१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

केन्द्रीय सदस्यहरूको दबाबपछि एन्फा बैठकमा थप नौ एजेन्डा समावेश

अनिल मल्ल, पेमा डोल्मा लामा, रूपेश अधिकारी र रवीन्द्र चन्दले विधानअनुसार एजेन्डा थप गर्न माग राखेका थिए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२४:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)को १९ साउनमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा थप नौ एजेन्डा समावेश हुने भएको छ । केन्द्रीय सदस्यहरूको दबाबपछि एन्फाले बैठकमा थप एजेन्डामाथि छलफल हुने जनाएको छ । यसअघि एन्फाका महासचिव किरण राईले ११ वटा एजेन्डामा छलफल हुने पत्रमार्फत केन्द्रीय सदस्यलाई पठाएका थिए । कतार विश्वकपका दौरान एन्फामा आएको टिकट बिक्री तथा महासचिवको राजीनामा सम्बन्धमा कुनै पनि छलफल नहुने भएको छ । पदाधिकारीहरूले यी दुवै विषय एजेन्डामा समावेश हुनुपर्ने माग नेतृत्व पक्षसँग बारम्बार राख्दै आएका छन् ।

तर, राईले जारी गरेको विज्ञप्तिमा ९ वटा बुँदा थप भए पनि विश्वकप टिकट र महासचिवको बर्खास्ती समावेश भएको छैन । ‘विधानको धारा ३९ (३) अनुसार एन्फा कार्यसमितिका सदस्यहरूले बैठकको विषयसूचीमा समावेश गर्न थप विषयसूचीको जानकारी गराउँदछु,’ महासचिव राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विधानको धारा ३९ (२) अनुसार १९ साउनमा एन्फाको कार्यसमिति बैठक बस्नेछ ।’ एन्फाको विधानअनुसार कार्यसमितिको बैठकअघि सदस्यहरूलाई एजेन्डा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

विधानअनुसारै केन्द्रीय सदस्यले बैठकमा एजेन्डा थप गर्न सक्ने प्रावधान छ । एन्फाले कार्यसमितिको बैठक मिति निर्धारण गरेपछि केन्द्रीय सदस्यहरूले विधानअनुसार एजेन्डा माग राखेका थिए । चारजना केन्द्रीय सदस्यले एजेन्डा थप गर्न माग गर्दै पत्र एन्फालाई बुझाएका थिए । अनिल मल्ल, पेमा डोल्मा लामा, रूपेश अधिकारी र रवीन्द्र चन्दले बैठकमा विभिन्न एजेन्डा थप गर्न माग गर्दै एन्फालाई निवेदन पठाएका थिए । उनीहरूले साफ यू–१९ च्याम्पियनसिप आयोजना, जिल्ला लिग, सहिद स्मारक बी र सी लिग, महिला लिगलगायतका प्रतियोगिताका खेल नियमावलीलगायतको एजेन्डा प्रस्तुत 
गरेका थिए । 

गत फागुन १७ मा असन्तुष्ट केन्द्रीय सदस्यहरूले कार्यसमितिको बैठक बहिष्कार गरेका थिए । अध्यक्ष पंकजविक्रम नेम्वाङले सदस्यता संख्या पूरा नहुँदा पनि बहुमतका आधारमा केही ठोस निर्णय गरे । असन्तुष्ट सदस्यहरूले बहुमत नभएको भन्दै सो बैठकलाई अवैधानिक मानेका छन् । गत वर्षको साउनमा एन्फा अध्यक्षमा चुनिएपछि नेम्वाङले कार्यसमितिभित्र बहुमत पुर्‍याउन सकेका छैनन् ।

विश्वकपको टिकट बिक्री समावेश भएन
१७ फागुनको कार्यसमिति बैठकको निर्णयका विषयमा छलफल गर्नुपर्ने भन्दै एजेन्डा थप्न माग अहिले पनि केही सदस्यले गरेका छन् । उनीहरूले एन्फाको आन्तरिक अडिट रिपोर्ट, कतार विश्वकप २०२२ को टिकट, एन्फा बजेट २०२३ र महिला तथा पुरुष राष्ट्रिय खेलाडीको पुरानो बाँकी पुरस्कार चुक्ताको विषयलाई मुख्य एजेन्डामा राखेका छन् । तर, एन्फाले थप गरेको नौवटा बुँदामा ती पक्ष छैनन् । 

यसअघि, केन्द्रीय सदस्य अनिल मल्लले महासचिव राईको बर्खास्तीको माग राखेका थिए । उनले कार्यसमितिको बैठकअघि महासचिव राईको कार्यक्षमता र योग्यतामाथि आरोप लगाएका थिए । उनले विधान संशोधन र नयाँ जिल्ला गठनको माग पनि राखेका छन् । पाँच महिनाअघि पनि १२ सदस्यले महासचिव राई र कोषाध्यक्षको राजीनामा माग गर्दै एजेन्डा थप गर्न माग गरेका थिए । तर, अध्यक्ष नेम्वाङले एजेन्डा नथप्दा फागुन १० र १७ को बैठकले पूर्णता पाउन सकेन ।

 महिला र पुरुषलाई समान पुरस्कार
थप भएको एजेन्डामा पुरुष र महिला खेलाडीलाई समान पुरस्कार व्यवस्था हुनुपर्ने राखिएको छ । मोफसलमा हुने नकआउटदेखि लिग फुटबल प्रतियोगितामा महिला तथा पुरुष खेलाडीलाई दिइने पुरस्कार धनराशिबीच धेरै अन्तर रहेको छ । एन्फाले राष्ट्रिय खेलाडीलाई दिइने प्रतिमहिनाको पारिश्रमिक भने दुवैलाई समान दिँदै आएको छ । 

यसैगरी, एन्फाभित्रको प्रशासनिक, कर्मचारी र संस्थालाई संगठित बनाउन माग राखिएको छ । केही सदस्यले पटक–पटक उठाइरहेको एन्फा विधान संशोधनका विषयमा १९ साउनमा छलफल हुनेछ । यसैगरी, खेलाडीहरूको रोकिएको पुरस्कार रकम सम्बन्धमा पनि बोर्ड बैठकमा छलफल हुनेछ । 

थपिएका एजेन्डा

  • संगठित संरचना र कर्मचारी
  • एन्फा बजेट ०८०/८१
  • एन्फाको विधान संशोधन
  • पुरुष र महिला टोलीलाई समान पुरस्कार
  • एन्फा महिला एकेडेमी सञ्चालन
  • महिला रेफ्री र प्रशिक्षण संख्या वृद्धि
  • महिला र पुरुष राष्ट्रिय खेलाडीलाई दिनुपर्ने बाँकी पुरस्कार रकम
  • नयाँ सदस्य जिल्ला फुटबल संघ गठन
ad
ad