१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नगर प्रहरीलाई विपत् व्यवस्थापनसम्बन्धी खोज तथा उद्धार तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o५:oo

धनगढी उपमहानगरपालिकाले नगर प्रहरीलाई खोज तथा उद्धार तालिम दिएको छ।

उपमहानगरले सशस्त्र प्रहरीसँगको समन्वयमा बर्खायाममा हुने डुबानजन्य विपतका वेला खटिनका लागि नगर प्रहरीलाई तालिम दिएको हो। २५ जना नगर प्रहरीलाई तालिम दिइएको उपमहानगरपालिकाले जनाएको छ।

डुबानका वेला प्रभावितको उद्धारमा खटिन सहज होस् भनेर नगर प्रहरीलाई तालिम दिइएको उपमहानगरका वातावरण तथा विपत् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले बताए। भण्डारीका अनुसार धनगढी उपमहानगरका पाँचवटा वडा बर्खामा डुबानको जोखिममा छन्। बर्खामा मोहना, खुटिया र घुराहा नदीमा अत्यधिक बाढी आएपछि नगरका कतिपय बस्ती डुबानमा पर्छन्।

‘नगरका केही वडा डुबानको जोखिममा छन्। बस्ती डुबान हुँदा उद्धारका लागि विगतमा सशस्त्र प्रहरीलाई आग्रह गर्थ्याैँ,’ भण्डारीले भने, ‘तालिमपछि अब डुबानजन्य विपतका वेला नगर प्रहरीलाई पनि तत्कालै परिचालन गर्न सकिनेछ।’ 

त्यस्तो वेला खटिनका लागि आवश्यक डुंगा, ‘लाइफ ज्याकेट’लगायत सामग्री पनि नगर प्रहरीलाई दिइएको विपत् व्यवस्थापन शाखा प्रमुख भण्डारीले बताए।

सशस्त्र प्रहरीले बाढीमा डुबेकाहरूको डोरी, डुंगा र लाइफ ज्याकेटको मद्दतले कसरी उद्धार गर्नेलगायत विषयमा नगर प्रहरीलाई तालिम दिएको हो। गोदावरी नगरपालिकाको अत्तरियास्थित तालितालमा चार दिनसम्म खोज तथा उद्धार तालिम सञ्चालन भएको थियो।

नगर प्रहरी प्रमुख नगर प्रहरी नायब निरीक्षक कृष्णबहादुर मल्लले तालिम लिएपछि विपतका वेला खटिन आफूहरू सक्षम भएको बताए। डुबानका वेला कसरी उद्धार गर्ने भन्नेबारे तालिमबाट सिकेको उनले बताए। 

‘विगतमा डुबान हुँदा उद्धार गर्न समस्या थियो। हामीसँग आवश्यक सामग्री पनि थिएन,’ मल्लले भने, ‘अब विपतका वेला खटिन सक्छौँ । तालिमले आत्मबल बढेको छ ।’