१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पढाइ छाडेको १६ वर्षपछि राम्राे जिपिएमा १२ कक्षा पास 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

३४ वर्षकी दीपा पराजुलीको जीवनको लक्ष्य नै शिक्षक सेवा आयोगको परीक्षा दिएर सरकारी स्कुलको शिक्षिका बन्ने हो। पढाइको तीव्र इच्छा हुँदाहुँदै पढाइ छाडेकाे १६ वर्षपछि उनी ११ कक्षामा भर्ना भइन्। 

सन्तानसहित बुहारीको जिम्मेवारी पूरा गर्दै करिब डेढ दशकपछि पुनः पढाइको यात्रा सुरु गरेकी दिपाले गत मंगलबार सार्वजनिक कक्षा १२ को नतिजामा राम्राे जिपिए ल्याएर पास गरिन्। उनले ३.१७ जिपिएसहित १२ पास गरेकी छिन्। याे नतिजाले उनीमा थप पढ्ने इच्छा बढाएको छ।

०६२ सालमा नवलपरासीको लक्ष्मी माध्यमिक विद्यालय अमरापुरीबाट एसएलसी दिएपछि रौतहटमा बिहे भयो। बिहेपछि उनको पढाइ छुट्यो। दुई सन्तान र घरको जिम्मेवारीले पढाइ प्राथमिकतामा पर्न सकेन। 

दीपाले भनिन्, ‘श्रीमान् परदेश, घरमा आमा–बुबा तथा छोराछोरीको जिम्मेवारी उठाउनुपर्‍यो। माइतको पनि आर्थिक अवस्था सामान्य नै थियो। १७ वर्षकै उमेरमा छिट्टै बिहे भयो। बुहारी बनेपछि पढ्नलाई सम्भावना भएन।’

उनले बिहेपछि बोर्डिङ स्कुल पढाउन थालिन्। उनले थपिन्, ‘सानैदेखि स्कुल पढ्दा पनि शिक्षकले जान्ने छ भन्नुहुन्थ्यो । मलाई सानोमा मास्टर बन्ने एकदम इच्छा थियो। त्यही कारण होला बिहे भए पनि पढाउन पाएँ। जसले घरखर्च त टर्थ्याे नै मेरो सपना पनी केही हदसम्म पूरा भएको थियो। तर, मलाई शिक्षक सेवा आयोगमा नाम निकालेर सरकारी स्कुल पढाउने इच्छा थियो। साथै छुटेको पढाइलाई पनि निरन्तरता दिने सपना पनि।’

बच्चाहरू हुर्किँदै गएपछि फेरि पढ्ने इच्छा जाग्यो उनमा। उनी श्री सुवलाल भागवत माध्यमिक विद्यालय, रौतहटमा कक्षा ११ मा भर्ना भइन्। उनले विगत सुनाउँदै भनिन्, ‘बुहारी, आमा र शिक्षिकाको जिम्मेवारी पूरा गर्नुपर्ने मेरो पहिलो दायित्व थियो। कक्षा ११ भर्ना त भएँ, तर पढ्न जान भने पाइनँ। यति हुँदा पनि राम्रो रिजल्ट आयो। १२ चाहिँ फुर्सदको समयमा पढ्न जान्थेँ। दिउँसो बोर्डिङ पढाउँथेँ। नियमित कक्षा जान नपाए पनि स्वअध्ययन गरेँ।’

उनले एकहदसम्म आफ्नो इच्छा पूरा भएको बताइन्। अब उनको लक्ष्य पढेर लाइसेन्स निकाल्ने र शिक्षक सेवाको तयारी गर्ने छ। 

केही महिनाअघिदेखि रौतहट छाडेर भरतपुरमा बस्दै आएकी दीपा अहिले लेखापालको काम गर्छिन्। ‘सन्तानको शिक्षा, स्वास्थ्यलाई ख्याल गरेर नयाँ ठाउँ आएँ। गुजारा चलाउन अहिले लेखापालको जागिर सुरु गरे पनि मन खुसी छैन,’ उनले भनिन्, ‘पढाउन पाएँ भने यो जागिर छाड्छु।’ 

शिक्षा संकायमा भर्ना भएर पढाइ अघि बढाउने सोचमा छिन् उनी। १२ को नतिजापछि घरपरिवारको पनि साथ मिलेको छ उनलाई। आमाको नतिजा देखेर दीपाका छोरी खुसी भएका छन्। उनकी जेठी छोरी अहिले एसइईको तयारीमा छिन् भने सानी छोरी कक्षा ६ मा पढ्दै छिन्।