१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ड्रागन बोट रेस : दुवै विधामा चिनियाँ टोली सिचुवानको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:३७:oo

पोखरामा सुरु नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा चिनियाँ टोली सिचुवान ड्रागन बोट टिम (पहेँलो)ले अग्रता लिन सफल भएको छ।

पोखराको लेकसाइडमा रहेको क्याम्पिङ चोकस्थित फेवाताल किनारमा शुक्रबारदेखि सुरु फेस्टिभलअन्तर्गत बोट रेसको दुई सय र पाँच सय मिटर गरी दुवै विधामा सिचुवानले सहभागी अन्य सात टोलीलाई पछि पार्दै पहिलो दिन अग्रता लिन सफल भएको हो।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना, पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवं होटेल एसोसिएसन अफ नेपाल (हान), नेपाल एसाेसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एन्ड क्यानोइङ एसाेसियएनसँगको सहकार्यमा सुरु फेस्टिभल शनिबारसम्म चल्नेछ।

दुई चरणमा भएको रेसअन्तर्गत दुई सय मिटरको दूरी सिचुवानले पहिलो चरण ५३.६८ सेकेन्ड र दोस्रो चरण ५५.१३ सेकेन्डमा पार गर्दै कुल एक मिनेट ४८.८१ सेकेन्डमा पूरा गर्दै प्रतियोगितामा अग्रता लिएको हो। पाँच सय मिटरमा सिचुवानले अग्रता लिने क्रममा पहिलो चरण दुई मिनेट १८.९९ सेकेन्ड र दोस्रो चरण दुई मिनेट १९.३४ सेकेन्डमा पार गर्दै कुल चार मिनेट ३८.३३ सेकेन्ड समय लगाएको थियो।

दुवै विधामा दोस्रो स्थानमा रहेको नेपाल एसाेसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) ड्रागन बोट टिम (रातो)ले दुई सय मिटरतर्फ पहिलो चरण ५७.१८ र दोस्रो चरण ५५.९६ सेकेन्ड गरी कुल एक मिनेट ५३.१४ सेकेन्डमा पूरा गरेको  थियो। पाँच सय मिटरतर्फ नाराले पहिलो चरण दुई मिनेट २२.८६ र दोस्रो चरण दुई मिनेट २४.४३ सेकेन्ड गरी कुल चार मिनेट ४७.२९ सेकेन्डमा पूरा गरेको थियो।

दुवै विधामा तेस्रो स्थानमा रहेको चीनको युनान ड्रागन बोट टिम (सेतो)ले दुई सय मिटरतर्फ पहिलो चरण ५६.९० र दोस्रो चरण ५८.८७ सेकेन्ड गरी कुल एक मिनेट ५५.७७ सेकेन्डमा पूरा गरेको थियो। पाँच सय मिटरतर्फ युनानले पहिलो चरण दुई मिनेट २७.०५ र दोस्रो चरण दुई मिनेट २६.१७ सेकेन्ड गरी कुल चार मिनेट ५३.२२ सेकेन्डमा पुरा गरेको थियो।

यस्तो हुन्छ रेस
रेसका लागि विशेष खालका ड्रागनजस्तै देखिने गरी तयार गरिएका आठबटा बोटसँगै आवश्यक सामग्रीहरू गत जेठ तेस्रो साता चीनबाट पोखरा ल्याइएको थियो । यस्ता बोटको इतिहास दुई हजार वर्ष पुरानो रहेको बताइएको छ।

रेसका क्रममा बोटमा १२ खेलाडी रहन्छन्। तीमध्ये एकजना सबैभन्दा अगाडि बसेर चाइनिज ड्रम बजाउँछन् भने पछाडि बस्ने एकजनाले बोटको बाटो अर्थात् दिशा मिलाउने काम गर्छन्। बजाएको ड्रमको तालमा बोटको बीचभागमा बसेका १० जनाले खियाउने काम गर्छन् । यसप्रकारको बोटरेस विश्वका ५० भन्दा  बढी देशमा आयोजना गरिएको र एसियन गेममा समेत समावेश हुँदै आएको बताइएको छ।

रेसको पाँच सय मिटरतर्फ विजेताले पाँच लाख, उपविजेताले तीन लाख र तेस्रोले दुई लाख तथा दुई सय मिटरतर्फ विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेस्रोले एक लाख पुरस्कार पाउँछन्। सहभागी अन्य टोलीले समेत नगद पुरस्कार पाउने बताइएको छ।

ad
ad