१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
काठमाडौंको चाँगुनारायणबाट २६ साउनमा प्रहरीले बरामद गरेको नक्कली नोट ।
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:२५:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

उपत्यकामा नक्कली नोटको कारोबार बढ्दै : १६ महिनामा १८ ठाउँबाट नक्कली नोट बरामद

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:२५:oo

काठमाडौं उपत्यकामा नक्कली नोटको कारोबार बढ्दै गएको छ । पछिल्लो एक वर्षमा नक्कली नोट बरामदका घटना बढेका छन् । शुक्रबार मात्र प्रहरीले ५२ लाख ७५ हजार नक्कली नोटसहित नौजनाको गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । काठमाडौंको चाँगुनारायणमा उक्त समूहले नक्कली नोट छापेर बजारमा लैजाने तयारी गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । 

त्यसअघि गत २३ साउनमा तारकेश्वर– ५ गोलढुंगाबाट तीनजना एक लाख ७५ हजार नक्कली नोटसहित पक्राउ परेका थिए । यसरी ठूलो परिमाणमा नक्कली नोट बरामद हुन थालेपछि यसबाट अर्थतन्त्रमै जोखिम बढ्ने देखिएको प्रहरी अधिकारी बताउँछन् । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांकले पनि नक्कली नोटको बढ्दो कारोबार देखाउँछ । पछिल्लो १६ महिनामा १८ ठाउँमा नक्कली नोट बरामद भएको छ । कतै थोरै त कतै धेरै नक्कली नोट बरामद भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनाली बताउँछन् । ‘अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्षमा नक्कली नोट बरामद र कारोबारी पक्राउ बढेको छ,’ उनी भन्छन्,‘यससम्बन्धी अपराध नियन्त्रणमा प्रहरी सक्रिय छ, नागरिकहरू पनि सचेत हुनु जरुरी छ ।’ पछिल्लो दुई वर्षयता तराईका जिल्लामा पनि ठूलो मात्रामा नक्कली नोट बरामद हुँदै आएको छ । सर्वसाधारण र खासगरी पसल सञ्चालकले नगदको कारोबार गर्दा सतर्कता अपनाउनुपर्ने एसएसपी मैनाली बताउँछन् । 

विगतमा पनि थोरै परिमाणमा नक्कली नोट बरामद हुँदै आएको थियो । पछिल्लो समय एउटै समूहसँग लाखौँ बरामद हुन थालेको छ । कतिपय गिरोहले भारतका अत्याधुनिक मेसिनबाट समेत नोट छापेर नेपाल ल्याउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

सातपटक पक्राउ परेर छुटेपछि नक्कली नोटको कारखाना 
५२ लाख ७५ हजार नक्कली नोटसहित शुक्रबार पक्राउ परेका सिन्धुपाल्चोकका अर्जुन सुवेदी सातपटकसम्म विभिन्न अपराधमा पक्राउ परेर छुटेका व्यक्ति भएको खुलेको छ । छिटो र सजिलो तरिकाले पैसा कमाउने मोहले छुटेको एक महिनामै उनले नक्कली नोट छाप्न थालेका थिए । 

सुवेदीलाई गत जेठमा साइबर ब्युरोले ठगी र आपराधिक विश्वासघात मुद्दामा पक्राउ गरेकोमा उनी अदालतबाट धरौटीमा छुटेका थिए । छुटेलगत्तै नक्कली नोट छापेर पैसा कमाउने धन्दामा लागेका हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार उनी ०६२ देखि हालसम्म उनी विभिन्न सातवटा मुद्दामा पक्राउ परिसकेका छन् । ०६२ मा उनी काभ्रेमा चोरी मुद्दामा पक्राउ परेका थिए । ६ पटक उनी ठगी तथा चेक बाउन्स मुद्दामा पक्राउ परेका हुन् । 

लुम्बिनीबाट काठमाडौं आउँदै गरेको पर्यटक बसबाट बरामद भएको नक्कली नोटमाथि अनुसन्धान गर्दा गिरोह नै पत्ता लागेको हो । बिहीबार बिहान १० बजे लु.१प नम्बरको बसमा चेकजाँचको क्रममा ३५ लाख ७३ हजारबराबरको नोट बरामद भएको थियो । उक्त नोट लुम्बिनी बसपार्कमा एक व्यक्तिले अचार हो भनेर काठमाडौं लगिदिन आग्रह गरेको बसका चालक तथा सहचालकले बताएका थिए । 

चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा गिरोह पत्ता लागेको हो । अनुसन्धानको क्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ बुढाथोकीगाउँबाट थप १७ लाख दुई हजारबराबरको नक्कली नोट बरामद भएको एसएसपी कार्कीले बताए । 

पक्राउ पर्नेहरूमा सुवेदीसहित सुशील कार्की, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका कमल राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली छन् । ‘लुम्बिनीबाट काठमाडौं ल्याइएको नक्कली नोट काठमाडौंबाटै पठाइएको रहेछ,’ एसएसपी कार्कीले भने, ‘त्यहाँका एजेन्टले तीन लाखको एक लाख दिने सर्तमा लगेको, तर नोटको गुणस्तर कम हुँदा सहजै पहिचान भएको भन्दै फिर्ता पठाएको देखियो ।’ उनले केही नक्कली नोट पहाडी जिल्लामा पठाएको समेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

एसएसपी दिनेशराज मैनाली, प्रवक्ता, उपत्यका प्रहरी कार्यालय 
काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांकले नक्कली नोटको बढ्दो कारोबार देखाउँछ । पछिल्लो १६ महिनामा १८ ठाउँमा नक्कली नोट बरामद भएको छ । पछिल्ला वर्षमा नक्कली नोट बरामद र कारोबारी पक्राउ पर्ने दर बढेको छ । यससम्बन्धी अपराध नियन्त्रणमा प्रहरी सक्रिय छ, नागरिकहरू पनि सचेत हुनु जरुरी छ । दुई वर्षयता तराईका जिल्लामा पनि ठूलो मात्रामा नक्कली नोट बरामद हुँदै आएको छ ।