Skip This
जनगणना तथ्यांकमा छुटे ७ लाख ७१ हजार ९९८ नागरिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २८ बिहीबार
  • Saturday, 13 July, 2024
सुवास भट्ट काठमाडाैं
२o८o असार २८ बिहीबार o६:१७:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जनगणना तथ्यांकमा छुटे ७ लाख ७१ हजार ९९८ नागरिक

Read Time : > 4 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २८ बिहीबार o६:१७:oo

०७८ को जनगणनाको पूर्णता र शुद्धता मापन गर्न राष्ट्रिय तथ्यांक कार्यालयले त्रिभुवन विश्वविद्यालयको श्रम अध्ययन कार्यक्रममार्फत गराएको अध्ययनले जनगणनाको नतिजामा सात लाख ७१ हजार नौ सय ९८ मानिस छुट्न गएको देखाएको छ । तर, यो संख्या जनगणनाको यसअघि सार्वजनिक अन्तिम नतिजामा जोडिँदैन । अघिल्लो जनगणनाको तुलनामा यसपटक छुट कम देखिएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको देशको जनगणनाको नतिजामा सात लाख ७१ हजार नौ सय ९८ मानिस छुट्न गएका छन् । त्रिभुवन विश्वविद्यालयले गरेको गणना जाँच सर्वेक्षणमा यस्तो देखिएको हो । 

श्रम अध्ययन कार्यक्रमबाट जनगणनाको पूर्णता र शुद्धता मापन गर्दा सहरी क्षेत्रमा पाँच लाख ८५ हजार सात सय ८२ र ग्रामीण क्षेत्रमा एक लाख ८६ हजार दुई सय १६ जना छुट्न गएको कार्यालयले हालै सार्वजनिक गरेको गणना जाँच सर्वेक्षण (पिइएस) प्रतिवेदनमा उल्लेख छ । जनगणनामा २.७३ प्रतिशत मानिस छुट्न गएको सर्वेक्षणले देखाएको छ । 

‘समग्रमा प्रतिसयजनामा २.७३ जनाको गणनामा कमीकमजोरी वा त्रुटि देखिएको छ,’ सर्वेक्षण प्रतिवेदनमा भनिएको छ, ‘जसमा वास्तविक गणना हुनुपर्ने व्यक्ति त्रुटिपूर्ण तवरले छुटेकाको संख्या २.५८ छ भने एकभन्दा बढी ठाउँबाट दोहोरिएर गणना हुनेको संख्या ०.१५ छ ।’ 

ग्रामीणको तुलनामा सहरीमा र सहरीमध्ये पनि काठमाडौं उपत्यकामा बढी त्रुटि देखिएको छ । कुल त्रुटिदरमा ग्रामीण क्षेत्रको हिस्सा १.९६ र सहरीको ३.१३ प्रतिशत छ । त्यस्तै, सबैभन्दा बढी त्रुटिदर काठमाडौं उपत्यकामा ४.६० प्रतिशत छ । कोसीमा सबैभन्दा कम अर्थात् १.९८ प्रतिशत त्रुटि मापन भएको छ । 

गणना जाँच सर्वेक्षणले जनगणनामा मानिस छुटेको देखाए पनि यो संख्या तथ्यांक कार्यालयले यसअघि सार्वजनिक गरेको कुल जनसंख्यामा भने जोडिँदैन । कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेका अनुसार जनगणनाको आधिकारिक तथ्यांक कार्यालयले यसअघि सार्वजनिक गरेको अन्तिम नतिजा नै हो । कार्यालयले गत १० चैतमा सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ । 

‘गणना जाँच सर्वेक्षणले छुट देखाएको संख्या राष्ट्रिय जनगणनाको अन्तिम नतिजामा जोडिँदैन,’ उनले भने, ‘आधिकारिक रूपमा नेपालको जनसंख्या राष्ट्रिय जनगणना ०७८ ले यकिन गरेको दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ नै कायम हुन्छ ।’ 

जनगणनाअनुसार पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१, महिलाको एक करोड ४९ लाख ११ हजार २७ र अन्य लिंगीको संख्या दुई हजार नौ सय २८ छ । परिवार संख्या देशभर ६६ लाख ६० हजार आठ सय ४१ छ । तथ्यांकअनुसार सक्रिय जनसंख्या ५७ बाट ६२.९६ प्रतिशत पुगेको छ । सबैभन्दा धेरै जनसंख्या काठमाडौंको रहेको पनि जनगणनाले देखाएको छ । हाल काठमाडौंको जनसंख्या २० लाख ४१ हजार पाँच सय ८७ पुगेको छ भने सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर र कम जनसंख्या रामेछापमा छ । त्यस्तै, हिमाली क्षेत्रको जनसंख्या १७ लाख ७२ हजार नौ सय ४८, पहाडको एक करोड १७ लाख ५७ हजार ६ सय २४ र तराईको जनसंख्या एक करोड ५६ लाख ३४ हजार ६ पुगेको छ । प्रदेशअनुसार कोसीमा ४९ लाख ६१ हजार चार सय १२, मधेसमा ६१ लाख १४ हजार ६ सय, बागमतीमा ६१ लाख १६ हजार आठ सय ६६, गण्डकीमा २४ लाख ६६ हजार चार सय २७, लुम्बिनीमा ५१ लाख २२ हजार ७८, कर्णालीमा १६ लाख ८८ हजार चार सय १२ र सुदूरपश्चिममा २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या छ । 

अघिल्लो जनगणनाको तुलनामा सुधार 
जनगणनामा देखिएको यो छुट अघिल्लो जनगणनाको तुलनामा कम भएको राष्ट्रिय तथ्यांक कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले बताए । उनका अनुसार ०६८ को जनगणनाको जाँच सर्वेक्षण गर्दा छुटेको हिस्सा ३.७ प्रतिशत थियो । संख्यात्मक हिसाबमा यो करिब नौ लाख ८० हजारजना हुन आउँछ । ‘अघिल्लो जनगणनासँग तुलना गरेर हेर्दा छुट दरमा सुधार आएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डमा पनि यसलाई स्वीकार्य नै मानिन्छ।’ 

अन्तर्राष्ट्रिय मापदण्डमा जनगणनाको पाँच प्रतिशतभन्दा कम छुट दरलाई स्वाभाविक मानिने उनले बताए । ‘संख्यात्मक हिसाबमा यो छुट बढी देखिए पनि अन्तर्राष्ट्रिय थ्रेसहोल्डभन्दा कम नै छ,’ उनले भने । 

गणना जाँच सर्वेक्षण जनगणनाको विश्वसनीयता र छुटको अध्ययन गर्ने विधि भएको, यसको नतिजाले भविष्यमा जनगणनालाई अझै विश्वसनीय र यथार्थपरक बनाउन चाल्नुपर्ने रणनीति तय गर्न सहयोग पुग्ने उनले बताए । 

नौलो होइन जाँच सर्वेक्षणको अभ्यास 
नेपालमा जनगणना सम्पन्न भएलगत्तै गणना जाँच सर्वेक्षण गर्ने चलन नयाँ होइन । ०३८ को जनगणनादेखि नै यस्तो अभ्यास सुरु भएको हो । वैज्ञानिक तवरले भरपर्दो र विश्वसनीय विधि प्रक्रिया स्थापित गर्नु र ती विधि र प्रक्रियाका आधारमा जनगणनामा गणना हुनुपर्ने मानिस कोही छुटेको, दोहोरिएको अथवा गलत गणना भएका विवरण पत्ता लगाउने उद्देश्यले यस्तो जाँच गर्ने अभ्यास छ । 

पछिल्लो जनगणना ०७८ अगाडिका जनगणनामा केन्द्रीय तथ्यांक विभागले आफैँले जनगणना जाँच सर्वेक्षण गर्दै आएको थियो । सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसंघको सुझावअनुसार यस्तो सर्वेक्षण स्वतन्त्र र सो क्षेत्रमा दक्षताप्राप्त निकायबाट गराउनुपर्ने अवधारणा छ । सोहीअनुसार ०७८ को जनगणनाको पूर्णता र शुद्धता मापन गर्न राष्ट्रिय तथ्यांक कार्यालयले श्रम अध्ययन कार्यक्रम, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरलाई जिम्मा दिएको थियो । जाँच सर्वेक्षणको यो काम ०७८ माघ अन्तिम साताबाट सुरु गरेर ०७९ जेठ मसान्तमा सम्पन्न गरिएको थियो । 

यसरी गरिएको थियो सर्वेक्षण 
मूल जनगणनाकै विधि र प्रक्रिया अपनाएर जाँच सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा नमुनाका रूपमा छानिएका गणना क्षेत्रको जनगणनामा जस्तै पूर्ण गणना गरिएको थियो । सर्वेक्षणको प्रयोजनका लागि देशलाई आठ बृहत् विश्लेषण क्षेत्रमा विभाजन गरी हरेक क्षेत्रबाट सहरी र ग्रामीण क्षेत्रको समुचित प्रतिनिधित्व हुने गरी १० गणना क्षेत्रको हिसाबमा ८० गणना क्षेत्र छानिएका थिए । गणना क्षेत्रमध्ये ५० सहरी र ३० ग्रामीण क्षेत्र छन् । त्यसमा तीनवटै भौगोलिक क्षेत्रको प्रतिनिधित्व छ । सर्वेक्षणका लागि तय गरिएको आठ विश्लेषण क्षेत्रमा बागमती प्रदेशको काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेकका सात प्रदेशलाई सात क्षेत्र र उपत्यकाका तीन जिल्लालाई आठौँ क्षेत्र मानिएको थियो । 

गणना जाँच सर्वेक्षणमा मूल जनगणनामा प्रयोग गरेको प्रश्नावलीको छोटकरी रूप तयार गरी अपनाइएको थियो । प्रश्नावलीमा मूलतः जनगणनाको समेटाइमा पूर्ण त्रुटि र केही मात्रामा गणना भएका व्यक्तिका वैयक्तिक विशेषतामा विचलन त्रुटिमापनलाई आवश्यक न्यूनतम विषयवस्तु राखिएका थिए । स्थलगत गणना कार्य तोकिएको गणना क्षेत्रको नक्साका आधारमा पूर्ण घरपरिवार लगत तयार गरी सम्पूर्ण घरपरिवार र सदस्यको गणना गरिएको थियो । स्थलगत सर्वेक्षण पूरा भएपछि हरेक गणना क्षेत्रका जनगणनाले संकलन गरेका र गणना जाँच सर्वेक्षणले संकलन गरेका घरपरिवार र परिवारका सदस्यका विवरण मिलान वा रुजु गरिएको थियो । घरपरिवारका हकमा जोडा नमिलेको र परिवार सदस्यका हकमा मिलाउन सम्भव भएको र नमिलेकाको वास्तविक अवस्था बुझ्न र मिलान गर्न पुनः स्थलगत भ्रमण गरी अन्तिम नतिजा सार्वजनिक गरिएको हो । 

गणना जाँच सर्वेक्षणले जनगणनामा कुनै तोकिएको गणना क्षेत्र, घरपरिवार र परिवार सदस्यको गणनामा समेटिने दर अथवा पूर्णतामा भएको कमी–कमजोरीको दोहोरो प्रणाली मापन विधिका आधारमा मापन गरी देशको वास्तविक जनसंख्या निर्धारण गरेको छ । 

यसअघि सार्वजनिक अन्तिम नतिजामा यो संख्या जोडिँदैन : मनोहर घिमिरे सूचना अधिकारी, राष्ट्रिय तथ्यांक कार्यालय 
गणना जाँच सर्वेक्षणले छुट देखाएको संख्या राष्ट्रिय जनगणनाको अन्तिम नतिजामा जोडिँदैन । आधिकारिक रूपमा नेपालको जनसंख्या राष्ट्रिय जनगणना ०७८ ले यकिन गरेको दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ नै कायम हुन्छ । अघिल्लो जनगणनासँग तुलना गरेर हेर्दा छुट दरमा सुधार आएको छ । संख्यात्मक हिसाबमा यो छुट बढी देखिए पनि अन्तर्राष्ट्रिय थ्रेसहोल्डभन्दा कम नै छ । यसलाई स्वाभाविक नै मानिन्छ । 

ad
ad
ad
ad