१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १५:५७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिउँदमा पनि बाली हरियाली पार्ने ‘पोखरी योजना’

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १५:५७:oo

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ ले हिउँद र बर्खा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने ‘पोखरी योजना’ ल्याएको छ। स्थानीय तह निर्वाचनलगत्तै वडाध्यक्ष रोशन गिरीले गरेको घोषणा  कार्यान्वयन हुँदै गएको छ।

बर्खा जसरी हिउँदमा पनि कृषि बाली लगाउन वडाले तय गरेको ‘झरेको पात र परेको पानी सदुपयोग अभियान’लाई वडावासीले दैनिक श्रमदान गरेर साथ दिइरहेका छन्। बर्खाभर आकाशबाट परेको पानी जम्मा गर्ने र वडाभित्र रहेका जंगल, खेतबारीमा झरेको पात संकलन गरेर कम्पोस्ट मल बनाउन छुट्टाछुट्टै पोखरी निर्माण गरिएका छन्। हालसम्म नगरपालिका र वडाको ४० लाख लगानी तथा वडावासीको श्रमदानबाट सात सय पोखरी निर्माण भएका छन्।

वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको छ। जहाँ एक करोड लिटरभन्दा बढी पानी अट्छ। टारी खेतबारीलाई लक्षित गरेर बर्खामा रोपाइँ गर्न ठाउँठाउँमा स–साना पोखरी निर्माण गरिएको छ। त्यसैगरी, करेसाबारीको लागि घरको छतबाट खसेको पानी संकलन गर्ने घरैपिच्छे पोखरी तयार गर्न थालिएको छ। प्रत्येक टोलमा भैँसी आहाल बस्ने पोखरी बनाइएको छ। पानीको मूल र मुहानको प्रकृति जीवित राख्न पाँच सयवटा पुनर्भरण पोखरी बनाइएको छ।

जंगलमा झरेको पात संकलन गर्न एक सयवटा पोखरी (खाल्डो) तयार गरिएको छ। १० भन्दा बढी पोखरी घाँसको साइलेजका लागि बनाइएको छ। बर्खामा कटिङ गरेको घाँस हरियो राख्ने प्रविधि साइलेज हो।
‘बर्खाभर जम्मा गरेको पानी हिउँदमा प्रयोग गरिन्छ। अहिले वडामा टनेल र ग्रिन हाउस निर्माण भइरहेका छन्,’ वडाध्यक्ष गिरीले भने, ‘पशुपालन र हिउँदे तरकारीबाट किसानलाई आम्दानी बढी दिने लक्ष्य लिइएको छ।’ पशुचौपाया खरिदका लागि वडाले किसानलाई सापटी रकम दिने गरेको उनले सुनाए। अनुदान दिने परिपाटीले पशुपालन र कृषि खेतीमा गरिएको लगानी प्रभावकारी नभएको अनुभवका आधारमा सापटी प्रणाली चलाएर किसानलाई बढी जिम्मेवार र मिहिनेती बनाएको उनले प्रस्ट्याए।

पोखरी नीतिले गाउँमा पानीको मुहान बढेका छन्। थोरै लगानी गरेर धेरै परिणाम हासिल भएकाले वडामा आएको ८५ लाख बजेटमध्ये ६० लाख कृषिमा विनियोजन गरिएको छ। हिउँद लक्षित सात सयभन्दा बढी पोखरीमा अहिले धमाधम बर्खे पानी जम्मा भइरहेको छ।