१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

रातो मत्स्येन्द्रनाथबारे अध्ययन गर्नेलाई सहयोग गर्ने प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५२:oo

भारतको आसामका दुईवटा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको टोली काठमाडौं उपत्यकाको रातो मत्स्येन्द्रनाथ जात्राबारे शोधमूलक अध्ययन–अनुसन्धान गर्न ललितपुर आइपुगेका छन् । गुवाहाटी विश्वविद्यालय र कटन विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, जनजाति अनुसन्धान संस्था र नर्थ इस्ट आशीर्वाद फाउन्डेसनका अनुसन्धानकर्ता, लेखक, पत्रकार, कलाकार र सांस्कृतिक संगठनमा आबद्ध २२ जना ललितपुर आइपुगेका हुन् । उनीहरू मंगलबार रातो मत्स्येन्द्रनाथ मन्दिर भएको ठाउँ बुङमती पुगेका थिए । उनीहरूले त्यहाँ पुनर्निर्माण भइरहेको रातो मत्स्येन्द्रनाथ मन्दिरबारे सोधखोज गरेका थिए । 

यसैगरी, बुङमतीका अन्य सम्पदा, बस्ती र बस्तीको ऐतिहासिक पाटोबारे पनि सूचना र जानकारी संकलन गरेका थिए । ललितपुर महानगरले आयोजना गरेको नेपालको संस्कृति, कला र साहित्य तथा मत्स्येन्द्रनाथसम्बन्धी अन्तरक्रियामा गुवाहाटी विश्वविद्यालयका प्रा.डा. खगेन्द्र शर्माले रातो मत्स्येन्द्रनाथबारे थप अध्ययन–अनुसन्धान गर्नुपर्ने बताए । कटन विश्वविद्यालयका एसोसिएट प्राध्यापक अम्बेश्वर गोगोईले यस्ता अध्ययन–अनुसन्धानले रातो मत्स्येन्द्रनाथबारे रोचक र नयाँ तथ्य पत्ता लाग्ने बताए ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले रातो मत्स्येन्द्रनाथबारे गरिने अध्ययन–अनुसन्धानमा महानगरले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले रातो मत्स्येन्द्रनाथबारे नेपाली भाषामा थुप्रै अध्ययन सामग्री भए पनि अंग्रेजीमा नभएको स्वीकार गरे । उनले भने, ‘उक्त अध्ययनलाई योजनाबद्ध ढंगबाट अघि बढाउनुहोस्, हामी सहयोग गर्न तयार छौँ ।’

उद्योग पर्यटन समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष विकासमान श्रेष्ठले मत्स्येन्द्रनाथ सहकालका देवता भएको बताए । अनुसन्धानकर्ता छत्रबहादुर कायस्थले अध्ययनमा निकै रोचक विषय फेला परेको बताए । अध्ययनमा फेला परेको गीतअनुसार १२ वर्षसम्म पानी नपरेपछि पानी पार्नका लागि उपत्यकावासीले मत्स्येन्द्रनाथको भक्ति गरेका थिए । उनले भने, ‘उपत्यकामा पानी पार्न र धान फलाउन मत्स्येन्द्रनाथको ठूलो योगदान रहेको गीतमा उल्लेख छ ।’ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले मत्स्येन्द्रनाथको पूजा विधि र प्रक्रियाबारे कार्यक्रममा चर्चा गरे ।

ad
ad