१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलमा सुन प्रकरणको चर्चा : केही सांसदले गरे उच्चस्तरीय छानबिन समितिको माग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o५:oo

कांग्रेस संसदीय दलको बैठकमा सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक रहेको आवाज उठेको छ । बैठकमा आइतबार धारणा राख्ने सांसदहरूले उच्चस्तरीय समिति आवश्यक रहेको बताएका हुन् । सांसद डा. शेखर कोइरालाले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको बताए । कोइरालाले संसदीय दलको बैठकमा सुनको तथ्यांक प्रस्तुत गर्दै नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनेकाले उच्चस्तरीय समिति नै गठन गर्नुपर्ने दाबी गरेका थिए । यसमा नेतृत्वले ध्यान नदिएको कोइरालाको संकेत थियो । 

‘तथ्यांकले पाँच सय टनसम्म सुन नेपालबाट बाहिर गएको देखिन्छ । सुन प्रकरणपछिका घटना हेर्नुस्, के भइरहेको छ ? नेपाललाई तस्करको अखडाबाट बन्नबाट रोक्न सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति आवश्यक छ,’ उनले भने । कोइरालाले उच्चस्तरीय छानबिन समिति गठन गर्न एमालेले माग गरिरहँदा कांग्रेसले कहिल्यै नसोचेको भन्दै सरकारले प्रतिशोधको भावना राखेर पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरिरहेको जिकिर गरे ।

सांसद जीवन परियारले पनि सुन प्रकरणको छानबिनमा प्रश्न उठाएका थिए । उनले सुन तस्करी प्रकरणमा हङकङ विमानस्थललाई प्रश्न गर्नुपर्ने बताएका थिए । ‘हङकङमा पनि चेकजाँच हुन्छ होला नि ? हाम्रो त्रिभुवन विमानस्थलभन्दा अत्याधुनिक सामग्री त्यहाँ होला नि ? किन हामीले हङकङको विमानस्थललाई त्यो प्रश्न नगर्ने ? प्रश्न गर्न जरुरी छ,’ परियारको भनाइ थियो । 

सांसद प्रदीप पौडेलले पनि उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने दोहोर्‍याए । संसदीय दलको बैठकस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र आवश्यक रहेको दोहोर्‍याए । शुक्रबार बैठकमा उनले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेका थिए ।

‘सियो आएको होइन । एक क्विन्टल सुन आएको हो । अध्यागमन प्रशासन, एयरपोर्टमा भएको सुरक्षा संयन्त्रलाई नमिलाएसम्म त्यो नेपालभित्र छिर्न सक्दैन । यसमा राजनीतिक नेतृत्वको संलग्नता छ–छैन योभन्दा अगाडि भन्न सकिँदैनथ्यो । तर, अब छानबिनमा धेरै उत्साह नदेखाएका कारण राजनीतिक नेतृत्वमाथि पनि शंका गर्नुपर्ने स्थिति बनेको छ,’ उनले भने, ‘आज तीन साता भइसक्यो । भरिया मात्रै समातेको छ । भारी बोकाउनेलाई किन समातिएन ? त्यसैले विकल्प खोज्नुपर्‍यो ।’

उनले जारी संसदीय दलको बैठकले आजसम्म भएका सबै चर्चित घटनाको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने बताए । त्यस्तो निर्णय प्रधानमन्त्रीले नमाने सरकारप्रतिको समर्थन फिर्ता लिनुपर्नेसमेत उनको भनाइ थियो । ‘संसदीय दलको बैठकले आजसम्म भएका सबै चर्चित घटनाको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्छ । त्यस्तो निर्णय प्रधानमन्त्रीले नमाने कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ,’ उनले भने । 

सांसद वीरबहादुर बलायरले सांसद सुनील शर्मालाई सुन तस्करी प्रकरणबारे विनाप्रमाण नबोल्न आग्रह गरेका थिए । बलायरले अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतविरुद्ध उक्साहटमा अभिव्यक्ति नदिन र पार्टीको अनुशासन पालना गर्न सुझाव दिए । ‘अर्थमन्त्रीलाई लगाएको आरोपबारे प्रमाण के छ ? प्रमाणसहित आउनुस्, तपाईंको एजेन्डा बोकेर हिँड्न तयार छु । तर, विनाआधार उक्साहटमा बोल्नु उचित भएन । सांसदले संसदीय मूल्य मान्नुपर्दैन ?’ बलायरको भनाइ थियो ।

सांसद शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको विषय नीतिगत भएको बताएका थिए । संसदीय दलको बैठकमा उनले गृहमन्त्री र अर्थमन्त्रीले तस्करी गरे भनेर आफूले नभनेको, बरु नीतिगत विषयमा प्रश्न उठाएको बताए । ‘मैले नीतिगत कुरा गरेको हो । अर्थमन्त्री र गृहमन्त्रीले सुन तस्करी गर्नुभयो, उहाँ तस्कर हो भनेको होइन । भन्सारबाट क्विन्टल सुन आउने, भारत पुग्ने, पुलिस प्रशासनको नेतृत्व गर्ने गृहमन्त्रीलाई थाहा नहुने ? भन्सारमा आफ्ना स्टाफ पठाएर मेकानिजम राखेका छन्, अर्थमन्त्रीलाई थाहा नहुने भन्ने जनताले पत्याउँछन् ?’ शर्माको प्रश्न थियो ।

प्रमुख सचेतक रमेश लेखकले पनि सुन तस्करीलगायत विषयमा सांसदहरूको धारणा आइरहेको बताए । उनले बैठकमा सरकार परिवर्तनका विषयमा भने कुनै छलफल नभएको बताए । बैठक सोमबार पनि बस्दै छ । शुक्रबार र आइतबार गरी ५० सांसदले धारणा राखेका छन् । 

अर्थमन्त्रीले भने– प्रमाण दिनुस्, अहिले नै पद छाड्छु 
अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा संलग्नताको प्रमाण प्रस्तुत गरे पदमा नबस्ने बताए । उनले सांसद सुनील शर्माले आफूमाथि व्यर्थको लाञ्छना लगाएको बताए । उनले सुन तस्करीबारे हङकङमा पनि पत्र पठाएर यसबारे जानकारी माग गरिएको जानकारी गराए । ‘पदमा बसेर गलत गरेको भए प्रमाण दिनुस् अहिले नै पद छाड्छु । ममाथि व्यर्थको लाञ्छना लगाउने काम भयो । लोभलालच राखेको छैन, कुनै स्वार्थ साँधेको छैन । अझै सुनको विषय त मेरो कल्पनाबाहिरको विषय हो,’ उनले भने, ‘जसले जे भने पनि हुने पार्टीको अनुशासन र मर्यादा छैन ?’

शेखर कोइराला
पाँच सय टनसम्म सुन नेपालबाट बाहिर गएको देखिन्छ । नेपाललाई तस्करीको अखडा बन्नबाट रोक्न उच्चस्तरीय छानबिन समिति आवश्यक छ ।

प्रदीप पौडेल
संसदीय दलको बैठकले आजसम्म भएका सबै चर्चित घटनाको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्छ । त्यस्तो निर्णय प्रधानमन्त्रीले नमाने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ ।


 

ad
ad