१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

क्यान महाप्रबन्धक खनालको राजीनामा स्वीकृत भएपछि आरोप–प्रत्यारोप

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३o:oo

नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धक वृतान्त खनालको राजीनामा स्वीकृत गरेपछि आरोप–प्रत्यारोप सुरु भएको छ । खनालले क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अभद्र व्यवहारका कारण राजीनामा दिएको बताएका छन् भने चन्दले काम गर्न नसकेपछि खनालले राजीनामा दिएको जिकिर गरेका छन् ।

खनालले गत बिहीबार पदबाट राजीनामा दिएको इमेल क्यानलाई पठाएका थिए । क्यानले त्यस दिन उनले राजीनामा नदिएको बताएको थियो । तर, शुक्रबार क्यानको बैठकमा खनालको राजीनामा स्वीकृत भयो । चन्द र खनालबीच मूलपानी क्रिकेट मैदान भाडामा दिने सम्बन्धमा विवाद चर्केको थियो ।

क्यानभित्र काम गर्ने वातावरण नभएको र अध्यक्षसँग पनि खासै राम्रो सम्बन्ध नहुँदा खनालले एक्कासी राजीनामा दिएको अनुमान लगाइएको थियो । तर, राजीनामा स्वीकृत भएको दोस्रो दिन (शनिबार) खनालले सोसल मिडियाबाट आफूले राजीनामा दिनुको कारण खुलासा गरेका छन् । क्यानको केन्द्रीय कार्यालय मूलपानीमा चन्दले अभद्र व्यवहार र गालीगलौज गरेको खनालले सोसल मिडियामा लेखे । ‘उहाँका केही आर्थिक अनियमिततामा व्यवस्थापनको प्रश्न उठेपछि रैथाने शैलीमा गालीगलौज गर्नुभयो,’ खनालले लेखेका छन्, ‘दिउँसै रक्सीको सुरमा क्यानको केन्द्रीय कार्यालय आएर मलाई अभद्र गाली गर्नुभयो ।’ अध्यक्षबाट भएको अभद्र व्यवहारकै कारण आफूले बाध्य भएर राजीनामा प्रस्तुत गरेको खनालको भनाइ छ । ‘अकल्पनीय व्यवहारपछि मैले राजीनामा दिएको हुँ,’ उनले राजीनामा दिनुको कारण खुलाए । 

०७९ को वैशाख ३ मा खनाल क्यानको महाप्रबन्धक नियुक्त भएका थिए । तत्काल रौनक मल्लको करार थप नहुँदा खुला प्रतिस्पर्धाबाट उनले क्यान प्रवेश गर्ने अवसर पाए । तर, उनले एक वर्षभन्दा बढी क्यानको महाप्रबन्धक कार्यभार सम्हाल्न सकेनन् । क्यानले नै आयोजना गरेको नेपाल टी–२० लिगसहित आन्तरिक विवादमा चन्दलाई खनालले सहयोग गरेका थिए । खनालको राजीनामालाई आगामी असोज पहिलो साता हुने केन्द्रीय निर्वाचनसँग जोडेर हेरिएको छ । 

नेपाल टी–२० मा भएका आर्थिकसँगै अन्य विषयमा बिस्तारै सार्वजनिक गर्ने खनालले बताएका छन् । चन्दले पार्टी र प्रधानमन्त्री कार्यालयको दबाबमा आफूलाई काम गर्न लगाएको आरोप खनालले लगाएका छन् । ‘सबै विषयमा पार्टी वा प्रधानमन्त्री कार्यालयबाट दबाब छ भन्दै काम गराउनुभयो, काम गर्न नमिलेपछि शासकीय शैलीमा बर्खास्तीको धम्की दिने कार्यसमेत गर्नुभयो,’ चन्दमाथि खनालले आरोप लगाए । चन्द नेपाली कांग्रेस बैतडी जिल्ला सभापति हुन् । 

अध्यक्षमा पुनः दाबेदारी दिने 
अध्यक्ष चन्दको चारवर्षे कार्यकाल साउनमा सकिँदै छ । उनी पुनः एकपटक क्यान अध्यक्ष बन्ने तयारीमा छन् । क्यानले जिल्ला, प्रदेश हुँदै केन्द्रको अधिवेशन गर्न लागेको छ । निर्वाचनका निमित्त राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्यानको विधान अनुमोदन गरेको छ । साउन मसान्तसम्म ४५ जिल्लाको निर्वाचन र सात प्रदेशको २० भदौसम्म अधिवेशन गर्ने क्यानको तयारी छ । ‘सबै साथीहरूलाई मिलाएर जाने सोच बनाएको छु,’ चन्दले भने । चन्दले महाप्रबन्धक खनालसँगको घटना पनि आफूलाई कमजोर बनाउन रचिएको संकेत गरेका छन् । ‘चुनावको वेला बदनाम गर्ने काम भएको छ,’ उनले भने ।  शुक्रबारको बैठकसँगै चन्दले आफूसँग असन्तुष्ट रहेका सदस्यलाई जिम्मेवारी दिँदै समेट्ने प्रयास गरेका छन् । ‘किन सधैँ झगडा गर्ने भनेर सबैलाई समेट्ने प्रयास गरेको हुँ,’ चन्दले भने । असन्तुष्ट पक्षका ऋषिराम गौतमले महिला तथा पुरुष खेलाडी वर्गीकरण गर्ने जिम्मेवारी पाएका छन् । नेपाल प्रिमियर लिग आयोजनाको सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्न राखेप प्रतिनिधि छुम्बी लामालाई जिम्मेवारी दिइएको छ । इपिएलसहित अन्य फ्रेन्चाइज सिञ्चालनका लागि मोहम्मद दाउद अन्सारीलाई संयोजक र समितिमा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातलाई जिम्मेवारी दिइएको छ ।

दबाबपछि राजीनामा स्वीकृत 
बैठकमा अध्यक्ष चन्दसहित केही पदाधिकारी खनालको राजीनामा स्वीकृत नगर्ने पक्षमा थिए । तर, बहुमत सदस्यले राजीनामा स्वीकृत हुनुपर्ने दबाब अध्यक्षमाथि दिए । अध्यक्ष चन्दले अन्ततः बहुमतको दबाब थेग्न नसक्दा खनालको राजीनामा स्वीकृत गरे । सोसल मिडियामा आएको प्रतिक्रियाप्रति चन्दले आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । ‘सुविधा बिस्तारै कटौती भएपछि आरोप आउने गर्छ, उहाँले ममाथि आरोप लगाउनुभएको छ, अहिले आफू स्वच्छ छविको देखाउन मिडियाबाजी गर्दै हुनुहुन्छ,’ चन्दले नयाँ पत्रिकासँग भने, ‘उहाँलाई आरोप प्रमाणित गर्न आग्रह गर्छु, मैले अभद्र व्यवहार गरेको भए कानुनी प्रक्रियामा पनि जान सक्नुहुन्छ, म कानुनीरुपमा सामना गर्न तयारी छु ।’ 

खनालले आइसिसीको सहयोगमा ठूलो तलब लिएको तर सम्झौताअनुसार काम गर्न नसक्दा उनीमाथि प्रश्न गरेको चन्दले बताए । ‘उहाँ आएदेखि काम भएको छैन, सम्झौताअनुसार ५० करोड ल्याउँछु भन्नुभएको थियो । तर, पाँच लाख ल्याउन सक्नुभएन,’ चन्दले भने । चन्दका अनुसार खनालको कार्यशैलीबाट एसिसीदेखि आइसिसी असन्तुष्ट छन् । 

सम्झौताअनुसार काम गर्न नसकेपछि खनाललाई राजीनामा दिन भनेको चन्दले बताए । ‘तपाईंले भनेको र दाबी गरेजस्तो काम गर्न सक्नुभएन भने छाड्दिनुस् भनेको थिएँ,’ चन्द भन्छन् । खनालले प्रतिमहिना एक लाख ५० हजार रुपैयाँ पारिश्रमिक लिन्थे । उनीअघिका रौनकले एक लाख १५ हजार रुपैयाँ बुझ्थे । 

 

ad
ad