Skip This
तीन महिनादेखि महानगरअगाडि एक्लै धर्नामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Saturday, 27 July, 2024
इन्दिरा चापागाईं
गणेश लम्साल काठमाडाैं
२o८o श्रावण २३ मंगलबार o८:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तीन महिनादेखि महानगरअगाडि एक्लै धर्नामा

Read Time : > 1 मिनेट
गणेश लम्साल, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार o८:१२:oo

विराटनगर महानगर प्रमुख कोइरालालाई अभद्र व्यवहार गरेको इन्दिरामाथि आरोप

शिक्षाको बेथिति सुधारको माग गर्दै तीन महिनादेखि विराटनगर महानगरपालिकाअगाडि धर्नामा बस्दै आएकी इन्दिरा चापागाईंलाई हिरासतमा राख्न प्रहरीले आठ दिन म्याद थप गरेको छ । विराटनगर महानगर प्रमुख नागेश कोइरालालाई अभद्र व्यवहार गरेको र कामकाजमा बाधा पुर्‍याएको आरोपमा प्रहरीले इन्दिरालाई १५ साउनमा धर्नास्थलबाटै पक्राउ गरेर सात दिन म्याद थप गरी हिरासतमा राखेको थियो । 

मोरङ प्रहरीको हिरासतमा रहेकी इन्दिराले प्रमुख कोइरालालाई धाकधम्की दिँदै निरन्तर एसएमएस पठाएको, अपशब्द बोल्दै गालीगलौज गरेको र देख्नासाथ थुक्ने गरेकाले महानगर प्रमुखको आग्रहमा उनलाई पक्राउ गरेर अभद्र व्यवहारमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

महानगर प्रमुख कोइरालाले इन्दिराकै कारण आफूले तीन महिनादेखि मानसिक यातना सहनुपरेको र मुख्य गेटबाट कार्यालयसमेत छिर्न नपाएको, उनको अराजक गतिविधिकै कारण शिक्षकहरू राजीनामासमेत दिन बाध्य भएकाले आजित भएर कानुनी कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गर्न बाध्य भएको जानकारी दिए । ‘धेरैपटक सम्झाउने प्रयत्न गर्‍यौँ । उपचार आवश्यक भए निःशुल्क गर्ने अनुमति दिन परिवारसँग अनुरोध पनि गर्‍यौँ । तर, पनि उनको अराजक गतिविधि रोकिएन । त्यसैले प्रहरी गुहार्न बाध्य भएका हौँ,’ उनले भने ।  

विराटनगर महानगरपालिका– ५ मा श्रीमान् र एक छोरीसहित बस्दै आएकी इन्दिरा बरगाछीस्थित गोग्राहा माध्यमिक विद्यालय सञ्चालक समितिकी पूर्वअध्यक्ष हुन् । उनी वडा कार्यालयमा आवश्यक लेखापढीको काम पनि गर्छिन् । आफूलाई सुशासनको अभियन्ता दाबी गर्दै उनी प्रदेश सभा र मन्त्रालयअगाडि हातमा नेपालको झन्डा र टाउकोमा फेटा बाँधेर कागजको ब्यानर बोकेर धर्ना बस्दै आएकी थिइन् । गत जेठदेखि विराटनगरको बरगाछीमा रहेको गोग्राहा कलेजलाई महानगरले बजेट उपलब्ध गराएकोमा विरोध गर्दै उनी धर्नामा बसेकी थिइन् ।

प्रहरी हिरासतमा रहेकी इन्दिराले भने सुशासनका लागि शान्तिपूर्ण धर्ना बस्ने र उजुरी गर्ने सबैलाई मौलिक अधिकार भए पनि आफूलाई महानगरपालिकाले झुटो आरोपमा पक्राउ गराएको आरोप लगाएकी छिन् । विराटनगरवासीले इन्दिरा मनोरोगी हुन सक्ने भन्दै हिरासतमा राख्नुको साटो अस्पताल भर्ना गराएर उपचार गराउनुपर्ने सुझाव दिइरहेका छन् ।