बास डी लिडेको अविस्मरणीय अलराउन्ड प्रदर्शनमा स्कटल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्सले आइसिसी एकदिवसीय विश्वकपमा स्थान पक्का गरेको छ।
आइसिसी विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै नेदरल्यान्ड्सले ऐतिहासिक उपलब्धि हासिल गरेको हो। नेदरल्यान्ड्स १२ वर्षपछि विश्वकपमा पुगेको हो।
जितपछि नेदरल्यान्ड्स आयोजक जिम्बावे र स्कटल्यान्डको समान ६ अंक भएको थियो। तर, राम्रो नेट रनरेटका कारण जिम्बावे र स्कटल्यान्डलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो।
जितको लागि दुई सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट क्षतिमा पूरा गर्यो। नेदरल्यान्ड्सलाई जित दिलाउन बास डी लिडेको अविस्मरणीय प्रदर्शन रह्यो। उनले पहिले बलिङ गर्दै पाँच विकेट लिएका थिए। त्यस्तै, ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ९२ बलमा एक सय २३ रन बनाए।
विश्वकपमा पुग्न उक्त लक्ष्य ४४ ओभरभित्र पूरा गर्नुपर्ने थियो। उक्त लक्ष्य उसले ७ बलअघि नै पूरा गर्दै विश्वकपमा स्थान बनायो। लिडेले पछिल्लो १० बलमा ३३ रन बनाएर ४३ बल बाँकी रहँदै नेदरल्यान्ड्सलाई जित दिलाए।