१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o५:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

आज न्यायपरिषद् बैठक : उच्चमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:५८:oo

सम्मानजनक नियुक्ति गर्न बारको ध्यानाकर्षण

सर्वाेच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि बुधबार न्यायपरिषद् बैठक बस्दै छ । परिषद्ले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने  सम्भावना छ ।

सोमबार बसेको परिषद् बैठकमा पनि न्यायाधीश नियुक्ति हुन सकेको थिएन । भागबन्डाको राजनीतिले लामो समयदेखि न्यायाधीश नियुक्ति अवरुद्ध हुँदै आएको छ ।

परिषद्का अनुसार गत वर्ष साउनमा उच्चका २७ न्यायाधीशका लागि आवेदन आह्वान भएकोमा संक्षिप्त सूचीसमेत तयार भइसकेको छ । त्यसलाई अन्तिम रूप दिन बाँकी छ । 

सहमति जुटे सर्वाेच्चमा पनि न्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी छ । हाल सर्वोच्चमा ६ न्यायाधीशको दरबन्दी रिक्त छ । उच्चमा ४१ जना न्यायाधीशको पद रिक्त छ । 

पहिलोपटक परिषद्ले न्यायाधीश नियुक्तिको निर्देशिकाअनुसार उच्चको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएको छ । परिषद्ले १० साउन ०७९ मा संविधान, न्यायपरिषद् ऐन र न्यायाधीश नियुक्तिको मापदण्डबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई १० दिनभित्र विवरण पेस गर्न सूचना निकालेको थियो । त्यसमा अढाई सयभन्दा बढी इच्छुक देखिएका थिए । सूचीमा रहेकामध्ये अन्तिम सूची प्रकाशित भएको छैन । 

उच्चमा न्यायाधीश नियुक्तिको विषयमा नेपाल बार एसोसिएसनले चासो राखेको छ । कानुन व्यवसायी पृष्ठभूमिबाट पनि न्यायाधीश नियुक्ति गर्न बारले न्यायपरिषद्लाई स्मरण गराएको छ । 

बारकी महासचिव अञ्जिता खनालले मंगलबार विज्ञप्ति जारी गर्दै उच्चमा न्यायाधीश नियुक्त गर्दा कानुन व्यवसायीहरूको पनि सम्मानजनक संख्या हुनुपर्ने माग गरेकी छिन् । ‘अदालतमा न्यायाधीश नियुक्ति गर्दा सक्षम एवं योग्य व्यक्तिहरू मात्रै न्यायाधीश नियुक्ति गर्नुपर्दछ भन्ने आफ्नो मान्यता रहेको’ बारको विज्ञप्तिमा छ । 

‘उच्च अदालतका न्यायाधीशहरू नियुक्ति गर्दा विगतका परम्पराहरूसमेतलाई मध्यनजर गरी कानुन व्यवसायीको क्षेत्रबाट सम्मानजनक संख्यामा नियुक्त गर्नुहुन नेपाल बार एसोसिएसन न्यायपरिषद्को ध्यानाकर्षण गर्न चाहन्छ,’ विज्ञप्तिमा छ । 

पूर्वन्यायाधीश फोरमले पनि नियुक्तिमा राम्रा न्यायाधीश ल्याउन सुझाव दिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई शुभकामना दिँदै फोरमले मंगलबार जाँदाजाँदै राम्रो काम गरी बिदा हुन सुझाएको पूर्वन्यायाधीश एकराज आचार्यले बताए । 

‘बारबाट वा क्याडरबाट लगे पनि राम्रोभन्दा राम्रो लानुपर्‍यो भन्यौँ,’ फोरमका सदस्य आचार्यले भने, ‘राम्रो काम थाल्नुस् । छोटो समय छ, राम्रो काम गरेर जानुस् भन्ने हाम्रो सुझाव थियो ।’ भेटमा फोरमका अध्यक्ष टोपबहादुर सिंहसहित केही कार्यसमिति सदस्य तथा पूर्वन्यायाधीशहरू सहभागी थिए । 


 

ad
ad