१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अहिलेसम्मकै धेरै नक्कली नोट बरामद 

भक्तपुरमा छापेर देशभरि पुर्‍याउने प्रयास, केही नोट बजारमा गइसकेको आशंका 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१६:oo

नेपालमा अहिलेसम्मकै धेरै नक्कली नोट बरामद भएको छ । भक्तपुरमा छापेर बजारमा फैलाउन लागिएको ५२ लाख ७५ हजारबराबरका नोटसहित काठमाडौं प्रहरीले नौजनाको गिरोहलाई पक्राउ गरेको छ । 

लुम्बिनीबाट काठमाडौं आउँदै गरेको पर्यटक बसबाट बरामद भएको नक्कली नोटमाथि अनुसन्धान गर्दा गिरोह नै पत्ता लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए । बिहीबार बिहान १० बजे लु.१प नम्बरको बसमा चेकजाँचको क्रममा ३५ लाख ७३ हजारबराबरको नोट बरामद भएको थियो । सो नोट लुम्बिनी बसपार्कमा एक व्यक्तिले अचार हो भनेर काठमाडौं लगिदिन आग्रह गरेको बसका चालक तथा सहचालकले बताएका छन् ।

 चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा गिरोह पत्ता लागेको हो । अनुसन्धानको क्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ बुढाथोकीगाउँबाट थप १७ लाख दुई हजारबराबरको नक्कली नोट बरामद भएको एसएसपी कार्कीले बताए । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका कमल राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली छन् । ‘लुम्बिनीबाट काठमाडौं ल्याइएको नक्कली नोट काठमाडौंबाटै पठाइएको रहेछ,’ एसएसपी कार्कीले भने, ‘त्यहाँका एजेन्टले तीन लाखको एक लाख दिने सर्तमा लागेको, तर नोटको गुणस्तर कम हुँदा सहजै पहिचान भएको भन्दै फिर्ता पठाएको देखियो ।’ 

पक्राउ परेकामध्ये अर्जुन पेसेवर अपराधी हुन् । ०६२ देखि हालसम्म उनी विभिन्न सातवटा मुद्दामा पक्राउ परिसकेका छन् । ०६२ मा उनी काभ्रेमा चोरी मुद्दामा पक्राउ परेका थिए । पछिल्लोपटक गत जेठमा मात्र ठगी र आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका थिए । छुटेलगत्तै उनी यो अपराधमा लागेको आशंका गरिएको छ । पक्राउ परेका अन्य सोही गिरोहमा आबद्ध व्यक्ति हुन् । 

उनीहरूबाट नक्कली नोटसहित पेपरकटर मेसिन, प्रिन्टर, केमिकललगायत सामान बरामद भएको छ । झट्ट हेर्दा सक्कलीजस्तै देखिने गरी उनीहरूले नक्कली नोट छाप्दै आएका थिए । पक्राउ परेकाउपर मुद्रासम्बन्धी कसुरमा कारबाही अघि बढेको परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए । 

यो समूहले केही नोट बजारमा पठाइसकेको आशंका गरिएको छ । गत २३ साउनमा तारकेश्वर– ५ गोलढुंगाबाट प्रहरीले तीन लाख ८२ हजारबराबरको नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको थियो । यी दुई घटनामा एउटै व्यक्तिको संलग्नताको आशंका गरिएको छ । 

यसअघि यति ठूलो परिमाणमा नेपाली नक्कली नोट एकैपटक बरामद भएको थिएन । यसअघि ०७८ को साउनमा रौतहटमा करिब १० लाख नक्कली नोट बरामद भएको थियो । ठूलो परिमाणमा बरामद हुनुले बजारमा समेत नोट पुगिसकेको हुन सक्ने आशंका गरिएको छ । जसकारण पैसाको कारोबार गर्दा नक्कली नोट पर्न सक्ने भएकाले सजग हुन प्रहरीले आग्रह गरेको छ । पछिल्लो समय बारम्बार नक्कली नोट बरामद भइरहेको छ । भारतका आधुनिक प्रेसमा छापेरसमेत नेपालमा नक्कली नोटको कारोबार हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्दै आएको छ ।