतिवेला सिंगो समाज नै रमिते बनेको उनको गुनासो छ । 

आफूमाथि भएको अत्याचारबारे सतीदेवीले बेलिविस्तार लगाइन्, ‘बुध के घर पवनी छल । हम नहा के कपरा पहिनते छली । साया आ सारी मात्रै लगइने छली । हमर लुल्हाके आवाज सुइनके सरक पर गेली त हमरा पकैरके मारेलागल आ हमर सारी खिच देलक । दमासा लेखेवाला बहुत लोक छल लेकिन केउ नई बचइलक । हमर पूरा शरीर पर सिर्फ साया बचल, हम जल्दवाजी मे सरक पर गिरल सारी उठाके देह झपली । हमर इज्जत और प्रतिष्ठा सब लेललक । आव अहिसबके सहारा हव । हमारा डाइन कहिके अश्लील गारी देलक, चप्पल से मारलक, हमर सारी खोइल देलक । आव हमरा पास कुछ नै बाँकी हई । अइ उमरमे हमर इज्जत सरक पर लुटा देलक पापी सब । (बुधबार घरमा कुलपूजा थियो ।

मैले नुहाएर पेटिकोट र सारी मात्र लगाएकी थिएँ । सारीकै फेरोले माथिको शरीर ढाकेकी थिएँ । श्रीमान्को गुहार सुनेपछि त्यही अवस्थामा सडकमा पुगेँ । उनीहरूले मलाई नै समातेर कुटपिट गर्न थाले, मेरो सारी तानिदिए । मेरो शरीरमा पेटिकोट मात्र बाँकी थियो । सडकमा फ्याँकिदिएको सारी हतारहतार उठाएर नांगो जिउ छोपेँ । हामीले गुहार मागिरहँदा त्यहाँ तमासा हेर्ने धेरै थिएँ, तर बचाउने कोही भएन । मलाई बोक्सी भनेर अश्लील गाली–गलौज गरे, चप्पलले हिर्काए । अब मसँग केही बाँकी छैन । यो उमेरमा मेरो इज्जत, प्रतिष्ठा सबै डुबाए ।)’

त्यस दिन साँझ अमानवीय व्यवहार गरेको रामसिंहासनको परिवारले भोलिपल्ट बिहान पनि उही हर्कत दोहोर्‍यायो । बिरामी नातिनीलाई उनको आँगनमै पुर्‍याएर बोक्सी लागेको ठीक गर्न आदेश गरे । तर, सतीले आफू बोक्सी नभएको र ठीक पार्न पनि नजानेको भन्दै याचना गरिन् । त्यसपछि आक्रामक बनेका उनीहरूसँग जोगिन सतीले मोबाइलमा भिडियो खिच्ने र प्रहरीमा जाने भनेपछि पछि हटेका थिए । रामसिंहासनकी १०–१२ वर्षकी नातिनीको बिमारबारे सती अनविज्ञ छिन् । 

बिहीबारै (७ भदौ) सतीदेवीले प्रहरीमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिएपछि चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । रामसिंहासन चौधरीका छोराहरू रामविनय चौधरी र रामसिकल चौधरी, नाति साजन चौधरी र छिमेकी राजकुमार चौधरीलाई नगरपालिका चोकबाट नियन्त्रणमा लिएर थुनामा राखेको हो । रामसिंहासन भने फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए । मल्लका अनुसार आरोपीविरुद्ध सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । 

पक्राउ परेकाहरूले भने सामान्य भनाभन मात्र भएको दाबी गरेका छन् । छरछिमेकमा कहिलेकाहीँ हुने सामान्य भनाभनको विषयलाई निराधार आरोप लगाएर ठूलो पारिएको उनीहरूको तर्क छ । उनीहरूले पक्राउ परेकामध्ये १९ वर्षीय भनिएका साजन चौधरी १४ वर्षको मात्रै रहेको पनि बताएका छन् । 

एसपी मल्लले भने सतीदेवीको घटना संवेदनशील भएकाले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र दोषीले उन्मुक्ति पाउने अवस्था नरहेको बताए । यसअघि बोक्सी आरोपमै कुटपिटमा परेकी काजल दासको मुद्दामा पनि यस्तै अवस्था रहेको उनको भनाइ छ । सतीदेवी गाउँमै भए पनि प्रहरीको सुरक्षामा रहेको मल्लले बताए । उनका अनुसार काजल भने सेफ हाउसमा छिन् । 

गैरसरकारी संस्था ह्युमन रिह्याबिटेसन सेन्टर (एचआरसी)की लीला दयालीले भने पीडित सतीदेवी अझै पनि गाउँमा रहेकाले उनलाई घटनामा होस्टाइल गर्न सक्ने भएकाले सेफ हाउसमा वा प्रहरीको सुरक्षामै राख्नुपर्ने बताएकी छिन् । ‘जनप्रतिनिधि र गाउँका अगुवा भन्नेहरूबाटै मिलापत्रको नाममा घटना सामसुम पार्न दबाब दिँदा पनि पीडित पक्षले हिम्मत गरेर काकुनको ढोका ढकढक्याएका छन् । यस्तो अवस्थामा पीडितलाई गाउँमै राख्दा असुरक्षासँगै होस्टाइल गर्न सक्ने सम्भावना रहन्छ,’ दयालीले भनिन्, ‘उनको सुरक्षा मुख्य सवाल हो ।’ 

आफूमाथि कुटपिट र श्रीमतीमाथि बेइज्जतीसहितको कुटपिट भएको घटनामा न्याय दिलाउनुको सट्टा वडाध्यक्ष र गाउँसमाजले मिलापत्रमा टुंग्याउन जोड गरेको पीडित पक्षको आरोप छ । आरोपीहरू पक्राउ परेको दिन वडाध्यक्ष अरुणकुमार चौधरी र गाउँसमाजका अगुवा आएर मिलापत्रका लागि दबाब दिएको सतीका श्रीमान् भोलाले बताए । पीडक परिवारले समेत खुट्टा समातेर माफी मागेकामा आफूले माफी होइन न्याय खोजेको जवाफ दिएपछि फर्किएको भोलाले बताए । कानुनले न्याय दिलाउनेमा विश्वस्त रहेकाले आफ्नो प्रतिष्ठामा आँच पु¥याउनेसँग मिलापत्र नगर्ने उनको भनाइ छ । 

तर, वडाध्यक्ष अरुणकुमार चौधरीले भने आफूहरूले पीडितलाई दबाब दिएको नभई, पीडकलाई सामाजिक रूपमा दण्डित गर्न खोजेको दाबी गरे । पीडित भोला चौधरी आफूकहाँ आएर कुटपिटबारे जानकारी गराएपछि निवेदन लेख्न सल्लाह दिएको, तर उनी निवेदन दिन नआएको उनले बताए । ‘गाउँमा कसैमाथि कुटपिट भए गाउँस्तरमै दण्डित गर्ने भन्ने मेरो मनसाय हो, मिलापत्र गराउन खोजेको होइन । तर, प्रहरीमै जाहेरी दर्ता भएको जानकारी पाएपछि म तत्काल पछि हटेँ । अब कानुनबमोजिम नै हुने भएकाले वडातहबाट यस विषयमा थप कुनै कारबाही वा छलफल भएको छैन । आवश्यक पर्दा पीडितलाई मेरो सहयोग रहन्छ ।’ 

परिवारबाटै बोक्सी आरोपमा यातना भोगेकी काजलदेवीको मुद्दा
प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पठायो मिसिल

श्रीमान्सहित परिवारकै सदस्यबाट बोक्सी आरोपमा कुटपिट र यातना भोगेकी महोत्तरीकै पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलदेवी दासको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ । प्रहरीले अध्ययन सकाएर आइतबार मिसिल पठाएको हो । अब सरकारी वकिल कार्यालयले उक्त मिसिल अध्ययन गरेर अदालतमा मुद्दा दायर गर्नेछ । श्रीमान् विनोद दास र उनकी पहिलो श्रीमती शिलादेवी दासले गत ३१ असार राति र १ साउनको बिहान काजलमाथि कुटपिट गरेका थिए । धामी दिनेश यादवले बोक्सी करार गरेको आधारमा उनीमाथि कुटपिट भएको थियो । 

घटनाकै दिन प्रहरीमा पुगेकी काजललाई सामान्य कुटपिट भएको भन्दै प्रहरीले पनि सामान्यीकरण गरेर अबउप्रान्त झगडा नगर्ने कागज गराएर पठाएको थियो । तर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रबाहिर लेखनदासबाट उनको श्रीमान् पक्षले अबउप्रान्त सम्बन्ध नरहने, अंश नलाग्ने र गाउँ छोडेर जाने भन्दै तमसुक बनाएर पठाएपछि नयाँ पत्रिकाले १८ साउनमा समाचार प्रकाशित गरेको थियो । समाचार आएपछि प्रहरी न्यायको बाटोमा फर्किएर काजललाई जाहेरी दिन आग्रह गरेको थियो । काजलले घटनाको १९ दिनपछि जाहेरी दिएसँगै श्रीमान् विनोद र उनकी पहिलो श्रीमती शिलादेवीलाई पक्राउ गरेको थियो । काजललाई बोक्सी करार गर्ने धामी दिनेश यादव भने अझै फरार छन् । 

 आफूमाथि भएको अत्याचारबारे सतीदेवी–सडकमा फ्याँकिदिएको सारी हतारहतार उठाएर नांगो जिउ छोपेँ, तमासा हेर्ने धेरै थिए, बचाउने कोही भएनन्
बुधबार घरमा कुलपूजा थियो । मैले नुहाएर पेटिकोट र सारी मात्र लगाएकी थिएँ । सारीकै फेरोले माथिको शरीर ढाकेकी थिएँ । श्रीमान्को गुहार सुनेपछि त्यही अवस्थामा सडकमा पुगेँ । उनीहरूले मलाई नै समातेर कुटपिट गर्न थाले, मेरो सारी तानिदिए । मेरो शरीरमा पेटिकोट मात्र बाँकी थियो । सडकमा फ्याँकिदिएको सारी हतारहतार उठाएर नांगो जिउ छोपेँ । हामीले गुहार मागिरहँदा त्यहाँ तमासा हेर्ने धेरै थिएँ, तर बचाउने कोही भएन । मलाई बोक्सी भनेर अश्लील गाली–गलौज गरे, चप्पलले हान्दै कुटपिट गरे । अब मसँग केही बाँकी छैन । यो उमेरमा मेरो इज्जत, प्रतिष्ठा सबै डुबाए ।

 मधेसमा बोक्सीको नाममा बर्बरता मलमूत्र खुवाउनेदेखि चरम यातना दिएर हत्यासम्म
महोत्तरी गाउँपालिका– ३ मडईकी ४२ वर्षीया शिलादेवी झाको शव २८ असोज ०७८ मा फेला पर्‍यो । टाउकोमा हथौडा प्रहार गरी हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले हत्या आरोपमा उनकै देवर ४२ वर्षीय सञ्जयकुमार झालाई पक्राउ गर्‍यो । सञ्जयले आफूले नै भाउजूको हत्या गरेको मात्र स्वीकार गरेनन्, समाजलाई झस्काउने सोच सार्वजनिक गरे । शिलाले दिएको केरा खाँदा आफ्नी श्रीमतीको गर्भमा रहेको बच्चा तुहिएको र धामीलाई देखाउँदा ‘तिम्री भाउजू बोक्सी’ बताएपछि हत्या गरेको बयान दिएका थिए । 

प्रहरीले घटनाको प्रतिवेदनमा समेत बोक्सी आरोपमा भाउजूको हत्या गरेको भनेर उल्लेख गरे पनि मृतक शिलाका छोरा राहुलकुमार झालाई भने कर्तव्य ज्यान मुद्दामा मात्र जाहेरी दिन लगाइयो । प्रहरीले यो घटनामा धामीलाई अनुसन्धानमा तानेन ।

मुद्दामा प्रहरीको प्रतिवेदन, आरोपीको बयानलगायतका विभिन्न सबुत हुँदाहुँदै ‘कर्तव्य ज्यानसम्बन्धी कसुर’ शीर्षकमा मात्र मुद्दा विचाराधीन छ । जिल्ला अदालत महोत्तरीले २२ जेठ ०८० मा साक्षी बुझ्ने आदेश दिएको छ । अदालतले मुद्दालाई हालसम्म तीनपटक पेसी र ६ पटक तारेखमा राखिसकेको छ । 

शिलाको हत्या भएकै दिन २८ असोज बिहीबार साँझ औरही नगरपालिका–९ अगलेसराका ५५ वर्षीय झवसी ठाकुर (लोहार) र उनकी भाउजू ५६ वर्षीया सुनैनादेवी ठाकुरलाई मलमूत्र खुवाएर कुटपिट गरियो । स्थानीय रामकलेवर मण्डलकी श्रीमती ३५ वर्षीया रामशिलादेवी मण्डललगायतका केही व्यक्तिले घरमै मलमूत्र खुवाएर कुटपिट र लुटपाट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी, कुटपिट र लुटपाट कसुरमा किटानी जाहेरी दिए ।

तर, प्रहरीले अगलेसराकी रामशिलादेवी मण्डललाई तत्काल पक्राउ गरे पनि थप आरोपी रामतलेवर मण्डल, अकवर बैठा, सोनेलाल मण्डल, रामउदय मण्डल भन्ने रामउदेश मण्डल, हासिम बैठा, शान्ति मण्डल, दुखनी मण्डल र कृष्णा मण्डल फरार भए । प्रहरीले जाहेरीका आधारमा अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गर्‍यो । मुद्दा अदालतमा पुगेपछि आरोपीहरू हाजिर हुँदै धरौटीमा छुट्दै गए । अझै अदालतले मुद्दालाई तारेखमा राखेको छ । पीडक पक्षबाट धम्की आइरहेको र बोक्सीको आरोपमा मानसिक तनाव दिइरहेको पीडित झवसी ठाकुर बताउँछन् । ‘तिमीले हामीलाई जेलमा हाल्ने ? मुद्दा किनारा लागेपछि तिमीसँग हिसाब गर्छौँ’ भनेर धम्की दिने गरेको झवसीले बताए । 

तत्कालीन सिमरदही गाउँ पञ्चायत– २ (हालको मटिहानी नगरपालिका– ९) निवासी रामलखन साहकी श्रीमती मरनीदेवीको चर्चित बोक्सी काण्डपछि सरकारले ६ असार ०५८ मा बोक्सी आरोपमा चरम यातनाविरुद्ध कानुन बनाएर कार्यान्वयनमा त ल्यायो । तर, बोक्सी आरोपमा कुटपिट, यातना, मलमूत्र खुवाउनेदेखि हत्यासम्मका घटना अझै कायमै छन् ।

बोक्सी आरोपका घटना बढेपछि सरकारले पछिल्लोपटक अझ कडा कानुनी व्यवस्था लागू गरेको छ । बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार बोक्सीको आरोपमा कुटपिट गर्नेलाई आठ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । यो ऐनमा ‘कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, रासायनिक, विषालु, जैविक पदार्थ प्रयोग गरी वा अन्य किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी र नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद सजाय र ५० हजारदेखि एक लाखसम्म जरिवाना’को व्यवस्था छ । 

पाँच वर्षमा बोक्सी आरोपका दुई सय ३३ उजुरी दर्ता भएका छन् । यी घटनामा दुई सय ६२ पीडित छन् भने सात सय ७६ पीडक छन् । यो नेपाल प्रहरीको आव ०७५/७६ देखि ०७९/८० सम्मको तथ्यांक हो । 

सबैभन्दा बढी घटना मधेसमा भएका छन् । मधेसमा पाँच वर्षमा बोक्सी आरोपका एक सय २३ मुद्दा दर्ता भएका छन् जुन देशभरको ५२ प्रतिशत हो । यही अवधिमा मधेसमा बोक्सी आरोपमा एक सय ३४ पीडित भएका छन्, जसमा एक बालिका, एक सय २७ महिला र ६ पुरुष छन् । अधिवक्ता रिंकुकुमारी यादव विभिन्न बहानामा महिलालाई लक्षित गरेर यातना दिने काम भइरहेको बताउँछिन् । ‘सरकारले कानुन त ल्याएको छ, तर परिपालना भएको छैन,’ उनले भनिन् । 

ad
ad