
चारवर्षे इन्जिनियरिङ विषयमा चर्को शुल्क वृद्धि गरिएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्था (आइओई) स्नातक तहमा तीन लाख ३० हजार शुल्क बढाइएको हो । यसअघि चार लाख ४५ हजार रुपैयाँ शुल्क लिँदै आएकोमा २५ साउनमा बसेको आइओईको कार्यान्वयन समिति बैठकले शुल्क बढाउनेबारे निर्णय गरेको थियो । सोही निर्णय सोमबार बसेको बैठकले अनुमोदन गरेको हो ।
आर्थिक भार पर्ने गरी एकैपटक शुल्क वृद्धि गर्दा विद्यार्थी आन्दोलित बनेका छन् । आन्दोलित विद्यार्थीहरूले मंगलबार उपत्यकासँगै देशका विभिन्न ठाउँ र इन्जिनियरिङ पठनपाठन हुने क्याम्पसहरूमा प्रदर्शन गरेका छन् । उनीहरूले शुल्कमा हेरफेर हुनुपर्ने माग राखेका छन् ।
शुल्क वृद्धिको विषयलाई लिएर पूर्वाञ्चल क्याम्पस, धरानमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । तर, आइओईका डिन शशीराम जोशीले हरेक वर्ष १० प्रतिशतका दरले शुल्क वृद्धि गर्नुपर्ने भए पनि यसअघि शुल्क वृद्धि नभएकाले यसपटक वृद्धि गरिएको बताए । ‘०५३ देखि इन्जिनियरिङ तहको शुल्क बढेको थिएन,’ उनले भने, ‘सबै सोचविचार गरेर यसपटक शुल्क वृद्धि भएको हो ।’