१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १८:o७:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा धमाधम सुक्दै चापाकल, खानेपानीको हाहाकार

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १८:o७:oo

खडेरीका कारण पानीको स्रोत सुकेपछि सर्लाहीमा खानेपानीको अभाव चुलिएको छ। साउन लागिसक्दासमेत जिल्लामा राम्रोसँग वर्षा नहुँदा पानीका स्रोत सुक्ने क्रम रोकिएको छैन।

जिल्लाको बागमती नगरपालिका– ३ धरहरामा गाउँभरिकै चापाकल सुकेपछि स्थानीय प्राविधिक बोलाएर पानीको खोजीमा जुटेका छन्। गत वैशाखसम्म पानी आइरहेको चापाकलहरू अहिले धमाधम सुकिरहेकाे स्थानीय वीरबहादुर वाइबाले बताए।

चापाकल सुक्न थालेपछि पानीको हाहाकार भएको मलंगवा नगरपालिका–२ का स्थानीय राजेश्वर राउतले बताए। पानी आइरहेका चापाकलबाट समेत पहिलेजस्तो पानी आउन छाडेको उनले सुनाए। गाउँका केही चापाकलमा मात्र पानी आएका कारण सबैले एकै ठाउँबाट पानी भर्ने गरिरहेका छन्। अहिलेसम्म कहिल्यै पानीको समस्या नभएको गाउँमा एकाएक चापाकल सुक्न थालेपछि स्थानीय चिन्तित भएका छन्।

हरिवन नगरपालिका–८ निवासी अर्जुन दाहालले केही दिन पहिले मात्र खानेपानीको धारा जोडेका थिए। वर्षाैँदेखि पानी पिउँदै आएको आँगनीको चापाकल देखाउँदै उनले भने, ‘धन्न गाउँमा धाराको सुविधा छ। त्यही पनि नभएको ठाउँका नागरिकले कसरी पानी खाएका होलान?’ यद्यपि, धाराबाट जोडेको पानी चापाकलकोजस्तो भने नहुने उनको भनाइ थियो।

जिल्लाको उत्तरी क्षेत्रमा पानीको स्रोतको रूपमा कुवा तथा इनार प्रयोग हुँदै आइरहेको छ भने दक्षिणी क्षेत्रमा चापाकलको भर छ। ‘केही वर्ष पहिलासम्म १५ देखि २० फिटमै पानीको स्रोत फेला पर्ने गरेको ठाउँमा अहिले सयौँ फिट तलसम्म पानी फेला पर्दैन,’ चापाकल गाड्ने प्राविधिक सर्लाहीको हरिवन निवासी मिजल खानले भने, ‘गत दुई-तीन महिनायता चापाकल सुकेर फोन गर्नेहरू धेरै छन्।’ 

आफूहरू दैनिक पानीको खोजीमा निस्कने गरेको प्राविधिकहरू बताउँछन्। त्यसमध्ये निकै कम ठाउँमा थोरै मात्र पानी भेटिने गरेको छ। सबैतिर पानीको सतह तलतिर सरेको चापाकल प्राविधिक बिकाउ महतोले बताए। केही वर्षदेखि पर्याप्त वर्षा नभएका कारण जमिनमा पानी सुक्दै गएको उनको भनाइ छ।

चापाकल सुक्न थालेपछि स्थानीयले घण्टौँ धाएर पानीको जोहो गर्नुपर्ने अवस्था आएको छ। जिल्लाको चुरे क्षेत्रमा त झनै खानेपानीको चरम अभाव हुन थालेको छ। हरिवन नगरपालिका– १ स्थित वनमाराका स्थानीयले खानेपानीको ठूलो समस्या भोग्नुपरिरहेको गुनासो गरेका छन्। पानीको अभाव भएपछि कोशौँ टाढाका खोला तथा खोल्साबाट धमिलो पानी ल्याएर पिउने गरेको स्थानीय बिमानसिंह तामाङले बताए। जिल्लाको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाअन्तर्गत चुरे क्षेत्रका नागरिक खानेपानीको चरम अभाव भोग्न बाध्य छन्।

डिभिजन खानेपानी कार्यालयका इन्जिनियर शिवशंकर रौनियारले गाउँ-गाउँमा पानी सुक्ने समस्या बढेको बताए। जमिनमा जथाभावी चापाकल र डिपबोरिङ गर्ने कार्यले थप समस्या भएको उनको भनाइ छ। लगातार पानी पर्ने क्रम रोकिनु, वन क्षेत्रको बढ्दो अतिक्रमण, पानीको स्रोतको संरक्षण नहुनु, चुरे क्षेत्रको चरम दोहन तथा जमिनमुनिको पानीको बढ्दो प्रयोग यसको कारण भएको उनले उल्लेख गरे। ‘जमिनमा भएको पानीको हामीले चरम दोहन गरिरहेका छौँ,’ उनले भने, ‘यसको रिचार्जमा कसैले ध्यान दिएको छैन।’

यो विकराल रूपको संकेत भएको इन्जिनियर रौनियारले बताए। ‘यसतर्फ सबैले ध्यान नदिने हो र बेलैमा यसको व्यवस्थापन नगर्ने हो भने निकट भविष्यमै खानेपानीको चरम हाहाकार हुने निश्चित छ,’ उनले भने। स्थानीय सरकारले पनि पानीको प्राकृतिक स्रोतहरूको संरक्षणमा ध्यान नदिएको उनको भनाइ छ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सर्लाहीमा कुल परिवारको २९.८ प्रतिशत अर्थात् १९ लाख ८२ हजार १८० परिवारले ट्युबेल (चापाकल)बाट पानी पिउने गरेका छन्। २३ हजार ८२७ परिवारले खोला तथा झरनाको र २ लाख ६२ हजार ४४ परिवारले मूलबाट धारामा ल्याएको पानी पिउने गरेका छन्। 

त्यसैगरी, १ लाख ४१ हजार ८५७ परिवारले खुला इनार तथा कुवाको पानी पिउने गरेका छन् भने १ लाख २ हजार २३५ परिवारले व्यवस्थित इनार तथा कुवाबाट पानी पिउँदै आएका छन्। २२.४ प्रतिशत अर्थात् १४ लाख ९० हजार ८ सय ४६ परिवारले सामूहिक धारा र २३ लाख ४ हजार १५ परिवार (३४.६ प्रतिशत)ले व्यक्तिगत धारा जडान गरेर शुद्ध पानी पिउने गरेका छन्।