१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी
२o८१ बैशाख २१ शुक्रबार o८:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

स्पेन महिला फुटबलको नयाँ विश्व च्याम्पियन 

पुरुष र महिलातर्फ विश्वकप ट्रफी उचाल्ने जर्मनीपछि स्पेन दोस्रो राष्ट्र 

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३३:oo

तेस्रो सहभागितामै स्पेनले युरोपियन च्याम्पियन इंग्ल्यान्डलाई १–० ले हराउँदै महिला फिफा विश्वकपको उपाधि उचाल्यो, कप्तान कार्मोनाको एक मात्र गोल नै निर्णायक 

स्पेन फिफा महिला विश्वकप फुटबल प्रतियोतिगाको नयाँ विश्वविजेता बनेको छ । अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको उपाधि भिडन्तमा स्पेनले युरोपियन च्याम्पियन इंग्ल्यान्डलाई १–० ले हराउँदै पहिलोपटक फिफा महिला विश्वकपको उपाधि जितेको हो । स्पेनलाई विश्व च्याम्पियन बनाउने क्रममा कप्तान ओल्गा कार्माेनाले खेलको २९औँ मिनेटमा एक मात्र विजयी गोल गरेकी थिइन् । महिला विश्वकपको नवौँ संस्करण सिड्नीमा सकिँदा स्पेन पाँचौँ राष्ट्रका रूपमा विश्व विजेता बनेको हो । स्पेन महिला र पुरुष विश्वविजेता बन्ने दोस्रो राष्ट्र बनेको छ । यसअघि यो उपलब्धि जर्मनीले हात पारेको थियो । 

अमेरिकाले सर्वाधिक चारपटक उपाधि उचालेको छ । जर्मनीले दुईचोटि विश्वकप जितेको छ । नर्वे र जापानले एक–एकपटक उपाधि जितेका छन् । सन् २०१० मा नेदरल्यान्ड्सलाई हराउँदै स्पेनको पुरुष टोली पहिलोपटक विश्व च्याम्पियन बनेको थियो । स्पेन उमेरसमूहको यू–१७ र यू–२० महिला विश्वकप जित्ने पहिलो टोली बनेको छ । सन् २०१५ बाट विश्वकपमा सहभागी भएको स्पेन पहिलो संस्करणमा समूह चरणबाटै बाहिरियो । सन् २०१९ को दोस्रो सहभागितामा स्पेन अन्तिम १६ मा सीमित भयो । तेस्रोपटक विश्वकप खेलेको स्पेन च्याम्पियन नै बन्यो । 

सेमिफाइनलमा स्पेनले स्विडेनलाई २–१ र इंग्ल्यान्डले आयोजक अस्ट्रेलियालाई ३–१ ले हराउँदै पहिलोपटक विश्वकपको अन्तिम दुई स्थान बनाएका थिए । समूह चरणमा स्पेन जापानसँग ४–० ले पराजित भएको थियो । 

कार्माेनाको निर्णायक गोल 
एलियन्ज रंगशालामा खेलको २९औँ मिनेटमा मारियोना क्याल्डेन्टीले मिलाएको बललाई बक्सभित्रबाट कार्माेनाले उत्कृष्ट गोल गरेकी हुन् । उपाधि भिडन्तमा स्पेनले पेनाल्टी अवसर चुकाएको थियो । खेलको ६९औँ मिनेटमा जेनिफर हर्माेसोले पेनाल्टी चुकाउँदा स्पेनले दोस्रो अग्रता लिने मौका गुमाएको थियो । उनको प्रहार इंग्ल्यान्डकी गोलरक्षक मेरी इर्पसले बायाँ साइडमा डाइभ गर्दै बचाइन् । इंग्ल्यान्डकी केइरा वाल्सले डिबक्सभित्र हातले बल छोएपछि भिडियो सहायक रेफ्रीले पेनाल्टीको मान्यता दिएको थियो । खेलमा १३ मिनेटको इन्जुरी समयसम्म इंग्ल्यान्डले बराबरी गोल फर्काउने प्रयास गरेको थियो । 

इंग्ल्यान्डकी प्रशिक्षक सरिना विलिंघमले स्तब्धपूर्र्ण नतिजा रहेको बताइन् । ‘यो समय निकै खराब छ । हामी स्तब्ध छौँ,’ उनले फाइनलपछि भनिन्, ‘हामीसँग उपाधि जित्न सबै थियो, उपाधि जित्न चाहन्थ्यौँ, तर हारेका छौँ ।’ 

आन्तरिक द्वन्द्वका बीच उपाधि 
स्पेन निकै कठिन परिस्थितिको सामना गर्दै अस्ट्रेलिया पुगेको थियो । खेलाडी र प्रशिक्षक जर्ज भिल्डाबीच सम्बन्ध राम्रो थिएन । खेलाडी र प्रशिक्षकबीचको दूरी फाइनलमा देखियो । च्याम्पियन भएपछि खेलाडीहरूको एक समूह एक–आपसमा बधाई दिइरहेका थिए । प्रशिक्षकले अफिसियलसँग मात्रै खुसीयाली मनाए । समूह चरणमा जापानसँग ४–० ले पराजित हुँदा खेलाडीले प्रशिक्षकको खराब रणनीति भएको जनाएका थिए । 

सन् २०२१ मा युरोपियन च्याम्पियनसिपमा इंग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित भएसँगै स्पेनिस खेलाडी र प्रशिक्षकबीच दूरी बढेको थियो । हारपछि १५ जना खेलाडीले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई प्रशिक्षक बर्खास्तीको माग राखे । खेलाडीले खुलेरै विरोध गरे पनि अध्यक्ष लुइसले प्रशिक्षक भिल्डालाई हटाउने निर्णय गरेनन् । 

स्पेनकी बोनमतीलाई गोल्डेन बल
उत्कृष्ट प्रदर्शन गरेकी स्पेनकी मिडफिल्डर ऐटना बोनमतीले गोल्डेन बल जितेकी छिन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेकी बोनमतीले प्रतियोगितामा तीन गोल र दुई असिस्ट गरेकी छिन् ।

स्पेनले उपाधि जित्दा उनले मध्यक्रममा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । पाँच गोल गरेकी जापानकी हिनाता मियाजामाले गोल्डेन बुट प्राप्त गरिन् । फाइनलमा एक पेनाल्टी बचाउ गरेकी इंग्ल्यान्डकी मेरीले गोल्डेन ग्लोब्स पाइन् ।

१९ वर्षीया स्पेनिस स्ट्राइकर साल्मा युवा उत्कृष्ट खेलाडी घोषित भइन् । उनले प्रतियोगिताको क्वार्टरफाइनल र सेमिफाइनलमा समान एक गोल गरिन् । साल्मा विश्वकप यू–१७, यू–२० र सिनियर टोलीबाट जित्ने पहिलो खेलाडी पनि बनिन् । यसैगरी, जापान फिफा फेयर प्ले अवार्डबाट सम्मानित भयो । 

 

 

ad
ad