
एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको शिव शिखर सहकारीका थप तीनजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । रमेश खैजू, शिवप्रसाद पौडेल र रसना शाक्य पक्राउ परेका हुन् ।
खैजू र पौडेल सहकारीको लेखा समिति सदस्य र शाक्य कर्मचारी हुन् । सिआइबीले सहकारीको करिब १४ अर्ब हिनामिनाका नाइके रहेका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई गत साता भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।
भक्तपुरमा केन्द्रीय कार्यालय रही ३६ वटा शाखा रहेको सहकारीले करिब १४ अर्ब निक्षेप हिनामिना गरेको छ । सहकारीको पैसा नियमविपरीत शर्माले आफ्ना निजी कम्पनीमा लगानी गरेर संस्था डुबाएका हुन् । सहकारीका एक लाखभन्दा धेरै सर्वसाधारणको पैसा डुबेको छ । देशभरि सहकारीविरुद्ध उजुरी परिरहेको छ ।
शर्माका विभिन्न कम्पनीको नाममा सम्पत्ति रहेको र त्यसलाई रोक्का राखेको सिआइबीले जनाएको छ । उपत्यकाका शाखाको हकमा सिआइबी र उपत्यकाबाहिरको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । भक्तपुर जिल्ला अदालतमा भने मुद्दा पनि दायर भइसकेको छ ।
सिआइबीसँगको बयानमा पूर्वअध्यक्ष शर्माले आफूले सहकारीको पैसा हिनामिना नगरेको दाबी गरेका छन् । विभिन्न कम्पनीमा लगानी गरेको उनको भनाइ छ । ती कम्पनीका नाममा उनले चार अर्ब रुपैयाँ कर्जासमेत लिएको अनुसन्धानमा खुलेको छ । जसकारण बैंकहरूको समेत लगानी जोखिममा परेको छ ।
कर्जाको विवरण बुझाउन प्रहरीले ६ वटा बैंकलाई पत्राचार गरेको छ । सहकारीले विभिन्न मार्टसमेत चलाएको छ । ती मार्टमध्ये कतिपय बन्द भइसकेका छन् । मार्टमा भएका सामानसमेत बिग्रने भएकाले सामान कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रहरी र सहकारी विभागले छलफल थालेको छ ।
०७० मा स्थापना भएको सहकारीले अन्य सहकारीभन्दा धेरै ब्याज दिएर निक्षेप संकलन सुरु गरेको थियो । पैसा संकलनसँगै कृषिसम्बन्धी व्यवसायमा लगानी गर्दै गयो । देशभरि शाखा पनि विस्तार गर्दै गयो । मार्टदेखि जग्गा कारोबारसम्म लगानी गरेको पाइएको छ ।
शिखरदीप सहकारीलाई समेत मर्ज गरेपछि संस्था अझै ठूलो भयो । जब कोभिड महामारी सुरु भयो, त्यसपछि सहकारीमा समस्या आउन सुरु भएको प्रहरी अधिकारी बताउँछन् । लगानी गरेको ठाउँबाट ब्याज त आएन नै, साँवा पनि फिर्ता भएन । सहकारीमा एकैपटक पैसा निकाल्ने बढ्न थाले । फिर्ता दिने पैसा नभएपछि सहकारीमै ताला लागेको हो ।
पूर्वअध्यक्ष शर्मा भारत भागेका थिए । उनलाई मुम्बईबाट प्रहरीले पक्राउ गरी नेपाल ल्याएको हो । शिव शिखरको ठगीमा तीनजना जेलमा रहेको र चारजना प्रहरी हिरासतमा रहेको सिआइबीका एसएसपी दिनेश आचार्य बताउँछन् । अन्य फरारहरूको खोजी भइरहेको उनको भनाइ छ ।