१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बन्चरेडाँडावासीसँग तीनबुँदे मौखिक सहमति : फोहोर ढुवानीमा भइरहेको अवरोध हट्यो

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४३:oo

यस्ता छन् सहमति
- फोहोर यथोचित रूपमा व्यवस्थापन गर्ने ।
- फोहोरकै कारण फैलिएको झिँगा व्यवस्थापन गर्ने ।
- बन्चरेडाँडा र सिसडोलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)गर्न बिहीबारनै विज्ञसहितको टोली अनुसन्धानका लागि पठाउने ।

उपत्यकाको फोहोर ढुवानीमा अवरोध गर्दै आएका ल्यान्डफिल साइट बन्चरेडाँडा र सिसडोलका बासिन्दाले आन्दोलन रोकेका छन् । सहरी विकास मन्त्रालयसँग बुधबार तीनबुँदे मौखिक सहमतिपछि उनीहरूले आन्दोलन रोकेका हुन् ।

ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले सहमतिपछि चार दिनदेखि फोहोर ढुवानीमा हुँदै आएको अवरोध हटेको बताए । उनले भने, ‘मन्त्रालयसँगको छलफलमा साथीहरू जानुभएको थियो । छलफलपछि फोहोर बोकेका चार–पाँचवटा फोहोर बोकेका गाडी आइसकेका छन् ।’ 

छलफलमा सहभागी ककनी गाउँपालिका–१ कावडाअध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीका अनुसार फोहोर यथोचित रूपमापुर्नुपर्ने, फोहोरकै कारण फैलिएको झिँगा व्यवस्थापन गर्ने, बन्चरेडाँडा र सिसडोलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)गर्न बिहीबारनै विज्ञसहितको टोली अनुसन्धानका लागि पठाउने मौखिक सहमति भएको छ ।

उनका अनुसार मन्त्री सीता गुरुङले समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराउनछिन् । छलफलमा सहरी विकासमन्त्री, ककनी गाउँपालिका वडा नम्बर १ र ३ का वडाध्यक्ष, बेलकोटगढी नगरपालिकाका जनप्रतिनिधि र स्थानीय प्रतिनिधिको सहभागिता थियो । 

फोहोर ट्यापिङ सकिए आजदेखि फोहोर उठ्ने 
काठमाडौं महानगरपालिकाले बन्चरेडाँडाका फोहोर टयापिङ (फोहोरलाई १५ सेन्टिमिटर माटोले पुर्न)का लागि १० जनाको टोलीसहित बुधबार नै पाँच ट्रक फोहोर पठाएको छ । महानगरअन्तर्गत वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार बुधबार रातभरिमा फोहोर ट्यापिङसकिए बिहीबारबाटै सबै फोहोर बन्चरेडाँडा जानेछन् ।

‘हामीले पाँच ट्रक फोहोरसहित ट्यापिङ गर्नका लागि १० जनाको टोली बन्चरेडाँडा पठाएका छौँ,’ विभाग प्रमुख श्रेष्ठले भने, ‘ट्यापिङसुरु भइसकेको छ । पानी परेन भने रातभर काम सक्छौँ । र बिहीबारदेखि सबै फोहोर बन्चरेडाँडा लैजान्छौँ ।’

महानगरका अनुसार सोमबारदेखि फोहोर बन्चरेडाँडा लैजान नसक्दा काठमाडौंमा एक हजार टनभन्दा धेरै फोहोर जम्मा भइसकेको छ । मन्त्रालयसँग यसअघि भएका सम्झौतापालना नभएको, बस्तीमा झिँगा र दुर्गन्ध फैलिँदा दैनिकी कष्टकर भएको भन्दै स्थानीयले फोहोर ढुवानीमा अवरोध गर्दै आएका थिए ।

हाल बन्चरेडाँडामा उपत्यकाका २१ मध्ये १७ स्थानीय तहका फोहोरव्यवस्थापन हुने गरेको छ । महानगरका अनुसार उपत्यकाबाट दैनिक १० देखि १२ टन फोहोर बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।

तीन वर्षका लागि भनेर नुवाकोटको सिसडोल ल्यान्डफिल साइटमा १७ वर्ष फोहोर व्यवस्थापन भएको थियो । गत वर्षदेखि मात्र धादिङको धुनिबेँसी नगरपालिकास्थित बन्चरेडाँडामा फोहोर व्यवस्थापन हुन थालेको हो । 

 

ad
ad