१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
​​​​​​​अमर बमकी पत्नी ३४ वर्षीया धनिशा र बुबा ७२ वर्षीय कर्णबहादुर
२o८१ जेठ १२ शनिबार o६:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

विवाह गरेको १५ दिनमा घर छाडेका थिए अमरले, भेटिने आसमा छिन् पत्नी धनिशा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o६:२५:oo

राष्ट्रपति, प्रधानमन्त्री भेट्न खेत बेचेर २१ पटक काठमाडौं धाए वृद्ध बा

उता युएईमा मृत्युदण्डको सजाय सुनाइएका अमर बम २० वर्षसम्म जेलमा छन्, यता उनकी श्रीमती ३४ वर्षीया धनिशा बम अझै पनि श्रीमान् फर्किने आशामा कुरिरहेकी छिन् । विवाह गर्दा धनिशा १४ वर्षको मात्रै थिइन् । घरपरिवारको भविष्य सोचेर अमर विवाह गरेको १५ दिनमै भारतको दिल्ली पुगेका थिए । त्यसअघिदेखि नै उनी दिल्लीमा ट्याक्सी चलाउँथे । वर्ष दिनमा घर फर्किने र सबै ऋण तिरेर नयाँ जीवन सुरुवात गर्ने बाचा धनिशासँग गरेका थिए । 

तर, सन् २००३ मा अचानक परिवारसँग सम्पर्कविहीन बनेका उनी दुबईको जेलमा परेको पछि मात्रै थाहा भयो । सन् २००७ मा त्यहाँको न्यायालयले उनलाई मृत्युदण्डको सजाय तोकेको पनि परिवारले थाहा पायो । 

नयाँ घर बनाउन पैसा कमाउने भनेर घर छाडेका अमर फर्किएनन्, घर पनि नयाँ बनेन । अब धनिशाको एउटै आस छ, विवाहपछि सँगै जीवन बिताउन नपाए पनि अब चाँडै जिउँदो फर्किन पाऊन् र बाँकी जीवन सुखमय बनाउन पाऊँ । उनले अमर सुत्ने कोठामा भगवान्का मूर्ति राखेर पूजा गर्ने गरेकी छिन् । ‘श्रीमान्को याद आउँदा फोटो हेर्छु,’ उनले भनिन्, ‘रातदिन श्रीमान्को न्यायका लागि प्रार्थना गरिरहेकी छु ।’ 

अमरले घरमा फोन गरिरहन्छन् । छिट्टै फर्किने सपना पनि देखाइरहेका छन् । ‘एक–दुई महिनामा फोन÷भिडियो कल आउँछ । न्याय पाएर छिट्टै फर्किन्छु भन्नुहुन्छ,’ धनिशाले भनिन्, ‘श्रीमान्को लामो आयुको कामना गर्दै साउनमा हरियो चुरा लगाएर बसेकी छु, उहाँ आउने बाटो कुरिरहेकी छु ।’ 

धनिशालाई ७२ वर्षीय ससुरा कर्णबहादुर बमले ढाडस दिएका छन् । छोराको रिहाइका लागि गाउँमा भात खाने खेत बेचेर २१ पटक काठमाडौं धाइसकेका छन् । दुईपटक त धनिशा पनि ससुरासँगै काठमाडौं पुगेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री बाबुराम भट्टराई तथा त्यसपछिका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर श्रीमान्को रिहाइका लागि पहल गरिदिन अनुनय गरिन् । 

‘हरेकपटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री र मन्त्रीलाई भेटेर छोराको रिहाइका लागि अनुरोध गर्दै आएको छु,’ कर्णबहादुरले भने, ‘उमेरले अब हिँडडुल गर्न सक्दिनँ । तैपनि एकपटक फेरि ऋण काढेर अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेटेर बिन्ती बिसाउने मन छ । कोही बाहिरबाट आएर अमरको घर सोध्दा छोरा फर्किन्छ कि भन्ने आशा पलाउँछ ।’ 

जेलभित्रबाट अमरको बिलौना–भाषाको समस्याले अदालतमा आफ्ना कुरा सुनाउनै सकिनँ 

भारतको राजस्थानमा ड्राइभरको काम गर्थेँ । ट्रकमा मार्बल ओसारपसार गर्थेँ । त्यही क्रममा एक धनाढ्यसँग भेट भयो । उनी मलाई ‘राम्रो काम गर्छौ’ भन्दै स्याबासी दिने गर्थे । एक दिन उनले मेरो पारिश्रमिक सोधे । थोरै सुनेपछि उनले मलाई ‘महिनाको २० हजार तलब दिन्छु’ भनेर अफर गरे । 

धेरै कमाइने भएपछि म पनि उनले भनेको काम गर्न तयार भएँ । उनले तुरुन्त घर गई पासपोर्ट बनाएर आउन भने । म केही दिनमै पासपोर्ट बनाएर दिल्ली पुगेँ । उनले मलाई २००२ डिसेम्बर अन्तिम साता आफूसँगै दुबई ल्याए । मलाई ड्राइभरको काम गर्नुपर्ने उनले बताएका थिए । 

दुबई पुगेपछि उनले मलाई भारतीय नागरिक मनोज मुदाना र करनसिंह राजपुतको जिम्मा लगाइदिए । म उनीहरूको गाडी चलाउँथेँ । उनीहरूलाई भनेको ठाउँमा लैजानु मेरो ड्युटी थियो । उनीहरू दैनिकजसो इन्डियन क्लब जान्थे । गाडी रोकाएर मलाई बाहिरै कुराउँथे । १९ जनवरी २००३ को दिन उनीहरू सधैँझैँ क्लबभित्र छिरे । म बाहिरै गाडी कुरिरहेको थिएँ । करिब आधा घन्टामा उनीहरू हडबडिँदै आए । गाडीमा फटाफट पसे र मलाई छिटो दौडाउन इसारा गरे । हामी डेरा पुग्यौँ । उनीहरू हतारिएर सामान प्याक गर्न थाले । मलाई ‘यहाँ तिम्रो कोही छ’ भनेर सोधे । मैले छैन भनेँ । अनि उनीहरूले आफू भारत फर्कन लागेको भन्दै मलाई ‘चिनजानेको मान्छेकोमा गएर बस’ भने । 

दुबईमा कोही चिनेका थिएनन् । त्यसैले म उनीहरूसँगै जान्छु भनेँ । उनीहरू हडबडाएका, हतारिएका र अत्तालिएका थिए । उनीहरूले पक्कै कुनै बदमासी गरेको हुनुपर्छ भन्ने मलाई चिसो पस्यो । तैपनि सोध्न सकिनँ । उनीहरूले पछि आफैँ ‘हामीहरूले मान्छे मारेका छौँ, त्यसैले तिमी हामीसँग नहिँड’ भने । 

म धेरै रोएँ । कुन दशाले आएछु भनेर मनमन आफैँलाई धिक्कारेँ । तैपनि मेरो कुनै उपाय थिएन । उनीहरूलाई छाडेपछि कहाँ जाने ? त्यही भएर उनीहरूको साथ नछाड्न बाध्य भएँ ।

उनीहरूको आफ्नै क्रुज (सानो पानीजहाज) रहेछ । जनवरी २५ तारिख सारजहाँबाट त्यसमै चढेर अर्को देशतिर भाग्ने तय भयो । त्यसकै स्टाफका रूपमा मेरो पास बनाइदिए । क्रुज चढ्न त्यहाँ पुग्नासाथ प्रहरीले हामी सबैलाई पक्राउ गर्‍यो ।

प्रहरीले हिरासतमा मलाई धेरै निर्मम यातना दियो । म पनि मर्छुजस्तै लाग्यो । मैले उनीहरूले लगाएको आरोप नस्विकारेसम्म यातना दिए । बाध्य भएर मैले आरोप स्विकारेँ । त्यसपछि यातना दिएनन् । अदालतमा यातनाको कुरा भन्न मन थियो । तर, भाषाको समस्याले बताउन सकिनँ । लाँदै, हाजिर गराउँदै, फर्काउँदै गर्थे । त्यत्तिकैमा मृत्युदण्डको फैसला पो आयो । (जेलमा रहेका अमर बमसँग टेलिफोनमा गरिएको कुराकानी)

ad
ad