१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ड्रागन बोट रेस : दुवै विधाको उपाधि चिनियाँ टोली सिचुवानलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:४६:oo

चिनियाँ टोली सिचुवान ड्रागन बोट टिम (पहेंलो)ले पोखरामा सम्पन्न नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ अन्तर्गत ड्रागन बोट रेसको उपाधि हात पारेको छ।

पोखराको लेकसाइडमा रहेको क्याम्पिङ चोकस्थित फेवाताल किनारमा शुक्रबारदेखि सुरु फेस्टिभलअन्तर्गत शनिबार सम्पन्न रेसको फाइनल खेलमा दुई सय र पाँच सय मिटर गरी दुवै विधाको उपाधि सिचुवानले जितेको हो। रेसमा सहभागी अन्य सात टोलीलाई पछि पार्दै सिचुवान दुवै विधाको उपाधि हात पार्न सफल भएको हो।

शनिबार सम्पन्न फाइनल खेलमा नेपाली टोली नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) ड्रागन बोट टिम (रातो)लाई पराजित गर्दै दुवै विधाको उपाधि सिचुवानले हात पारेको हो।

विजेता सिचुवानले दुई सय मिटरको दूरी ५३.८१ सेकेन्डमा र पाँच सय मिटरको दुरी दुई मिनेट २०.९० सेकेन्डमा पार गर्दै दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको रेसको उपाधि जित्यो। उपविजेता नाराले दुई सय मिटरको दूरी ५६.४३ सेकेन्डमा र पाँच सय मिटरको दूरी दुई मिनेट २३.८३ सेकेन्डमा पार गरेको थियो। नेपाली टोली दुवै विधामा चिनियाँ टोलीभन्दा मात्र तीन सेकेन्डले पछि पर्दा उपाधि जित्न असफल भएको हो।

अर्को चिनियाँ टोली युनान ड्रागन बोट टिम (सेतो)ले नेपाली टोली नेपाल राफ्टिङ एन्ड क्यानोनिङ एसोसियसन (एनआरसिए) ड्रागन बोट टिम (रातो)लाई पराजित गर्दै तेस्रो भयो। तेस्रो स्थान हात पारेको युनानले दुई सय मिटरको दूरी ५७.३१ सेकेन्डमा र पाँच सय मिटरको दूरी दुई मिनेट २९.२८ सेकेन्डमा पूरा गरेको थियो। यसैगरी, एनआरसिएले दुई सय मिटरको दूरी एक मिनेट ०१.४५ सेकेन्डमा र पाँच सय मिटरको दूरी दुई मिनेट ३१ः१४ सेकेन्डमा पार गरेको थियो।

दुवै विधाको उपाधि विजेता सिचुवानले पाँच लाख ५० हजारका दरले गरी कुल ११ लाख, उपविजेता नाराले तीन लाख ५० हजारका दरले कुल सात लाख र तेस्रो भएको युनानले दुई लाखका दरले नगद चार लाख सँगै सिल्ड, मेडल पुरस्कार पाए । विजेताको पुरस्कारसँगै सहभागी सम्पूर्ण आठ टोलीलाई नगद एक–एक लाख र मायाको चिनो प्रदान गरिएको थियो।

विजेता टोलीसँगै रेसमा नेपालको फेवालेक ड्रागन बोट टिम (पहेँलोे), नेपालको पोखरा महानगरपालिका ड्रागन बोट टिम (निलोे), सिंगापुरको एसजी ड्रागन (निलोे) र नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट टिम (सेतो) गरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।

ad
ad