मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
फाइल तस्बिर
२०८० श्रावण ३२ बिहीबार १२:१४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

गण्डकीमा ८० हजार पशुचौपायामा लम्पी स्किन संक्रमण

Read Time : > 1 मिनेट
२०८० श्रावण ३२ बिहीबार १२:१४:००

पशुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन्। यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन्। लम्पी स्किनबाट प्रदेशमा चार हजार पाँच सय ५४ पशुचौपाया मरेका छन्। 

गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले प्रदेश सभा सदस्य भीमबहादुर कार्कीद्वारा दर्ता गरिएको लम्पी स्किन भाइरसविरुद्ध सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उक्त जानकारी दिए।

प्रदेशमा लम्पी स्किन रोगबाट ५.६९ प्रतिशत चौपाया मरेको बताउँदै उनले यसको रोकथामका लागि तीनै तहका सरकार र व्यक्तिगत गरी कुल एक लाख १० हजार चार सय ४९ पशुलाई खोप दिइएको बताए।

सबैभन्दा बढी गाई र गोरुमा संक्रमण देखिएको उल्लेख गर्दै मन्त्री जिसीले भने, ‘लम्पी स्किनबाट प्रदेशमा मर्नेमा ९५ प्रतिशत गाईगोरु र पाँच प्रतिशत भैँसी छन्। हिमाली भेगमा चौँरीमा समेत उक्त रोगको संक्रमण देखिएको छ।’

गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये ८२ वटा पालिकामा यो रोगको संक्रमण फैलिएको छ। उहाँले सीमित स्रोतसाधन तथा जनशक्तिको अभावमा पनि प्रदेश सरकार यस रोगप्रति संवेदनशील रहेको देखिएको स्पष्ट पारे। मुस्ताङको लोमान्थाङ, लो, घेकर, दामोदर कुण्ड र मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकामा भने लम्पी स्किन रोग देखिएको छैन।

पशुमा उच्च ज्वरो आउने, घाँटी, पेट र पछाडिको भागमा गिर्खा, जोर्नी र खुरु सुन्निने तथा निको भएपछि पनि बाँझाेपन देखिने यो रोगले दीर्घकालसम्म पनि कृषि क्षेत्रमा ठूलो क्षति हुने, यो रोगको रोगथाम स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले पशु बिमा दाबी भुक्तानीका लागि सम्बन्धित बिमा कम्पनीलाई निर्देशन दिएको जानकारी दिए। 

प्रदेश सभामा पहिलोपटक सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदै प्रदेश सभा सदस्य भीमबहादुर कार्कीले लम्पी स्किन रोगको कारण कृषकको जीवनस्तर कष्टकर बनेको उल्लेख गर्दै उचित राहत उपलब्ध गराएर प्रदेश सरकारप्रति जनताको आशा जगाउनुपर्नेमा जोड दिए।

प्रदेश सभा सदस्य राजकुमारी भुजेल प्रस्तावक र विन्दु पौडेल समर्थक रहेको उक्त सार्वजनिक प्रस्तावमा रेखा गुरुङ, फणेन्द्र देवकोटा, डिल्लीराम सुवेदी, भक्तबहादुर कुँवर, सरस्वती गुरुङ, कृष्णप्रसाद पाठक, कल्पना तिवारीलगायतले दुहुना गाईभैँसी र जोत्ने गोरु खाल्टोमा पुर्न बाध्य कृषकको घाउमा मल्हम लगाएर उनीहरूलाई आशावादी बनाउन प्रदेश सरकारले तत्काल राहतका योजना ल्याउनुपर्नेमा जोड दिए।