
पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल एचपिभी खोप नेपाल ल्याइएको छ। चीनबाट खरिद गरेर ल्याइएको खोप मंगलबार काठमाडौं आइपुगेको हो।
पाठेघरको क्यान्सर हुन नदिन प्रयोगमा ल्याइने एचपिभी अर्थात् ह्युमन प्यापिलोमा भाइरस खोप काठमाडौं ल्याइएसँगै प्रयोगका लागि प्रदेशहरूमा पठाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति महाशाखाले जनाएको छ।
९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूमा लगाइने यो खोप कुन जिल्लामा पठाइने भन्ने छलफल भइरहेको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले बताए।
विश्व बजारमै कम उत्पादन हुने र महँगो भएकाले यो खोप हाल सरकारले पाइलटिङको रूपमा मात्रै खरिद गरेको उनले बताए। डा. चौरसियाका अनुसार खोप निकै महँगो भएकाले नियमित खरिद गरेर प्रयोगमा ल्याउने अवस्था निश्चित नरहेकाले हाल ट्रायलका लागि ल्याइएको हो।
यसअघि आर्थिक वर्ष ०७७-७८ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाँच करोड मूल्यबराबरको खोप खरिद गरेर ६ हजार बालिकामा लगाएको थियो। एचपिभी भ्याक्सिन बालिकाहरूमा दुई डोजका दरले लगाइन्छ।