नेपाल पत्रकार महासंघले वार्ता र संवादबाट कान्तिपुर पब्लिकेसन्समा देखिएको समस्या समाधान गर्न आग्रह गरेको छ । महासंघका महासचिव रोशन पुरीले सोमबार विज्ञप्ति जारी गर्दै श्रम समस्याप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वार्ता र संवादलाई जोड दिएका छन् ।
‘श्रमजीवी पत्रकार ऐन र सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि हाल भइरहेको आन्दोलनका क्रममा पत्रिका वितरणसमेत प्रभावित भइरहेकाले वार्ता र संवादको प्रक्रियाबाट तत्काल समस्या समाधानका लागि महासंघ कान्तिपुर मिडिया ग्रुपको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ । श्रमजीवी पत्रकार ऐन र प्रचलित कानुन सर्वोच्च अदालतको आदेशअनुसारका सेवा उपलब्ध गराउन पनि महासंघले कान्तिपुर वयवस्थापनलाई आग्रह गरेको छ ।
पत्रिका वितरणमा अवरोध गरिएकोप्रति मिडिया सोसाइटी र आनको ध्यानाकर्षण
कान्तिपुर दैनिक र काठमाडौं पोस्टको वितरणमा केही दिनदेखि भइरहेको अवरोधप्रति सञ्चार क्षेत्रसँग आबद्ध नेपाल मिडिया सोसाइटी र नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । सोसाइटी र आनले जारी गरेको संयुक्त विज्ञप्तिमा कामदार तथा कर्मचारीहरूले आफ्ना माग राख्ने क्रममा केही अमर्यादित क्रियाकलाप गरेको तथा प्रकाशनको बिक्री–वितरणमा अवरोध गरिएको विषयले सिंगो सञ्चार क्षेत्र दुःखी भएको जनाएका छन् ।
पत्रिका वितरणमा अवरोध गर्नु, संस्थामा हुलहुज्जत गर्ने कार्य कानुनी राज्य र प्रेस स्वतन्त्रताविरोधी क्रियाकलाप भएको जनाइएको छ । ‘सञ्चार संस्थालाई बदनाम गरेर, लगानीकर्ताहरूको मानमर्दन गरेर त्यही संस्थाको कामदार कर्मचारी कसरी बन्ने हो भन्नेजस्तो नैतिक प्रश्नको समेत ख्याल गर्नुपर्ने कुरा स्वतः सिद्ध छ । यस्ता प्रेस स्वतन्त्रता र मिडिया व्यवसाय सञ्चालनविरोधी क्रियाकलापप्रति कोही पनि मूकदर्शक बन्नुहुँदैन । अराजकता, हिंसात्मक चेतावनी, हुलहुज्जतजस्ता क्रियाकलाप मिडिया क्षेत्रलाई बदनाम गर्ने भएकाले कसैलाई पनि नगर्न हामी सचेत गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ । आजको खुला परिवेशमा आफ्ना मागलाई सम्बद्ध पक्षसँग राख्नु, वार्ता तथा छलफल गर्नु, त्यसबाट पनि समाधान नभए कानुनी रूपमा पीडित पक्षले उपचार खोज्ने विकल्पमा जानुपर्ने स्वाभाविक बाटो भए पनि भौतिक रूपमा प्रकाशनको वितरणमा अवरोध गर्ने, च्यात्ने, आफ्नै घर लग्ने, सार्वजनिक रूपमा बदनाम गर्ने गरी थुपार्नेजस्ता कार्यले व्यवस्थापन तथा आन्दोलनरत पक्षबीच झनै अविश्वास तथा मनमुटावको वातावरण सिर्जना गर्ने विज्ञप्तिमा जनाइएको छ ।
सोसाइटी र आनले असम्बन्धित पक्षले मिडिया हाउसभित्रको समस्यामा हात हालेर स्थितिलाई तनावपूर्र्ण बनाउने कार्य कुनै पनि हिसाबले सह्य हुन नसक्ने स्पष्ट पारेको छ । अहिले देखिएको समस्या समाधान गर्न कान्तिपुर पब्लिकेसन्स र आन्दोलनरत पक्षले व्यावहारिक तथा कानुनी बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।