१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तेजराज भट्ट काठमाडाैं
Invalid date format o८:४२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँच दिनदेखि हुलाकी सडकमा बाढीपीडित

Read Time : > 2 मिनेट
तेजराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४२:oo

खान–बस्नसँगै खानेपानी र शौचालयको समस्या, मुख्यमन्त्री शाह पुगे बाढी क्षेत्रमा

काढानदीको बाढीले घर डुबानमा परेपछि गत २३ साउनमा विस्थापित भएर हुलाकी सडकमा पुगेका भजनी–३, पकडियापुरका हेमन्त चौधरी घर फर्कन सकेका छैनन् । चारजनाको उनको परिवार वस्तुभाउसहित हुलाकी सडकमा त्रिपाल लगाएर बसेको छ । बाढी केही घटे पनि उनको घर हिलाम्य छ । घरभित्र हिलैहिलो भएकाले फर्कन नसकेको चौधरीले बताए । ‘आँगनसम्म बाढी नै छ, घरभित्र हिलोले बस्नलायक छैन,’ चौधरीले भने, ‘गाउँका सबैजसो परिवार सडकमै छौँ ।’

पकडियापुरका विस्थापित ६० परिवार अहिले पनि हुलाकी सडकमा बसिरहेका गाउँका भलमन्सा सुरेश चौधरीले बताए । घरभित्रको हिलो नसुक्दासम्म सडकमा बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । वर्षासँगै विभिन्न नदीखोलामा आएको बाढीले डुबान भएपछि गत साता भजनीमा दर्जनौँ परिवार विस्थापित भएका थिए । विस्थापित करिब नौ सय परिवारमध्ये आधाजति अझै फर्कन नसकेको नगरपालिकाले जनाएको छ ।

केवल चौधरी, प्रमुख, भजनी नगरपालिका
विस्थापित धेरै छन्, सबैलाई राहत दिन सकिँदैन । सहयोगका लागि प्रदेश सरकार र प्रशासनलाई आग्रह गरेका छौँ ।

बाढीबाट विस्थापित भएकाहरू हुलाकी राजमार्गमा त्रिपाल लगाएर बसिरहेका छन् । उनीहरूलाई खान, बस्न, पानी, शौचालयको समस्या छ । ‘बालबच्चा छन्, खुला ठाउँमा बस्नुपर्दा सर्पको डर छ, लामखुट्टेले सताउँछ, राति राम्ररी सुत्न सकिएको छैन,’ भलमन्सा चौधरीले भने, ‘नल्कामा धमिलो पानी आउँछ, नगरपालिकाले दुई दिनदेखि पानी वितरण गरेको छैन ।’ आफूहरूलाई सबैभन्दा बढी समस्या खानेपानी र शौचालयको रहेको उनले बताए ।

घरभित्र बाढी पसेपछि खाद्यान्न, लुगाफाटोलगायत सामान तथा वस्तुभाउ लिएर पीडित परिवार हुलाकी राजमार्गमा पुगेका हुन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले डुबान भएका क्षेत्रमा डुंगा चलाएर पीडितलाई सुरक्षित ठाउँमा सार्ने काम गरेको थियो । पानी पर्दा विस्थापितलाई झन् समस्या हुने गरेको छ । कतिपयका त्रिपाल चुहिने गरेको बाढीबाट विस्थापित भजनी–८, सोनाफाँटाका बलराम चौधरीले बताए । उनले नगरपालिकाबाट केही दिन पानी पाउनुबाहेक कुनै निकायबाट कुनै पनि सहयोग नपाएको गुनासो गरे । ‘भित्रको हिलो नसुक्दासम्म घर फर्कने अवस्था छैन । सडकमा अलपत्रजस्तै छौँ,’ उनले भने, ‘फेरि बाढी आउला भन्ने डरले पनि सडकमा बसिरहेका छौँ, बाढी आए फेरि यतै आउनुपर्छ ।’ पानी नपरे घर फर्कन एक–दुई दिन अझै लाग्ने उनले बताए । हरेक वर्ष बर्खायाममा डुबानको समस्या भोग्नुपरिरहेको उनले बताए ।

गत साता आएको बाढीबाट जिल्लाभर सबैभन्दा बढी प्रभावित भजनी वडा नम्बर ३ र ८ का अधिकांश बस्ती डुबानमा परेका थिए । वडा नम्बर ८ का सोनाफाँटा, जनकपुर, दैलेखी टोल, बहादुर टोल, कृष्णनगर, खल्ला, काँढाढिक तथा वडा नम्बर ३ का पकडियापुर, नयाँ बस्ती, बर्दहवा गाउँमा सबैभन्दा बढी डुबान भएको थियो । केही बस्तीमा अहिले पनि बाढी छ । 

भजनी नगरका प्रमुख केवल चौधरीले विस्थापित नौसयमध्ये आधा परिवार घर फर्कन नसकेको बताए । उनले विस्थापितलाई नगरपालिकाले खानेपानी वितरण गरिरहेको बताए । विस्थापितको संख्या धेरै भएकाले त्रिपाल र अन्य खाद्यान्न वितरण गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘विस्थापित धेरै छन्, सबैलाई राहत दिन सकिँदैन,’ नगर प्रमुख चौधरीले भने, ‘सहयोगका लागि प्रदेश सरकार र प्रशासनलाई आग्रह गरेका छौँ ।’ उनले बाढी पसेका घरहरू हिलाम्य रहेका र केही बस्तीमा अहिले पनि बाढी नहटेकाले विस्थापित घर फर्कन नसकेको बताए । वडा नम्बर ३ का केही बस्तीमा बाढी नघटेको नगर प्रमुख चौधरीले बताए । ‘केही बस्ती अझै जलमग्न छन्, बाढी घटेका ठाउँमा घरभित्र हिलोले बस्न समस्या छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले पीडितलाई राहत दिनेसँगै हरेक वर्ष हुने बाढीको समस्या समाधानतर्फ ध्यान दिइने बताए । कान्द्रा, काढा, पथरैया, मोहनालगायत नदीखोलामा बर्खामा आउने बाढीका कारण भजनीका धेरैजसो बस्ती बर्खामा डुबानमा पर्ने गर्छन् । जसका कारण बर्सेनि थुप्रै परिवार बर्खामा विस्थापित हुन्छन् ।