१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:३६:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

स्याउबाट समृद्धि खोज्दै जुम्ला 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३६:oo

स्याउ र जुम्ला पर्यायवाची शब्दजस्तै भएको छ। कसैले परिचय लिँदा जुम्लाभन्दा स्याउको कुरा आउँछ। स्याउले नै जुम्लाको पहिचान बनेको हो। 

जुम्लाको स्याउ भनेपछि तपाईं–हाम्रो मुख नै रसाउँछ। कारण जुम्लाको स्याउ अर्गानिक हुन्छ, भन्ने मान्यता छ। जुम्लाको स्याउमा कीटनासक रासायनिक औषधि प्रयोग नहुने गरेको कृषिविज्ञ बताउँछन्। त्यही भएर पनि जुम्लाको स्याउको माग नेपालका ठूला सहर काठमाडौं, पोखरा, विराटनगरमा समेत हुने गरेको छ।

त्यसो त स्याउका लागि जुम्ला प्रख्यात मानिन्छ। नेपालका गाउँघरमा स्याउको व्यावसायिक खेती हुनुअघिदेखि नै स्याउका लागि जुम्ला प्रख्यात मानिँदै आएको छ। जुम्लाको स्याउ नेपालको लगभग सबै क्षेत्रमा पाइन्छ। जुम्लामा अर्गानिक स्याउका नामले परिचित रोयल, रेड, गोल्डेन डेलिसियस जातका स्याउ उत्पादन हुन्छन्। 

जुम्लामा उत्पादन हुने प्रांगारिक स्याउ व्यापारीले काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, सुर्खेत र दैलेख पु¥याएर बिक्री–वितरण हुने गर्दछ। नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जुम्लाको स्याउको स्वाद पनि उत्कृष्ट मानिन्छ। बजार अभाव, सडक, भण्डारण अभावले जुम्लाको स्याउ ओझेलमा पर्दै आएको छ। 

नेपालमा नै उत्पादन हुने स्याउ देशैभरि जुनसुकै सहरमा पनि पाइन्छ। यहाँको अर्गानिक स्याउ उत्पादन पनि वार्षिक रूपमा बढ्दै गइरहेको छ। काठमाडौंदेखि पश्चिमका लगभग सबैजसो बजारमा जुम्लाको उत्पादन पाइने गरेको छ।

यसै महत्वलाई बुझेर यहाँको स्याउखेती प्रवद्र्धन गर्न नेपाल सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत जुम्लामा स्याउखेतीका लागि सुपरजोन कार्यक्रम सञ्चालन गरेको छ। 

जुम्ला प्राकृतिक रूपमा सुन्दर त यसै छ नै, त्यसमा पनि जैविक विविधताको धनी छ। भाषा, संस्कृति र सभ्यताको केन्द्रका साथै गौरवपूर्ण विगतको इतिहास बोकेको पनि छ। हुन त हरेक क्षेत्रका आ–आफ्नै विशेषता, इतिहास र गौरवका गाथासँगैै पीडा र दुःख पनि हुन्छन्।

यो क्षेत्र मध्यकालीन सिँजा साम्राज्यको गौरवको विरासतको इतिहास, बौद्ध र हिन्दूधर्मको अनुपम संगम, नेपाली भाषाको उदगमस्थल साथै वर्तमान र भविष्यको आशालाग्दो उज्यालो बोकेको भूगोल सिँजा सभ्यता छ। विश्वकै उच्च स्थानमा (२८५० मिटर) फल्ने कालीमार्सी धानको खेती गर्न सिकाउने चन्दननाथ बाबाको मन्दिर जुम्लाको खलंगा बजारमा छ।

जुम्लाका बुढापाका भन्छन्– ०२४ सालतिर स्याउका बिरुवा भित्रिएका हुन्। यहाँका बजार क्षेत्र गाउँघरतिर केही टाठाबाठा व्यक्तिले घरको आँगनमा दुई–चार बोट लगाएका थिए। यसले विस्तारित रूप लिएको थिएन। विशेषगरी जुम्लासम्म ०६२ सालमा कर्णाली राजमार्गको ट्र्याक खुलेपछि मात्र यहाँका कृषकले ओखर र स्याउका बिरुवा रोप्न तीव्रता दिएको देखिन्छ।

०६४ सालमा जिल्ला विकास समितिको १४औँ जिल्ला परिषद्ले रासायनिक मल र रासायनिक विषादीमुक्त जिल्लाको रूपमा नीतिगत निर्णय गरेको छ। यसै त जाडोमा फल्ने यहाँको स्याउ अन्य तरकारीलगायत खाद्यान्न उच्च र स्वस्थकर हुनुका साथै पोषणतत्व बढी नै हुने गर्दछ।

जिल्ला कृषि विकास कार्यालयको एक घर एक बगैँचा स्थापना गर्ने उद्देश्य र ०७५ सालदेखि सञ्चालनमा ल्याएकोे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन कार्यक्रमले कृषकलाई स्याउ, ओखरखेती गर्न पे्ररित गरेको देखिन्छ। 

नागरिकलाई व्यावसायिक कृषि उत्पादनमा टेवा पुर्याउन कर्णाली प्रदेशको कालीकोट र जुम्लामा स्याउ र सिमी जोनको कार्यक्रम सञ्चालन गर्दै आएको स्याउ सुपरजोन जुम्लाका कार्यालय प्रमुख खेमबहादुर शाहीले बताए। उनका अनुसार आर्थिक वर्ष ०७८/७९मा स्याउ सुपरजोन जुम्लाबाट सञ्चालित कार्यक्रमका लागि चार सय ३१ कृषक समूह, ४९ वटा कृषि सहकारी र पाँच सय ७८ उद्योगी गरी एक हजार ५८ वटा फर्म सूचीकृत भएका छन्। 

कार्यालय प्रमुख शाहीले भने, ‘नौ सय ५८ महिला, ६ सय ७६ पुरुष, तीन सय ५३ दलित, चार सय ८३ जनजाति, चार सय ४९ युवा र सात सय ९८ अन्य गरी जुम्लामा एक हजार ६ सय ३४ जना लाभान्वित भएका छन्। यो संख्या जुम्ला र कालीकोटमा सञ्चालित सुपरजोन कार्यक्रममार्फत लाभान्वित भएका हुन्।’

जुम्लामा १९ करोडको स्याउ उत्पादन

स्याउ सुपरजोनका रूपमा परिचित जुम्लामा ०७९ मा ठूलो परिमाणमा स्याउ उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहमा गरी १९ करोडबराबरको स्याउ उत्पादन भएको हो। 

व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आउँछ। यद्यपि, गएका वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए। 

उनले भने, ‘चार हजार दुई सय हेक्टरमा स्याउ खेती भइरहेको छ।’ उनका अनुसार तीन हजार हेक्टरमा स्याउ फल्ने गरेको छ।

जुम्ला स्याउमा आत्मनिर्भर जिल्लाका रूपमा विकसित हुँदै गएको छ। यहाँका पाखाबारी पनि स्याउ बगैँचामा परिणत छन्। जुम्लाका १८ हजार घरधुरीमध्ये झन्डै १६ हजारभन्दा बढी घरधुरीमा स्याउ खेती गरिएको छ। एक घर एक बगैँचाजस्ता कार्यक्रम पनि जुम्लामा सञ्चालन भएका छन्।

जुम्लाकोे जुनसुकै क्षेत्रको भूभाग स्याउखेतीका रूपमा योग्य भएको जिल्ला कृषि कार्यालयले प्रमाणित गरेको छ। पश्चिमको मालिकाठाँटा, पूर्वको गुठीचौरलगायतका सबै क्षेत्रमा स्याउखेती हुँदै आएको छ। स्याउखेतीलाई मौसमी व्यापारका रूपमा पनि लिने गरिन्छ।

५३ हजार बिरुवामा सुपरजोनको अनुदान

यस वर्ष स्याउ सुपारजोन जुम्लाले ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ। स्याउ सुपरजोन सञ्चालक समितिका संयोजक सरोज शाहीका अनुसार सघन स्याउ रोप्न बिरुवा आयात गरी किसानलाई वितरण गरिएको छ। 

२० हजार आठ सय फुजी जातको स्याउ र २३ हजार ६ सय ५१ जुम्लाको स्थानीय स्याउका बिरुवा ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको हो। आठ हजार सात सय २५ वटा ओखरका बिरुवा वितरण गरिएको छ। संयोजक शाहीका अनुदानमा केही समस्या देखिएको छ।

कर्णाली प्रदेशले स्याउका बिरुवामा ७० प्रतिशत अनुदान दिन्छ। अनि स्याउ सुपरजोनमा ५० प्रतिशत त्यही कार्यक्रम आउने गरेको छ। यसले गर्दा कृषिमा आउने अनुदान समान देखिएको छैन। 

विश्वबजारमा राम्रो सम्भावना भएको र नेपालमा पनि फुजी स्याउको बढ्दो माग छ। तर, त्यसको उत्पादन वृद्धि गर्न अनुदानमा बिरुवा वितरण गर्ने कार्यक्रम हो। नेपालमा अहिले अन्य स्याउको भन्दा फुजी स्याउ तेब्बर बढी मूल्यमा बिक्री भइरहेको छ।

एउटै फर्ममा ४८ हजार बिरुवा 

जुम्लाको गुठीचौर गाउँपालिका– ५ काँडाखोला जलजलामा ४८ हजार बिरुवा रोपेर फुजी स्याउ बगैँचा बनाइएको छ। गुठीचौर एग्रो फार्म प्रालिका अध्यक्ष मीनबहादुर भण्डारीले आधुनिक स्याउ बगैँचा बनाएका हुन्। 

१८ हेक्टर जमिनमा रहेको त्यो बगैँचामा २२ करोड लगानी भएको छ। ४८ हजार बिरुवा रोपिएको छ। भण्डारीले २२ करोड लगानीमा ठूलो बगैँचा निर्माण गरेका हुन्।

त्यस्तै, गुठीचौर– ३ का टंक गिरीले साढे सात करोड लगानीमा २२ हेक्टर जग्गामा १४ हजार बिरुवा रोपेका छन्। उनले यो बगैँचा बनाएको दुई वर्ष भएको बताए। हिमाली टी एन्ड एन एग्रो फर्म’ दर्ता गरी गिरीले बृहत् बगैँचा निर्माण गरेका हुन् । यसको मुख्य उद्देश्य भनेकै आम्दानीसँगै रोजगारी सिर्जना भएकाले भविष्यमा स्याउबाटै सयौँलाई रोजगारी दिन सकिन्छ। 

यहाँ स्याउ सुपरजोन र कृषि विकास कार्यालय जुम्लाले पनि लगानी गर्दै आएका छन्। कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि प्रसारलाई एउटै छानामुनि ल्याएर समन्वयात्मक रूपले सञ्चालन गर्न सकेको खण्डमा जुम्ला कृषिक्रान्तिको आधार बन्न सक्ने देखिन्छ।