१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:oo:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मकवानपुरमा ९० प्रतिशत मात्रै धान रोपाइँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

मकवानपुरमा अहिलेसम्म जम्मा ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार मकवानपुरमा यस वर्ष धान रोपाइँमा गत वर्षभन्दा केही ढिलाइ भएको हो।

निर्देशनालयका कृषि अर्थविज्ञ रामहरी तिमल्सिनाका अनुसार मकवानपुरमा भदौ १ गतेसम्ममा मकवानपुरमा जम्मा ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। उनका अनुसार गत वर्ष यही अवधिमा मकवानपुरमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो।

कृषि अर्थविज्ञ तिमल्सिनाका अनुसार यस वर्ष समयमै पानी नपरेको र कम पानी परेका कारण धान रोपाइँमा ढिलाइ भएको हो।

‘मकवानपुरमा अहिलेसम्म ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। विगतको वर्षमा भन्दा यस वर्ष पानी कम परेका कारण धान रोपाइँ केही ढिला भएको हो। यति वेलासम्म मकवानपुरमा धान रोपाइँ सम्पन्न भइसक्नुपर्ने थियो,’ उनले भने।

यस्तै, लम्पी स्किन संक्रमणका कारण पनि यस वर्ष धन रोपाइँमा ढिलाइ भएको छ। खेती गर्ने समयमा धेरै किसानका गाईवस्तुमा लम्पी स्किनको संक्रमण फैलिँदा गोरु बिरामी हुनेदेखि मर्नेसम्मका कारणले धेरै ठाउँमा समयमै धान रोप्न समस्या भएको विज्ञ तिमल्सिनाले बताए।

मकवानपुरमा ९ हजार ४५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा यस वर्ष जम्मा ७ हजार ८७ हेक्टर क्षेत्रफलमा मात्रै धान खेती भएको कृषि अर्थविज्ञ तिमल्सिनाले जानकारी दिए। 

मकवानपुरका अधिकांश स्थानमा खेतीका लागि आकासे पानीको भर पर्नुपर्ने भएकाले पनि धान रोपाइँ समयमै हुन नसकेको उनको भनाइ छ।

बागमतीमा जम्मा ९३.४० प्रतिशत धान रोपाइँ

यस्तै, कृषि अर्थविज्ञ तिमल्सिनाले मकवानपुरसहित बागमती प्रदेशका १३ वटै जिल्लामा धान रोपाइँ ढिलाइ भएको जानकारी दिए। 

उनले प्रदेशका १३ जिल्लामा अहिलेसम्म जम्मा ९३.४० प्रतिशत मात्रै धान रोपाइँ भएको जानकारी दिए। 
विज्ञ तिमल्सिनाका अनुसार प्रदेशको रामेछापमा ७५, दोलखामा ९०, काठमाडौंमा १००, ललितपुरमा १०० र भक्तपुरमा १०० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
 
यसैगरी, सिन्धुलीमा ९५, काभ्रेमा ९०.३९, सिन्धुपाल्चोकमा ८८.८०, चितवनमा ९५, नुवाकोटमा ९९, रसुवामा ९९ र धादिङमा ९६.३७ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ।