१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:२२:oo
Read Time : > 8 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

देशभर २३३ स्वास्थ्य उपकरण बेवारिसे

Read Time : > 8 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२२:oo

श्वास फेर्न गाह्रो हुँदा अपरिहार्य भेन्टिलेटरदेखि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने मोबाइल थर्मोकोगुलेटरसम्मका महत्वपूर्ण उपकरण थन्किए महामारीका वेला दाताहरूबाट अनुदानमा प्राप्त र सरकारले किनेका स्वास्थ्य उपकरण प्रयोगहीन बन्दा बिरामीलाई सास्ती

थन्किएका १३ मेसिन जिल्लाबाट फिर्ता ल्याउने स्वास्थ्य सेवा विभागको तयारी

कोरोना महामारीका वेला दाताहरूबाट अनुदानमा प्राप्तसमेत गरेर देशभर करोडौँ मूल्यका दुई सय ३३ स्वास्थ्य उपकरण प्रयोगविहीन पारेर थन्क्याइएका छन् । जसमा श्वास फेर्न गाह्रो हुँदा अपरिहार्य भेन्टिलेटरदेखि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने मोबाइल थर्मोकोगुलेटरसम्मका महत्वपूर्ण उपकरण छन् । 

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाको तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा २० प्रकारका दुई सय ३३ उपकरण प्रयोगविहीन छन् । अधिकांश मेसिन कोभिड महामारीको समयमा पठाइएका छन् । जसमा भेन्टिलेटर ९१, भेन्टिलेटरमै प्रयोग हुने बिप्याप मेसिन १९ थान र श्वास–प्रश्वासका बिरामी सुत्ने समयमा अक्सिजनको चाप नियन्त्रणमा राख्न प्रयोगमा आउने सिपिएपी मेसिन १६ थान छन् । आवश्यक जनशक्ति र राख्ने ठाउँ अभाव तथा कतिपय बिग्रिएपछि मर्मत नहुँदा प्रयोगविहीन बनेको विभागको भनाइ छ ।

स्वास्थ्य सेवा विभागले अस्पतालमा लामो समयदेखि थन्किएका उपकरण फिर्ता ल्याउने तयारी गरिरहेको जनाएको छ । ‘लामो समयदेखि प्रयोगविहीन भएका उपकरणको खोजी भइरहेको छ । त्यस्ता मेसिन खोजेर आवश्यक पर्ने अन्य अस्पतालमा पठाउने प्रयत्न भइरहेको छ,’ विभागअन्तर्गतको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले भने ।

तरल पोषक तत्व वा औषधिहरू बिरामीको शरीरमा नियन्त्रित मात्रामा पुर्‍याउन प्रयोगमा ल्याइने इन्फ्युजन पम्प १५ थान र मानव तन्तुको जाँच गर्ने, विशेषगरी पाठेघरको मुखको क्यान्सर स्क्रिनिङलगायत रोग परीक्षणमा प्रयोग हुने मोबाइल थर्मोकोगुलेटर १३ थान थन्किएका छन् । त्यस्तै, बिरामीको फोक्सोमा आवश्यकताका आधारमा अक्सिजन आपूर्ति गर्न आवश्यक एनेस्थेसिया वर्कस्टेसन र मिर्गौला फेल भएका बिरामीमा रगत फिल्टरका लागि प्रयोग गरिने हेमोडायलाइसिस मेसिन ११–११ थान प्रयोगविहीन बनेका छन् । 

त्यस्तै, मुटुको धड्कन वा चाल मापन गर्ने इसिजी मेसिन १० थान, भाइरस, ब्याक्टेरिया, फंगललगायत मार्न प्रयोग गरिने अटोक्लेभ मेसिन आठ थान र हड्डी भाँचिएको, ट्युमर, निमोनियालगायत समस्या पत्ता लगाउने एक्सरे मेसिन सात थान बेबारिसे छन् । सिरिन्जबाट रगत निकालेर अक्सिजन, कार्बनडाइअक्साइड र पिएचको दबाब पत्ता लगाउने ब्लड ग्यास एनालाइजर र शरीरका भित्री अंगमा भएको समस्या पहिचान गर्न प्रयोग गरिने इन्डोस्कोपी मेसिन पाँच–पाँच थान प्रयोगविहीन बनेका छन् । 

त्यस्तै, शरीरमा दुखाइ, सुन्निएको र विभिन्न संक्रमण पत्ता लगाउन प्रयोग गरिने पोर्टेबल युएसजी मेसिन, छालामा अल्ट्राभाइलेट रेको माध्यमबाट उपचारमा प्रयोग हुने फोटोथेरापी मेसिन र नवजात शिशुलाई न्यानो बनाउन प्रयोगमा ल्याइने बेबी वार्मर चार–चार थान थन्किएका छन् । 

बिरामीको शरीरको तापक्रम, मुटुको धड्कन, रक्तचाप आदि नाप्न प्रयोग गरिने प्यासेन्ट मोनिटर तीन थान तथा पाठेघर र योनिको जाँचमा आवश्यक कोल्पोस्कोप मेसिन, छाती र स्तनको क्यान्सरका बिरामीको रेडियोथेरापी गर्दा मुटुमा रेडियसनको असर कम गर्न चाहिने एबिसी मेसिन र नमुना परीक्षणका लागि ल्याबमा चाहिने न्युक्लिक एसिड एक्स्ट्र्याक्सन मेसिन दुई–दुई थान प्रयोगविहीन बनेका छन् । त्यस्तै, एक्सरे मेसिनसँगै प्रयोगमा ल्याइने एक थान सी आर्म मेसिन पनि बेवारिसे छ । 

कोभिडको संक्रमण घटेपछि सेतीका भेन्टिलेटर प्रयोगविहीन
कोभिड– १९ को संक्रमण घटेसँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना वार्ड र त्यहाँ जडान गरिएका दुई भेन्टिलेटर प्रयोगविहीन छन् । अस्पतालका अनुसार गत वैशाखसम्म कोभिड संक्रमित भर्ना भएकाले भेन्टिलेटर प्रयोगमा थिए । कोभिड संक्रमित नभएपछि अहिले कोरोना वार्ड र त्यहाँ जडान गरिएका भेन्टिलेटर प्रयोगमा नरहेका अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए । ‘जटिल समस्या भएका संक्रमित आएमा उपचारका लागि कोरोना वार्डमा दुई भेन्टिलेटर तयारी अवस्थामा छन्,’ उनले भने ।

विगतमा कोभिड 
संक्रमणका वेला नेपाल सरकार, प्रदेश सरकार र दातृ निकायबाट प्राप्त गरी डेढ दर्जन भेन्टिलेटर अहिले प्रयोगमा रहेका अस्पतालले जनाएको छ । सूचना अधिकारी उपाध्यायले प्राप्त भेन्टिलेटर १५ शड्ढयाको सघन उपचार कक्षमा जडान गरेर प्रयोग भइरहेका बताए ।

कोभिड संक्रमण भयावह भएपछि सेतीलाई प्रदेशकै विशेष अस्पताल तोकिएको थियो । त्यसवेला सरकार र दातृ निकायले भेन्टिलेटर, अक्सिजन सिलिन्डरलगायत उपकरण र सामग्री सहयोग गरेका थिए । 

१३ मेसिन फर्काउने तयारी, सात थान फर्काइयो
विभिन्न अस्पतालमा थन्किएर बसेका उपकरणमध्ये १३ थान मेसिन आवश्यक रहेका अस्पतालमा पठाउने तयारी गरिएको छ । पाटन अस्पतालले सातवटा भेन्टिलेटर, भक्तपुर अस्पताल र पाटन अस्पतालले एक–एकवटा एनेस्थेसिया वर्क स्टेसन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एउटा एबिसी मेसिन, भक्तपुर अस्पतालले एउटा अटोमेटेड इन्डोस्कोप र प्युठान जिल्ला अस्पतालले एउटा सिटिआरटी मेसिन फिर्ता पठाउने तयारी गरेका हुन् । 

त्यस्तै, सात थान मेसिन आवश्यक रहेका अस्पताललाई दिइएको छ । नारायणी अस्पतालबाट एउटा सिटी स्क्यान मेसिन कोसी अस्पताल पठाइएको छ । सेती प्रादेशिक अस्पतालबाट एउटा सिटिआरटी मेसिन वीर अस्पतालमा पठाइएको छ भने अर्को एपिएफ अस्पतालबाट मानव अंग प्रत्यारोपणमा पठाइएको छ । 

एउटा एनेस्थेसिया मेसिन भक्तपुर अस्पतालबाट कान्ति अस्पताल पठाइएको छ भने एउटा इआरसिपी मेसिन कोसी अस्पतालबाट भरतपुर अस्पताल पुर्‍याइएको छ । त्यस्तै, प्लेटलेट्स एफ्रेसिस मेसिन एउटा नारायणी अस्पतालबाट भरतपुर अस्पतालमा र एउटा भेरी अस्पतालबाट सुशील कोइराला क्यान्सर अस्पताललाई पठाइएको छ । 

कुन मेसिन, कहाँ कति प्रयोगविहीन ? 

२२ स्वास्थ्य संस्थामा ९१ भेन्टिलेटर
देशभरका २२ स्वास्थ्य संस्थामा ९१ भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा सबैभन्दा धेरै १९ भेन्टिलेटर थन्किएका छन् । बिग्रिएका मर्मत गर्न नसक्दा १२ तथा सद्धे भएर पनि जनशक्ति अभावमा थप सात थान प्रयोगविहीन बनेका हुन् । त्यस्तै, काठमाडौंस्थित हेल्थ इन्भाइरोमेन्ट क्लाइमेट एन्ड एक्सन फाउन्डेसनमा १५ वटा भेन्टिलेटर आवश्यकताविना नै थन्किएका छन् । झापाको दमक अस्पतालमा भवन अभावमा आठ थान तथा ललितपुरको पाटन अस्पतालमा स्पेसिफिकेसनअनुसार म्याच नभएर सात थान थन्किएका छन् । 

त्यस्तै, चितवनको भरतपुर अस्पताल (प्रयोग गर्ने तयारीमा), सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल, प्रादेशिक अस्पताल जनकपुर (मर्मत अभावमा) र काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज (जडान नगरेर)मा पाँच–पाँच थान प्रयोगविहीन छन् । इलाम जिल्ला अस्पताल (जनशक्ति अभावमा), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिग्रिएर) र काठमाडौंको टेकु अस्पतालमा तीन–तीन थान बेवारिसे बनेका छन् । त्यस्तै, काठमाडौंकै सिभिल अस्पतालमा दुई थान आइसियू भेन्टिलेटर जडानका लागि आवश्यक थप सामग्री अभावमा थन्किएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पनि दुई थान भेन्टिलेटर प्रयोगविहीन छन् । 

अछामको बयलपाटा अस्पताल (बिग्रिएर), अछामकै छेडगाड नगरपालिका (जडान नगरिएको), डडेल्धुरा अस्पताल (जनशक्ति अभावमा), डडेल्धुराकै जोडबुढा अस्पताल (भवन अभावमा), गौतमबुद्ध अस्पताल (आवश्यक सामग्री अभावमा), काठमाडौंको मनमोहन कार्डियोथोरासिक सेन्टर (आवश्यक सामग्री नभएर), जाजरकोटको नलगाँड नगरपालिका (जडान नगरिएको), सोलुखुम्बु जिल्ला अस्पताल (बिग्रिएर) र उदयपुर जिल्ला अस्पताल (बिग्रिएर)मा एक–एक थान भेन्टिलेटर प्रयोगविहीन छन् । 

सात स्वास्थ्य संस्था/पालिकामा १९ बिप्याप मेसिन
भेन्टिलेटर मेसिनमै प्रयोग हुने बिप्याप मेसिन सात स्वास्थ्य संस्थामा १९ थान प्रयोगविहीन छन् । सबैभन्दा धेरै जिल्ला अस्पताल बझाङमा सात थान छन् । त्यस्तै, जिल्ला अस्पताल ओखलढुंगा र जिल्ला अस्पताल रोल्पामा तीन–तीन थान प्रयोगमा छैनन् । जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल पाँचथरमा दुई–दुई थान तथा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका र स्याङ्जाको छापाकोट नगरपालिकामा एक–एक थान प्रयोगविहीन छन् । 

आठ स्वास्थ्य संस्था/पालिकामा १६ सिपिएपी मेसिन
श्वासप्रश्वासमा समस्या भएका व्यक्तिमा खासगरी सुत्ने समयमा हावाको चाप नियन्त्रणमा राख्न प्रयोगमा ल्याइने सिपिएपी मेसिन आठ स्वास्थ्य संस्था र पालिकामा गरी १६ थान प्रयोगविहीन छन् । जसमध्ये काभ्रेको मेथिनकोट अस्पताल र सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चार–चार थान, बझाङ जिल्ला अस्पतालमा तीन थान तथा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, मोरङको मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टर, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका, पाँचथर जिल्ला अस्पताल र पर्साको पोखरिया अस्पतालमा एक–एक थान थन्किएका छन् । 

आठ स्वास्थ्य संस्था/पालिकामा १५ इन्फ्युजन पम्प
तरल पदार्थहरू, जस्तै : पोषक तत्व वा औषधिहरू बिरामीको शरीरमा नियन्त्रित मात्रामा पुर्‍याउन प्रयोगमा ल्याइने इन्फ्युजन पम्प आठ स्वास्थ्य संस्थामा १५ वटा प्रयोगविहीन बनेका छन् । 

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल र गुल्मीको तम्घास अस्पतालमा चार–चार थान, काभ्रेको मेथिनकोट अस्पतालमा दुई थान तथा काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल, रोल्पाको सुनीलस्मृति गाउँपालिका, रोल्पाकै परिवर्तन गाउँपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका र रुपन्देहीको ओमसत्य गाउँपालिकामा एक–एक थान प्रयोगविहीन छन् । 

नौ स्वास्थ्य संस्थामा १३ मोबाइल थर्मोकोगुलेटर
पाठेघरको क्यान्सर तथा मानव तन्तुमा रहेका घाउको उपचारमा प्रयोगमा ल्याइने मोबाइल थर्मोकोगुलेटर मेसिन पनि जनशक्ति र अन्य आवश्यक उपकरण अभावमा अस्पतालहरूमा थन्किएका छन् । तनहुँ जिल्ला अस्पताल दमौलीमा दुई थान प्रयोगविहीन भएकामा उदयपुर जिल्ला अस्पताल, क्षेत्रपाटी परिवार कल्याण सेन्टर, मोरङको कानेपोखरी गाउँपालिका, जिल्ला अस्पताल रसुवा, गोकुलेश्वर अस्पताल, सर्लाहीको हरिवन नगरपालिका, स्वास्थ्य कार्यालय काठमाडौं, हेटौँडा अस्पताल, मोरङको मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टर, इलाम जिल्ला अस्पताल र संखुवासभाको खाँदबारी नगरपालिकामा एक–एक थान थन्किएका छन् । 

दुई अस्पतालमा ११ हेमोडायलाइसिस मेसिन
डडेल्धुरा अस्पतालमा मेसिन राख्ने ठाउँ नभएर पाँच थान तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ थान हेमोडायलाइसिस मेसिन प्रयोगविहीन छन् । मिर्गौला फेल भएका बिरामीमा रगत फिल्टरका लागि यो मेसिन आवश्यक पर्छ । 

नौ अस्पतालमा ११ एनेस्थेसिया वर्क स्टेसन थन्किए 
मेसिन सञ्चालनमा ल्याउन आवश्यक पर्ने केमिकल रेडिजेन्ट र मर्मत अभावमा विभिन्न अस्पतालमा एनेस्थेसिया वर्क स्टेसनसमेत लामो समयदेखि प्रयोगविहीन छन् । बिरामीको फोक्सोमा आवश्यकताका आधारमा अक्सिजन आपूर्ति गर्न एनेस्थेसिया वर्क स्टेसन प्रयोगमा ल्याइन्छ । राष्ट्रिय ट्रमा सेन्टर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई–दुई थान तथा एपिएफ युनिफाइड अस्पताल, भक्तपुर अस्पताल, कोसी अस्पताल, भेरी अस्पताल, मेची अस्पताल, पाटन अस्पताल र टेकु अस्पतालमा एक–एक थान थन्किएका छन् । 

नौ स्वास्थ्य संस्था/पालिकामा १० इसिजी मेसिन अलपत्र
मुटुको धड्कन वा चाल पत्ता लगाउन प्रयोग गरिने इसिजी मेसिन खोटाङको साकेला गाउँपालिकामा दुई थान प्रयोगविहीन बनेका छन् । त्यस्तै, पर्वतको कुस्मा स्वास्थ्य चौकी, डडेल्धुरा अस्पताल, दाङको बंगलाचुली गाउँपालिका, खोटाङको बराहपोखरी गाउँपालिकामा बन्दै गरेको आधारभूत अस्पताल, सुर्खेतको बाह्रताल गाउँपालिकाको आधारभूत अस्पताल, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल, नुवाकोटको किप्साङ गाउँपालिका र धादिङको सलाङ स्वास्थ्य चौकीमा एक–एक थान मेसिन थन्किएका छन् । 

आठ स्वास्थ्य संस्था/पालिकामा आठ अटोक्लेभ मेसिन
भाइरस, ब्याक्टेरिया, फंगललगायत जीवाणु मार्न प्रयोग गरिने अटोक्लेभ मेसिन काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर, दाङको भालुवाङ अस्पताल, भरतपुर महानगर, दमकौली प्राथमिक स्वास्थ्य चौकी, कीर्तिपुरको विष्णुदेवी अस्पताल, बर्दियाको राजपुर नगरपालिका र ठाकुरबाबा नगरपालिका तथा वालिङ प्राथमिक स्वास्थ्य चौकीमा एक–एक थान अटोक्लेभ प्रयोगविहीन छन् । 

चार स्वास्थ्य संस्था/पालिकामा सात एक्सरे मेसिन 
बर्दियाको बारबर्दिया नगरपालिकाको आधारभूत अस्पतालमा तीन थान तथा रौतहटको गंगापिपरा प्राथमिक स्वास्थ्य चौकी, दाङको बबई गाउँपालिका, धनकुटाको पाख्रीवास आधारभूत अस्पताल र पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक–एक थान एक्सरे मेसिन प्रयोगमा छैनन् । 

पाँच स्वास्थ्य संस्थामा पाँच ब्लड ग्यास एनालाइजर प्रयोगविहीन
सिरिन्जबाट रगत निकालेर अक्सिजन, कार्बनडाइअक्साइड र पिएचको दबाब पत्ता लगाउन प्रयोग गरिने ब्लड ग्यास एनालाइजर इलाम जिल्ला अस्पतालमा दुई थान तथा सेती प्रादेशिक अस्पताल, मेची अस्पताल र डडेल्धुरा अस्पतालमा एक–एक थान प्रयोगविहीन बनेका छन् । 

पाँच अस्पतालमा पाँच इन्डोस्कोपी मेसिन थन्किए 
झापाको मेची अस्पताल, लमजुङ जिल्ला अस्पताल, भक्तपुर अस्पताल, सिभिल (नागरिक) अस्पताल, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा एक–एक थान इन्डोस्कोपी मेसिन थन्किएका छन् । यो मेसिनको सहयोगबाट शरीरभित्रका अंगहरूको अवस्था पहिचान गरिन्छ । 

बेबी वार्म, फोटोथेरापी र पोर्टेबल युएसजी चार–चार थान प्रयोगविहीन 
एनआइसियू सेवा नै सञ्चालनमा नरहेको काभ्रेको मेथिनकोट अस्पतालमा नवजात शिशुलाई न्यानो बनाउन चाहिने चार थान बेबी आर्मर प्रयोगमा छैनन् । त्यस्तै, मेथिनकोट अस्पतालमै एआइसियूमा प्रयोग गरिने दुई थान फोटोथेरापी मेसिन पनि प्रयोगमा आएका छैनन् । यो मेसिन अर्घाखाँची जिल्ला अस्पताल र अर्घाखाँचीकै छत्रदेव गाउँपालिकामा पनि एक–एक थान प्रयोगविहीन छन् । शरीरमा दुखाइ, सुन्निएको वा विभिन्न संक्रमण पत्ता लगाउन प्रयोग गरिने पोर्टेबल युएसजी मेसिन पर्साको बहुर्दमाई नगरपालिकास्थित आधारभूत अस्पताल, डोल्पाको जगदुल्ला गाउँपालिका, रोल्पाको परिवर्तन गाउँपालिका र काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा एक–एक थान प्रयोगमा छैनन् । 

तीन अस्पतालमा तीन प्यासेन्ट मोनिटर प्रयोगमा आएनन्
दाङको बंगलाचुली गाउँपालिकामा स्वास्थ्य जनशक्ति अभावमा तथा सुर्खेतको बाह्रताल गाउँपालीकाको आधारभूत अस्पतालमा रोल्पाको परिवर्तन गाउँपालिकामा भवन अभावमा एक–एक थान प्यासेन्ट मोनिटर थन्किएका छन् । यो मेसिन शरीरको तापक्रम, मुटुको धड्कन, रक्तचाप आदी नाप्न प्रयोग गरिन्छ । 

एबिसी, न्युक्लिक एसिड एक्स्ट्र्याक्सन र कोल्पोस्कोप मेसिन दुई–दुई थान थन्किए
छाती र स्तनको क्यान्सरका बिरामीको रेडियोथेरापीका क्रममा मुटुमा रेडियसनको असर कम गर्न प्रयोगमा ल्याइने एबिसी मेसिन दुई थान थन्किएका छन् । मर्मत अभावमा नारायणी अस्पतालमा र आवश्यकताविना नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक–एक थान प्रयोगविहीन बनेका छन् । 

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रादेशिक अस्पतालमा दक्ष जनशक्ति अभावमा एक–एक थान न्युक्लिक एसिड एक्स्ट्र्याक्सन मेसिन थन्किएका छन् । यो मेसिन नमुना परीक्षणका लागि ल्याबमा प्रयोगमा आउँछन् । 

पाठेघर र योनिको जाँचमा प्रयोग गरिने कोल्पोस्कोप मेसिन पनि दुई थान प्रयोगविहीन छन् । कोसी अस्पतालमा दक्ष जनशक्ति नहुँदा र सेती प्रादेशिक अस्पतालमा मर्मत अभावमा थन्किएका हुन् । 

एउटा सी आर्म मेसिन थन्कियो
काठमाडौंको वीर अस्पतालमा एउटा सी आर्म मेसिन प्रयोगमा आएको छैन । अर्थोपेडिक सर्जरीका लागि छुट्टै अप्रेसन थियटर उपलब्ध नहुँदा प्रयोगमा नआएको हो । यो मेसिन एक्सरे मेसिनसँगै प्रयोगमा ल्याइन्छ । 

मर्मत गर्न नसक्दा भेरी अस्पतालका १२ भेन्टिलेटर गोदाममा थन्किए, नबिग्रिएका १३ मध्ये पनि ६ वटा मात्रै सञ्चालनमा

बाँके/नेपालगन्जस्थित भेरी अस्पतालको आइसियू कक्षमा रहेका २५ मध्ये १२ भेन्टिलेटर बिग्रिएर थन्किएका छन् । कोभिड– १९ को महामारीमा दाताबाट प्राप्त पाँचवटै र सरकारले खरिद गरेका २० मध्ये सात गरी १२ वटा भेन्टिलेटर थन्किएको भेरी अस्पताल, एनेस्थेसियोलोजी एवं क्रिटिकल केयर विभागका कन्सल्टेन्ट डा. पारस पाण्डेले बताए ।

‘भेन्टिलेटर थन्किएर बस्दा उपचारमा समस्या त भइरहेको छ । तर, मर्मतका लागि बजेटको पर्खाइमा छौँ, बजेट हुनेबित्तिकै सरकारी कोषबाट किनेका भेन्टिलेटर मर्मत गर्छौँ,’ उनले भने । तर, दाताबाट प्राप्त भेन्टिलेटरको वारेन्टी र ग्यारेन्टी कार्ड नभएकाले मर्मत गर्न नसकिएको भेरी अस्पतालले जनाएको छ । ‘बिग्रिएका भेन्टिलेटर बनाउन धेरै ठूलो रकम लाग्छ । वारेन्टी र ग्यारेन्टी भएको भए मर्मत गर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘बिग्रिएका भेन्टिलेटर मर्मत गर्न नसकेर गोदाममा थन्क्याउनुपरेको छ ।’

भेरीमा नबिग्रिएका १३ वटा भेन्टिलेटरमध्ये पनि ६ थान मात्र सञ्चालनमा छन् । आइसियूको मापदण्डअनुसार एक बिरामीबराबर एक स्टाफ नर्स हुनुपर्ने हो । तर, ६ बिरामीलाई दुई स्टाफ नर्सले हेर्नुपर्ने बाध्यता रहेको पाण्डेले सुनाए । ‘आइसियूमा भेन्टिलेटर राख्ने ठाउँ छ । आवश्यक भेन्टिलेटर पनि हामीसँग छ, तर जनशक्ति छैन,’ उनले भने, ‘चाहेर पनि भेन्टिलेटर सञ्चालन गर्न सकिएको छैन ।’

अस्पताल प्रमुख डा. बद्री चापागाईंले अस्पतालको आइसियूमा जनशक्ति र बेड अभाव भएकाले बिरामीलाई सेवा दिन नसकिएको बताए । ‘आइसियूका १५ मध्ये ९० प्रतिशत बेड भरिभराउ हुन्छन् । नयाँ बिरामीले बेड पाउन कि पुराना निको हुनुपर्‍यो, कि रिफर भएर अन्यत्र जानुपर्ने हुन्छ,’ उनले भने ।

ad
ad