१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o५:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जहाज कुर्दाकुर्दै ज्यान गुमाउँछन् कर्णालीवासी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o५:५९:oo

निमोनिया, झाडापखाला र रुघाखोकीबाट पीडित छोरालाई थप उपचारका लागि नेपालगन्ज लैजान पिता सुरजले सात दिन लगाएर ३० हजार खर्च जोहो गरे, तर जहाज नै आएन, उपचार अभावमै ६ महिने नाबालक इमरानले शुक्रबार ज्यान गुमाए

हुम्लाको सिमकोट गाउँपालिका– ६ माथिल्लो गाउँका ६ महिने बालकको उपचार अभावमा ज्यान गएको छ । सडक यातायातको सुविधा नरहेको हुम्लाका सुरज सुनारले निमोनिया, झाडापखाला र रुघाखोकीका पीडित छोरा इमरानलाई जिल्ला अस्पताल हुम्लाको सिफारिसअनुसार थप उपचारका लागि नेपालगन्ज लैजान खोजेका थिए । सात दिन लगाएर उनले ३० हजार खर्च जोहो पनि गरे, तर जहाज आएन । पछिल्ला तीन दिन हरेक बिहान ६ बजे नै उनी सिमकोट विमानस्थल पुग्थे, तर जहिल्यै दिउँसो १२ बजेसम्म मौसम खराब भइरहन्थ्यो । दिउँसो १–२ बजे मौसम खुल्थ्यो, जहाज नै आउँदैनथ्यो । उपचार नपाएरै शुक्रबार बिहान ६ बजे नाबालक इमरानले ज्यान गुमाए । 

गत १४ साउनमा जिल्ला अस्पताल ल्याएका इमरानलाई भर्ना गरियो । तर, आइसियू आवश्यक पर्ने भएपछि अस्पतालका डाक्टर रोशन रावतले जिल्लाबाहिर लैजान रेफर गरेका थिए । ‘हामीकहाँ आइसियू, भेन्टिलेटर र एनआइसियू सेवा छैन,’ वरिष्ठ अनमि सरिता बोहोराले भनिन्, ‘जटिल खालको निमोनिया भएकाले ती बालकलाई आइसियूमा राख्नुपर्ने थियो ।’ 

गत साउन १० मा मुगुको खत्याड गाउँपालिका– १ का ६० वर्षीय बिर्खबहादुर कार्कीको पनि उपचार अभावमा बाजुरामा ज्यान गएको थियो । बाजुरामा उपचार सम्भव नभएपछि रेफर गरिए पनि तीन दिनसम्म कोल्टी विमानस्थलमा जहाज नआएपछि उनले उपचार नपाएरै ज्यान गुमाएका थिए ।

मुगु कर्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी हिमा बुढा पनि उपचारका लागि नेपालगन्ज जान बुधबार नै ताल्चा विमानस्थल पुगिन् । एक दिन पैदल हिँडेर भोलिपल्ट ताल्चा विमानस्थल पुगेकी बुढाले शुक्रबारसम्म जहाज पाएकी छैनन् । ‘पेटमा सात महिनाको गर्भ छ, नाकमा मासु पलाएकाले अप्रेसन गर्नुपर्नेछ, त्यही उपचार गर्न भनेर हिँडकी थिएँ, जहाज पाइएको छैन,’ उनले भनिन् । मुगुदेखि नेपालगन्जसम्मको साढे तीन सय किलोमिटर सडक सार्वजनिक यातायातमा पार गर्न दुई–तीन दिन लाग्छ । त्यसमाथि बर्खासँगै कर्णाली राजमार्गका ठाउँठाउँमा पहिरो खसेकाले कतिखेर सडक अवरुद्ध हुन्छ, टुंगो हुँदैन । 

सिमकोट विमानस्थलका वरिष्ठ अधिकृत मनोज ढुंगेलले तीन दिन जहाज नआएको बताए । ‘बिहान ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म उडानका लागि केन्द्रबाट परिपत्र भएको छ । तर, बिहान मौसम खराब हुने भइरहेको छ,’ उनले भने । 

नागरिक उड्डयन प्राधिकरणले दुर्गम जिल्लाको समस्या नबुझेर बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म जहाजको उडान भर्न पाउने नयाँ तालिका लागू गरेको छ । तर, हुम्लालगायत दुर्गम जिल्लामा प्रायः बिहान मौसम खुल्दैन, दिउँसो घाम लागेपछि मात्र मौसम सफा हुन्छ । 

सडक सुविधा नभएका र सडक भए पनि यातायातको भरपर्दाे सुविधा नभएका कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला तथा सुदूरपश्चिमका बाजुराका बिरामीको एम्बुलेन्स भनेकै जहाज हो । तर, यहाँ हवाई सेवा पनि नियमित हुँदैन । त्यसमाथि प्राधिकरणले नयाँ नियम ल्याएपछि थप समस्या भएको छ । 

प्राधिकरणले १५ साउनदेखि लागू हुने गरी अप्रेसन आवरबाहेकको समयमा वायुसेवा कम्पनीलाई हेलिकोप्टर उडान अनुमति नदिने निर्णय पनि गरेको छ । यो निर्णयको असर पनि दुर्गमका बिरामीलाई परेको छ । यस क्षेत्रका बिरामीको उद्धार गर्न हेलिकोप्टरसमेत प्रयोग हुने गरेकामा बिहान ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म उडानका लागि मात्र अनुमति दिन थालिएको छ । कर्णालीका १० जिल्लामा आठ विमानस्थल छन् । 
 

ad
ad