१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फरार अभियुक्तसँग सिडिओसहित चारवटै सुरक्षा निकायका प्रमुखको फोटो सेसन
टेकराज थामी काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:४४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रौतहटको दुर्गाभगवती गाउँपालिका अध्यक्ष सिंह फरार सूचीमा 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:४४:oo

तत्कालीन गाविससचिव रामवृक्ष राउतको गोली हानी हत्या गरेको अभियोग

रौतहटको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंह प्रहरीको फरार सूचीमा रहेको खुलेको छ । व्यक्ति हत्या अभियोग लागेका उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले फरार सूचीमा राखेको हो ।

जिप्रका रौतहटले उनीसहित छोटन सिंह भनिने रामप्रवेशकुमार सिंहलाई कार्यालयमा उपस्थित गराउन गत २१ पुसमा इलाका प्रहरी कार्यालय गंगापिप्रालाई लिखित निर्देशन दिएको थियो । क्रम संख्या ३२०५ नम्बरको पत्रमा गाउँपालिका अध्यक्ष शम्भुकुमार र रामप्रवेश फरार रहेकाले उनीहरूलाई कार्यालय उपस्थित गराउन र नसकिए प्रतिवादीको यकिन परिचय खुल्ने कागजात र तीनपुस्ते विवरण यथाशीघ्र कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।

‘प्रहरी निरीक्षक वेणी सिलवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रामप्रवेशकुमार सिंह भनिने छोटन सिंह र शम्भु सिंहसमेत भएको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा वारदातमा संलग्न निम्न स्थान प्रतिवादीहरू वारदात घटाएपश्चात् हाल फरार रहेकाले निजहरूको सम्बन्धमा गोप्य रूपमा सुराक लगाई निजहरू लुकिछिपी बस्ने निम्न प्रतिवादीहरूको सम्बन्धित वतनमा तथा निजहरू बस्न सक्ने सम्भावित अन्य स्थानहरूसमेतमा तदारुकताका साथ खोजतलास गरी गराई फेला परेमा यस कार्यालयमा दाखिला गर्न हुन र नपरेमा निज प्रतिवादीहरूको यकिन परिचय खुल्ने कागजात र तीनपुस्ते विवरण यथाशीघ्र यस कार्यालयमा उपलब्ध गराउनुहुन अनुरोध छ,’ पत्रमा लेखिएको छ ।

पत्रको अन्त्यमा दुई प्रतिवादीको स्थायी ठेगाना र बुबाको नामसमेत खुलाइएको छ । पत्रका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढामगरले रामप्रवेशकुमार र शम्भुको सन्दर्भमा कार्यालयमा उपस्थित गराउने उद्देश्यले केही महिनाअघि पत्र काटिएको, तर फरार नै भने नभएको बताए । ‘०६३ मा एउटा हत्या भएको रहेछ । त्यसमा उहाँहरू मुछिनुभएको रहेछ । पछि सरकारी वकिल कार्यालयले उक्त मुद्दा तामेलीमा राखेको रहेछ । सोही सम्बन्धमा सामान्य सोधपुछका लागि पत्र काटिएको हो । अनुसन्धानको सिलसिलामा यस्तो विषय हुनु नौलो भएन । तर, उहाँहरू पत्रमा उल्लेख भएजस्तो फरार नै भने होइन,’ उनले नयाँ पत्रिकासँग भने ।

जिप्रका रौतहटका अनुसार १८ फागुन ०६३ मा तत्कालीन गंगाप्रिपा गाविसका सचिव रामवृक्ष राउतको गोली हानी हत्या भएको थियो । सोही हत्यामा शम्भु र रामप्रवेशकुमार मुछिएका थिए । निरन्तरको दबाब र धम्कीपछि मृतकका परिवारले घटनामा संलग्न अभियुक्तविरुद्ध जाहेरीसमेत दिएको थिएन । सरकारीवादी मुद्दा भएकाले अभियुक्तविरुद्ध जिप्रका रौतहटमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक वेणी सिलवालले २१ फागुन ०६३ मा अभियुक्तविरुद्ध जाहेरी दिएका थिए । घटनाको अनुसन्धानकै क्रममा शम्भु र रामप्रवेशकुमार पक्राउ परे । तर, जिल्ला सरकारी वकिल कार्यालय रौतहटले ४ असोज ०६४ मा प्रमाण नपुगेको भन्दै अभियुक्तविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । घटनाको १५ वर्षपछि जिप्रका रौतहटले फरार रहेको भन्दै प्रतिवादीलाई कार्यालयमा उपस्थित गराउन पत्र काटेको थियो । 

गाउँपालिका अध्यक्ष सिंहले सरकारी वकिल कार्यालयबाट मुद्दा मिलिसकेको र राजनीतिक प्रतिशोध साँध्न विपक्षीले आफ्नाविरुद्ध अफवाह फैलाएको जानकारी दिए । ‘०६३ मा गाविससचिवको हत्या भएको हो । उहाँ मेरै घरमा बस्नुहुन्थ्यो । यस विषयमा मैले सरकारी वकिल कार्यालयबाट सफाइ पाइसकेको छु । संघीय चुनावका वेला मेराविरुद्ध पुर्जी जारी भएको सुनेँ । राजनीतिक प्रतिशोध साँध्न विपक्षीले यस्तो अफवाह फैलाएका हुन् । म फरार छैन,’ उनले भने । सिंह माओवादीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनी रौतहटस्थित गौर हत्याकाण्डमा पनि सहभागी थिए । उनी त्यसवेला राष्ट्रिय मधेस समाजवादी पार्टीका सचिव थिए । मधेसी जनअधिकार फोरम हुँदै उनी माओवादीमा प्रवेश गरेका थिए ।

फरार अभियुक्तसँग सिडिओसहित चारवटै सुरक्षा निकायका प्रमुखको फोटो सेसन
जिल्ला प्रहरी कार्यालय रौतहटले इप्रका गंगापिप्रालाई पठाएको पत्रअनुसार गाउँपालिका अध्यक्ष शम्भु र रामप्रवेशकुमार फरार सूचीमा छन् । तर, उनीहरूसँग जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख वीरबहादुर बुढामागर, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका एसपी चन्दनकुमार झा, नेपाली सेनाका प्रमुख सेनानी गंगाबहादुर विष्टले सँगै फोटो खिचेको देखिन्छ । फोटोमा शम्भु बीचमा उभिएका छन् । रामप्रवेशकुमारले बायाँतर्फको छेउमा ओमकार लेखिएको टिसर्ट लगाएको देखिन्छ । शम्भुको बायाँतर्फ उभिएका जिप्रका रौतहटका सिडिओ मिश्र हुन् भने उनीसँगै उभिएका सशस्त्रका एसपी रेग्मी हुन् । शम्भुको दायाँतर्फ उभिएका सेनाका प्रमुख सेनानी विष्ट हुन् । उनीसँगै उभिएका राअविका एसपी झा र अर्का जिप्रका रौतहटका एसपी बुढामगर हुन् । 

ad
ad