१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मनीष थाइल्यान्डको लिग खेल्ने दोस्रो नेपाली खेलाडी

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१३:oo

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर मनीष डाँगी थाइल्यान्डको दोस्रो श्रेणीको क्लबमा आबद्ध हुने दोस्रो नेपाली खेलाडी बनेका छन् । थाइल्यान्डको दोस्रो डिभिजन क्लब रायोङ फुटबल क्लबले सोमबार सोसल मिडियाबाट नेपालका खेलाडी मनीषसँग एक वर्षको सम्झौता गरेको जनाएको छ । मनीष र रायोङबीच अघिल्लो साता नै सम्झौता भएको थियो । तर, क्लबले सोमबार मात्रै मनीषलाई अनुबन्ध गरेको जानकारी दिएको हो । अघिल्लोपटक मनीष बहराइनको लिगमा अनुबन्धित थिए । अल रिफ क्लबमा उनले केही खेलमा मौका पाए । 

थाई लिग खेल्ने पहिलो नेपाली खेलाडी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा गोलकिपर उपेन्द्रमान सिंह हुन् । उनले सन् १९९४ मा दोस्रो डिभिजन च्याम्पियन सिंघा थाईबाट प्रतिस्पर्धा गरेका थिए । सिंहले प्रतिस्पर्धा गरेको वर्ष नै क्लब दोस्रो डिभिजन च्याम्पियन भयो र सोही वर्ष रेलिगेसनमा पर्‍यो । 

मनीषले आइतबार मात्रै रायोङबाट प्रिम्याच मैत्रीपूर्ण खेल खेलेका थिए । उनले पहिलो खेलमै आफ्नो प्रभाव देखाएका छन् । प्रतिस्पर्धामा उनले एक गोलका लागि असिस्ट गरे । नेपाली राष्ट्रिय टोलीका विंगर मनीषकी आमा रिता गुरुङ डाँगीले एक वर्षको सम्झौता भएको नयाँ पत्रिकालाई बताएकी छिन् । ‘बाबु र क्लबबीच एक वर्षको सम्झौता भएको छ,’ उनले भनिन् । दुई पक्षबीचको सम्झौता रकम अहिले खुलाइएको छैन । 

रायोङ अघिल्लो सिजन सातौँ स्थानमा थियो । रायोङले यसपटक शीर्ष स्थानमा रही थाइल्यान्डको शीर्ष डिभिजन लिगमा उक्लने लक्ष्य बनाएको छ । ‘यसपटक उत्कृष्ट प्रदर्शनसँगै रायोङ शीर्ष डिभिजनमा उक्लिने योजना रहेछ,’ मनीषकी आमा रिताले भनिन् । ०७९/८० को सिजन मनीषले सहिद स्मारक ‘ए’ डिभिजन लिग संकटा क्लबबाट खेलेका थिए । संकटाबाट २४ खेल खेल्दै उनले चार गोल गरेका थिए । यो सिजन उनका लागि सोचेजस्तो भएन । 

थाई लिग खेल्ने पहिलो नेपाली खेलाडी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा गोलकिपर उपेन्द्रमान सिंह हुन् । उनले सन् १९९४ मा दोस्रो डिभिजन च्याम्पियन सिंघा थाईबाट प्रतिस्पर्धा गरेका थिए ।

मनीषले राष्ट्रिय टोलीबाट ०७८ जेठ १५ मा इराकविरुद्ध डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट उनले २२ खेलमा दुई गोल गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मनीषलाई राष्ट्रिय टोलीबाट डेब्यु गराएका हुन् । त्यसयता उनी राष्ट्रिय टोलीका नियमित खेलाडी बनेका छन् । नेपालको फुटबल इतिहासमा भारत, मलेसिया, इन्डोनेसिया, माल्दिभ्स र बंगलादेशलगायत राष्ट्रका घरेलु लिगमा नेपाली खेलाडीले सहभागिता जनाएका थिए । 

 खालीबारीदेखि राष्ट्रिय टोलीसम्म
पाँच वर्षअघि दक्षिण कोरियाबाट मनीष आमा रितासँगै नागरिकता बनाउन नेपाल फर्किएका थिए । नागरिकता बनाउन आएको समयमा उनी केही समय नेपालमै बस्ने निर्णयमा पुगे । त्यसवेला सातदोबाटोको एन्फा कम्प्लेक्समा ‘सी’ डिभिजन लिग चलिरहेको थियो । खालीबारी युवा क्लबका अध्यक्ष महेश श्रेष्ठ र प्रशिक्षक उर्जन श्रेष्ठ मनीषको खेल्ने शैलीबाट प्रभावित भए । दुवैले उनलाई अन्तिम चार खेल खेलाउने निर्णय गरे । एन्फा मैदानमा मनीषले आफ्नो कौशल मात्रै देखाएनन्, सबैको मन जित्न सफल भए । 

उनले तीन खेलमा पाँच गोल गरे । सो सिजन खालीबारी ‘सी’ डिभिजन च्याम्पियन भयो । यसपछि मनीषले नेपाली फुटबलको ढोका खोलेका हुन् । पढाइसँगसँगै कोरियाली फुटबलमा भिजेका मनीषले छोटो अवधिमै यू–१८ साफ च्याम्पियनसिप खेल्न टोलीमा स्थान बनाए । 

नेपालको प्रतिनिधित्व गर्दै यू–१९ एएफसी कप छनोट खेले । यसपछि उनलाई राष्ट्रिय टोलीको क्याम्पमा बोलाइयो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनीषलाई पहिलो नजरमै मन पराए । मनीषले इरानविरुद्ध डेब्यु खेलमै गोल गरे । नेपाल सुपर लिग (एनएसएल)मा विराटनगर सिटी एफसीका लागि सानदार प्रदर्शन गरे । यसपछि मात्रै मनीषले शीर्ष डिभिजन लिग खेलेका हुन् । शीर्ष डिभिजनमा मच्छिन्द्र फुटबल क्लबबाट च्याम्पियन नै भए । 

 कोरियन एकेडेमीको अनुभव
बुबाआमासँगै दक्षिण कोरियामा रहँदा उनले स्थानीय एकेडेमीमा फुटबल सिकेका थिए । उनले सन् २०१७ मा कोरियाको जुनियर हाइ स्कुल लिगसमेत खेले । सो सिजनमा उनी जुनियर लिगको उच्चगोलकर्ता बने । जुनियर स्कुल लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि मनीष पोचेओन सिटिजन एफसीको युथ टिममा आवद्ध भए । त्यसपछि उनले कोरियन फुटबल एसोसियनले आयोजना गर्ने क्षेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाएका थिए । दक्षिण कोरियामा हुर्किएका मनीष पाँच वर्षदेखि नेपालमा फुटबल खेल्दै आएका छन् । बुबाको इच्छा छोराले नेपाली राष्ट्रिय टिमबाट फुटबल खेलोस् भन्ने थियो । त्यसैले मनीष दक्षिण कोरियाबाट नागरिकता लिने उमेर पुगेपछि सन् २०१८ मा नेपाल आएका हुन् । 

 ‘नेपाली खेलाडीले अवसर पाउनु राम्रो हो’
थाई लिग खेल्ने पहिलो नेपाली खेलाडी उपेन्द्रमानले मनीषको सफलताले आगामी दिनमा अन्य खेलाडीलाई पनि अवसर मिल्ने बताए । ‘अहिले मनीषले थाई लिग खेल्ने अवसर प्राप्त गरेका छन्, यसले अरू नेपाली खेलाडीका लागि पनि ढोका खोल्ने विश्वास लिएको छु,’ उपेन्द्रमानले भने, ‘मनीषले त्यहाँ कस्तो खेल्छन् भन्ने छ ।’ थाइल्यान्डको दोस्रो डिभिजन क्लबमा मनीषले प्राप्त अवसर सदुपोग गर्नुपर्ने सुझाव उनले दिएका छन् । ‘उसले जतिपटक त्यहाँ मौका प्राप्छ गर्छन्, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुपर्छ,’ उनले भने, ‘आशा छ, हामीलाई निराश गर्दैनन् होला ।’

जापानबाट पनि अफर
मनीषकी आमा रिताले आफ्ना छोरालाई जापानको एक क्लबबाट राम्रो प्रस्ताव आएको जानकारी दिएकी छिन् । जापानको तेस्रो डिभिजन क्लबले मनीषलाई १० महिनाको मात्रै अनुबन्ध गर्न खोजेको थियो । छोटो समयका लागि जापानी क्लबबाट प्रस्ताव आएपछि मनीष थाई लिगमा पुगेको उनकी आमाले जनाइन् । ‘जापान राम्रो देश हो, तर वर्षभरिको सम्झौता हुन नसक्दा छोराले थाइल्यान्ड रोजे,’ उनले भनिन्, ‘थाइल्यान्डबाट सम्झौता र पारिश्रमिकसमेत राम्रो आयो, त्यहाँ बस्दा छोराले सेवा सुविधा राम्रो प्राप्त गर्नेछन् ।’

ad
ad