१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
खहरे खोला खोतल्न कपन साततले पुगेको महानगरको डोजरलाई अवरोध गर्दै स्थानीय । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कपन खहरे खोला खोल्नेबारे दुई स्थानीय तहबीच विवाद, फर्कियो महानगरको डोजर

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२९:oo

काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको कपनस्थित खहरे खोला क्षेत्र बिहीबार दिनभर तनावग्रस्त बन्यो । खहरे खोलालाई अवैध रूपमा ढलमा परिणत गरेको भन्दै महानगर प्रहरी बलको टोली उक्त ढल खोतल्न डोजरसहित पुगेको थियो । तर, बुढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई नेतृत्वको टोलीले समन्वयविना एक्कासि डोजर ल्याएको भन्दै विरोध गरेको थियो । जसका कारण डोजर खोलासम्म पुग्न सकेन । वडाध्यक्ष भट्टराईले डोजरको चाबीसमेत खोसेका थिए । 

काठमाडौं महानगरतर्फका स्थानीयले भने वडाध्यक्षले चाबी खोसेकोमा विरोध गर्दै तत्काल खोला खोतल्नुपर्ने मागसहित नाराबाजी गरेका थिए । जसकारण विवादले उग्र रूप लियो । यस विषयमा शुक्रबार थप छलफल गर्ने निर्णयपछि महानगरको डोजर दिउँसो ४ बजेतिर फर्किएको थियो भने साँझसम्मै उक्त क्षेत्र तनावपूर्ण रहेको थियो । 

काठमाडौं महानगर–७ का राजु संगतले खोलालाई खोलाकै रूपमा बग्न दिनुपर्ने बताए । ‘अहिले खोलालाई ढलमा परिणत गरिएको छ । खोलालाई खोलाकै रूपमा बग्न दिएर दायाँ–बायाँ करिडोर बनाउनुपर्र्छ । सामाखुसी खोलालाई खुला गरेजस्तै खहरे पनि खुलाउनुपर्छ,’ उनले भने, ‘महानगरतर्फ खोलाको मापदण्डअनुसार नै छाडिएको छ । बुढानीलकण्ठतर्फ मापदण्ड छाडेको छैन । विवादको खास कारण नै यही हो ।’ उनका अनुसार खोला मिच्ने काम करिब ३० वर्षअघिदेखि नै सुरु भएको हो । ‘हामी बाजे–बराजुदेखि यहाँ बस्दै आएका छौँ । र, पहिलेदेखि नै खोला मिचेको पनि देख्दै आएका छौँ । जुन काम गलत हो । अलि माथिबाटै महानगरबाट पनि खोला मिचेको छ । त्यसलाई पनि भत्काउनुपर्छ,’ उनले भने । 

बुढानीलकण्ठ नगरपालिका–१० का रामहरि सापकोटाका अनुसार महानगरतर्फ पनि खोला मिच्ने काम भएको छ । ‘यो समस्या समाधान गर्ने गरी संरचना बनिरहेको छ । माथि बाटो, तल खोला बग्ने गरी संरचना बनाउने ठेक्का लागेको छ । काम भइरहेका वेला काठमाडौं महानगरका मेयर बालेनले एक्कासि डोजर पठाए । त्यसैले विरोध गरेका हाँै,’ सापकोटाले भने, ‘महानगरतर्फ ३२ फिटको बाटो हुनुपर्ने मापदण्ड छ । तर, बाटो हुनुपर्ने ठाउँमा संरचना छ ।’ उनका अनुसार खहरे खोला भए पनि पहिला सानो थियो । बस्ती बढ्दै गयो । स्थानीयले यसैमा ढल हाल्दै गए । ६२ सालतिर पैसा उठाएर यहाँ ढल हालिएको हो । यहाँको समस्या समाधान गर्न बक्स हाल्न ठेक्का लागेको छ । ठेकेदारले तल खोला, माथि पुल बनाउने गरी ढुंगाको पर्खाल लगाइसकेको छ । तर, महानगरतर्फबाट बनाउन नदिने भनेपछि नगरपालिकापट्टि मात्रै पानी नअट्ने भयो । 

अर्की स्थानीय सुशीला भण्डारीले भने मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिइन् । ‘सबै मिलेर दिगो हिसाबले जानुपर्छ । यहाँ पहिला सानो खोल्सा थियो । बर्खामा अलि ठूलै पानी आउँथ्यो । अहिलेको जस्तो जताततै खोलो हिँड्दैनथ्यो । पोहोर त चार–पाँचवटा घर नै डुबायो । त्यसैले यसलाई समाधान त गर्नैपर्छ,’ उनले भनिन् । 

महानगरले जबर्जस्ती गर्न खोजेको आरोप 
बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी महानगरले विनासूचना जबर्जस्ती गर्न खोजेको आरोप लगाउँछन् । ‘महानगर पनि स्थानीय सरकार, हामी पनि स्थानीय सरकार नै हौँ । तर, महानगरले जबर्जस्ती गर्ने नीति लियो । समझदारीबेगर डोजर लिएर खोलो उखेल्न आए,’ मेयर अधिकारीले भने, ‘हिजोको खहरेमा सबै मिलेर ढल हालेकै हो । त्यसका लागि सरकारको बजेट पनि प्रयोग भएको छ । त्यसैले यो विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा भोलि नापी विभाग जान्छौँ । र, एउटा निष्कर्षमा पुग्छौँ । कसैलाई अन्याय गर्न भएन नि ।’

यो खोलामा गोकर्णदेखिको पानी आउने गरेको मेयर अधिकारी बताउँछन् । तर, अहिले कपनको सात तलेभन्दा माथि खोला नै देखिँदैन । महानगरको डोजर गएपछि मेयर बालेन साहसँग फोनमा कुरा गरेको उनको भनाइ छ । महानगरको वडा नम्बर ६ र ७ का जनप्रतिनिधिसँग पनि छलफल भएको उनले बताए । प्रमुख अधिकारीका अनुसार भोलि यो विषयमा थप छलफल हुने भएको छ । 

थप सरसल्लाह गरेर अघि बढ्ने महानगरको भनाइ
काठमाडौं महानगरले पनि छलफल नपुगेको स्वीकार गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सरसल्लाह नपुगेकाले नै विवाद भएको हो । शुक्रबार थप छलफलपछि काम अगाडि बढ्ने उनी बताउँछन् । साततलेस्थित खहरे खोला व्यवस्थापन नगर्दा महानगरपालिकाको वडा ६ र ७ तथा बुढानीलकण्ठको १० वडा क्षेत्र बर्सेनि बस्ती डुबानमा पर्दै आइरहेको छ । 

ad
ad