
हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा भीषण बाढीले बस्तीलाई बगरमा परिणत गरेको छ।
आइतबार राति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २९ घरपूर्ण रूपमा बगाएको बगाएको छ। मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले बितन्डा मच्चाउँदा कागबेनीमा ठूलो भौतिक क्षति भएको हो।
बाढीबाट २९ घरमा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार १३ घरमा बाढीले आंशिक क्षति गरेको छ भने ९ वटा गोठ बगाएको छ।
बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी ३ वटा काठेपुल, एक झोलुंगे पुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुलसमेत बगाएको छ। पुल बगाएसँगै उपल्लो मुस्ताङको सीधा सवारी सम्पर्कविच्छेद भएको छ।
बाढीले स्थानीयको घर, पसल, होटेल, प्रहरी चौकी भवन, वडा कार्यालय, आमा समूह भवनलगायतका पूर्वाधारसमेत बगाएको छ। पवित्र धार्मिक स्थल कागबेनी धाममा रहेका धर्मशाला, मन्दिरसमेत बगाएको छ।
बाढीले घर बगाएपछि घरवारविहीन भएकाहरूमध्ये बाहिरबाट मजदुरको रूपमा कागबेनी बस्ती आएकाहरूलाई जोमसोममा अस्थायी बसोबासको प्रबन्ध मिलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। उनका अनुसार बाढीपीडित स्थानीयवासी भने आफन्तकोमा आश्रय लिएर बसेका छन्।
सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले बिहानैदेखि बाढीको क्षतिको विवरण संकलन गर्न सुरु गरेका थिए। एनएनबी बैंक र प्रभु बैंकको नगदसमेत बाढीले बगाएको र अन्य स्थानीयवासीको समेत नगद बगाएकाले आर्थिक क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङले रातमा बाढी आएपछि भागदौड गरेर स्थानीयवासीले ज्यान जोगाउन सफल भएको र बाढीको बितन्डाले पूरै कागबेनीको जनजीवन अस्तव्यस्त बनेको बताए।
बाढीले घरवारविहीन भएकाहरूको आपतकालीन बसोबासको व्यवस्था मिलाउनसमेत गाउँपालिका र जिल्ला सुरक्षा समितिले आवश्यक तयारी अगाडि बढाएका छन्। बाढीले घरहरू बगाएर बस्तीलाई बगरमा परिणत गरेको छ।