१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
म्याथ्यु ससेक्स
२o८१ जेठ ५ शनिबार o९:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

वागनर विद्रोहपछि थप कमजोर बनेका छन् पुटिन

Read Time : > 2 मिनेट
म्याथ्यु ससेक्स
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:o६:oo

कुरो ढिलोचाँडोको मात्रै हो, भ्लादमिर पुटिनको राजनीति अन्त्य हुने संकेत देखा पर्दै छ । राष्ट्रिय टेलिभिजनमा देशद्रोहीले कुको प्रयास गरेको भन्दै गृहयुद्धको चेतावनी दिएका पुटिनले केही घन्टामै अचानक आफ्नो नीति बदलेका छन् । क्रेमलिनले कु रच्ने नाइके येभगेनी प्रिगोजिन बेलारुस निर्वासनमा जाने र उनीविरुद्धका सबै आरोप खारेज गरिएको घोषणा गर्‍यो । पुटिनको संरक्षणमा खाद्य आपूर्तिकर्ताबाट रुसको कुख्यात भाडाका सिपाही समूह वागनर समूहका नाइके बनेका प्रिगोजिन राजनीतिक द्वन्द्वको केन्द्रमा आउनु अनौठो होइन । 

वागनर टुकडीमा रुसी सैनिकले आक्रमण गरेपछि प्रिगोजिन क्रुद्ध भएका थिए । यसअघि वागनर लडाकु रुसी सेनामा सामेल हुनुपर्ने मागलाई लिएर उनी हप्तौँदेखि मुर्मुरिएका थिए । प्रिगोजिनको प्रतिक्रिया असाधारण थियो । रक्षामन्त्री सर्गेई सोइगु र सेनापति गेरासिमोभसँग भिड्न प्रिगोजिन टुकडी नै लिएर अघि बढेका थिए । रोस्तोभ–अन–दनको दक्षिणी सैन्य जिल्ला मुख्यालय कब्जा गरेपछि प्रिगोजिनले मस्कोतर्फ आफ्नो टुकडी लैजानु आफ्नो मनसाय रहेको घोषणा गरेका थिए । भोरोनेझसम्म पुग्दा टुकडीले कुनै क्षति व्यहोरेको थिएन । त्यतिवेलै राष्ट्रघातीको सफाया गर्ने घोषणा सञ्चारमाध्यमबाट आयो ।

अचम्म त के भयो भने वागनर समूहले पुटिनको समय सकिएको र चाँडै नै नयाँ रुसी राष्ट्रपति चयन हुने प्रतिक्रिया दियो । र, वागनरको टुकडी क्रेमलिनतर्फ बढ्न थाल्यो र क्रेमलिनबाट मात्रै दुई घन्टा वर पुग्दा टुकडी एकाएक रोकियो । क्रेमलिनका प्रवक्ताले बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले एक सम्झौताको मध्यस्थता गरेको बताए । सम्झौताअनुसार प्रिगोजिनलाई सुरक्षासाथ बेलारुसको राजधानी मिन्स्कसम्म जान दिइनेछ, जहाँ उनले अफ्रिकामा फैलिएको वागनरको सैन्य सञ्जालमा नियन्त्रण पाउनेछन् । वागनरका लडाकुमाथि देशद्रोहको मुद्दा लाग्नेछैन र लडाकुलाई रुसी सेनामा समाहित गरिनेछ । सम्झौतामा सोइगु र गेरासिमोभले के पाए भन्ने खुलेको छैन । 

असंख्य सवाल : रुसी कोणबाटै हेर्ने हो भने पनि नतिजा उदेकलाग्दो छ । निःसन्देह धेरै विषय यस्ता छन्, जसलाई आधिकारिक घोषणाबाट बाहिरै राखिएको छ । यो परिस्थितिले पुटिनलाई गम्भीर क्षति पुर्‍याएको हुन सक्छ । सरकारलाई अपदस्थ गराउने प्रयास रोक्न अधिनायकवादी शासकले कुका नाइकेलाई कडाइसाथ अत्यधिक दमन गर्छ र कुको षड्यन्त्रकर्ताले गम्भीर परिणामको सामना गर्छन् । रुसमा त झन् कु पनि होइन, विद्रोहकै प्रयास भएको थियो । तर, रुसमा यस्तो दमन देखिएन, बरु उल्टै पुटिन सम्झौता गर्ने ठाउँमा तल परे । त्यसभन्दा पनि महत्वपूर्ण कुरो यस मामिलामा पुटिन टाढै थिए । यो सम्झौता विदेशी मुलुकका नेताको पहलकदमीमा भएको थियो, न कि रुसी नेतृत्वको पहलकदमीमा । 

एक तानाशाहले आफूविरुद्ध हुने विद्रोहका नाइकेलाई दण्ड दिन सक्दैन भने ऊ अधोगतितर्फ लागिरहेको छ भन्ने बुझ्नुपर्छ 

यसबाहेक पनि अन्य धेरै प्रश्न अनुत्तरित छन् । म सामना गर्न आँउदै छु भन्दाभन्दै प्रिगोजिनले विनाकुनै संघर्ष पूर्ण रूपमा दक्षिणी सैन्य जिल्ला मुख्यालयमा कसरी कब्जा जमाए ? चेकपोइन्टका बाबजुद उनको टुकडी मस्कोनजिक तुरुन्तै कसरी पुग्यो ? रुसको वायुसेनाले किन रोकेन ? रुसी गुप्तचर निकायले प्रिगोजिनको कदमबारे जानकारी कसरी पाएन ? जब कि अमेरिकी गुप्तचर निकायले जुनको मध्यमै प्रिगोजिनको कदमबारे जानकारी पाइसकेको थियो । 

पुटिनलाई क्षति : अहिलेको परिस्थिति पुटिनका लागि गम्भीर चिन्ताको विषय हुनुपर्छ । प्रिगोजिनको विद्रोह प्रयासमा रुसी राष्ट्रिय सुरक्षा संयन्त्रको भागिदारी नभए पनि उदासीनता भने पक्कै थियो । घटनाक्रमको सबैभन्दा सरल व्याख्या गर्ने हो भने पनि रुसलाई आन्तरिक रूपमै गम्भीर सुरक्षा खतरा छ ।

पुटिनका लागि त परिस्थिति झन् विकराल छ । प्रिगोजिनले राष्ट्रपतिको खुलेर आलोचना गर्दै उनलाई लाचार बनाउन सकिन्छ भन्ने नजिर स्थापित गराएका छन् । यसलाई प्रलोभन र धम्कीले राष्ट्रपतिसँग नजिकिएका रुसी सम्भ्रान्तले पनि देखेका छन् । एक तानाशाहले आफूविरुद्ध हुने विद्रोहका नाइकेलाई दण्ड दिन सक्दैन भने ऊ अधोगतितर्फ लागिरहेको छ भन्ने बुझ्नुपर्छ । रुसी बफादार राष्ट्रवादीले प्रिगोजिनको आलोचना तब मात्रै गरे, जब पुटिनले सार्वजनिक रूपमै प्रिगोजिनको आलोचना गरे ।  

पुटिनलाई अब नयाँ भाष्य सिर्जना गर्ने गरी प्रस्तुति दिनुपर्ने चुनौती आइलागेको छ । ‘गृहयुद्धको खतरा’देखि ‘सब ठिकठाक छ’ भन्ने भाष्य सञ्चार गर्न अब निकै गाह्रो छ । यसबाहेक हिजोसम्म पुटिनका मित्र मानिएका प्रिगोजिनले यदि अहिले युक्रेन युद्धको आधार नै गलत हो भन्दा आउने परिस्थितिलाई कसरी सम्बोधन गर्ने भन्ने पनि चिन्ताको विषय छ । 

अबको सम्भावना :  यदि परिस्थिति पुटिनअनुकूल छैन भने यो युक्रेनका लागि सुखद हुनेछ । तर, तत्कालका लागि युद्धमा भने कुनै अन्तर देखिनेछैन । वागनर बललाई सीमाबाट पहिले झिकिसकिएको थियो र युक्रेनी सैन्यदल रुसी सेना र अन्य परिचालित सेनाविरुद्ध लडिरहेका छन् । हरेक दबाइएका विद्रोहमा दोषीको खोजी हुन्छ र तिनलाई सिध्याइन्छ । रुसी सेना र गुप्तचरीमा यो प्रक्रियाले लामो समय लिने देखिन्छ ।

प्रिगोजिनले मध्यम दर्जाका सेनाबाट उल्लेख्य सदाशयता प्राप्त गरेको स्पष्ट छ र यी सेना सत्ताको चपेटामा पर्ने सम्भावना छ । तर, रुसी सत्ताको विडम्बना के छ भने युद्धका दौरान आवश्यक पर्ने सक्षम सेना यही तप्कामा छन् । यदि यो तप्का तारो बन्छ भने रुसी मनोबल थप गिर्नेछ । ढिलोचाँडो रुसी सुरक्षा एजेन्सीले रुसी असफलताको मुख्य दोषीसामु झुक्न बन्द गर्नेछ । पुटिनका लागि सम्भवतः सबैभन्दा ठूलो चिन्ता भनेको आफूले प्रवद्र्धन गरेका सम्भ्रान्त हुन्, जसलाई वागनर प्रकरणपछि आफैँविरुद्ध एकताबद्ध हुने मौका जुरेको छ । 
(ससेक्स अस्ट्रेलियन नेसनल युनिभर्सिटीको रणनीति एवं रक्षा अध्ययन केन्द्रका शोधकर्ता हुन्) द कन्भर्सेसनबाट

ad
ad