
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट कागजात मगाइयो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय केजी सुन तस्करी भएको विषयमा भन्सार विभागले पनि छानबिन थालेको छ । यस सम्बन्धमा विभागमा अहिले बैठक चलिरहेको छ ।
विभाग स्रोतका अनुसार सुन पास भएकोसम्बन्धी सबै कागजात विमानस्थल भन्सार कार्यालयबाट मगाइएको छ । सुन पास भएको समय, त्यतिवेला ड्युटीमा रहेका कर्मचारी, पास हुँदाको वस्तुस्थितिलगायतको अध्ययनका लागि सबै कागजात विभागले मगाएको छ । त्यही कागजातका आधारमा कर्मचारी दोषी देखिए प्रकियाबमोजिम कारबाही गर्ने कार्यालयले जनाएको छ ।
विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो ।
प्रारम्भिक अनुसन्धानमा सो सुन व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ छ । मंगलबार साँझ विभागले गरेको गोप्य अप्रेसनमा सुनसहित चारजना पनि पक्राउ परेका छन् ।