१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भारतीय संसदमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे बुझ्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन

संसदीय समितिमा परराष्ट्रमन्त्री साउद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५८:oo

सरकारले भारतीय संसदमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे बुझ्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । नेपालको कपिलवस्तु र लुम्बिनीलाई समावेश गरिएको नक्साको विषयमा चौतर्फी प्रश्न उठेपछि परराष्ट्र मन्त्रालयले आफ्नो कूटनीतिक संयन्त्र परिचालन गरेको हो । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबार बसेको बैठकमा उपस्थित परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘भारतको नयाँ संसदमा राखिएको अखण्ड भारत नामक मुरल नक्साबारे भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेका छौँ ।’ यस विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कुराकानी भएको उनले जानकारी दिए । 

एनपी साउद, परराष्ट्रमन्त्री
भारतको नयाँ संसदमा राखिएको अखण्ड भारत नामक मूल नक्साबारे भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेका छौँ ।

नेपालको नयाँ नक्साबारे सरकार स्पष्ट रहेको भन्दै मन्त्री साउदले भारतीय संसद् भवनमा राखिएको मुरल नक्सा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको भनेर क्याप्सनमा लेखिएको र यो राजनीतिक विषय नरहेको भनेर भारत सरकारको तर्फबाट विदेशमन्त्रीले आधिकारिक धारणा दिइसकेको पनि जानकारी गराए । 

नक्साबारे आफूले नयाँदिल्लीमा दिएको अन्तर्वार्ताका विषयमा पनि प्रश्न उठेको भन्दै मन्त्री साउदले भने, ‘दुई देशको संवेदनशील सम्बन्ध, त्यसमा पनि प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्रीले बोलेको अभिव्यक्तिले भ्रमण र त्यो देशको सम्बन्धका बारेमा आधिकारिक जानकारी नलिइकन प्रतिक्रिया दिनु परिपक्व हुँदैनथ्यो । त्यसकारण दूतावासले स्पष्ट रूपमा त्यसका बारेमा रिपोर्ट नगर्दै वा भारतले नक्साको आधिकारिकता के हो भनेर स्पष्ट नगरुन्जेसम्म हामीले हतारमा प्रतिक्रिया दिने कुरा हुँदैन ।’ संसद् भवनमा राखिएको नक्सा नभई चित्र भएको जिकिर गर्दै साउदले भने, ‘नक्सामा बाउन्ड्री हुन्छ । चित्रमा बाउन्ड्री नहुन सक्छ । त्यसकारण त्यो चित्र राख्दा व्याख्या सम्बन्धित देशले गरेको छ ।’ 

मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहालको उपस्थितिलाई लिएर उठेको प्रश्नमा परिवारको सदस्यलाई भ्रमण दल सदस्यका रूपमा लाने प्रचलन रहेको बताए । ‘प्रोटोकलको बारेमा सबैलाई थाहा छ । राष्ट्रप्रमुख वा सरकार प्रमुखको भ्रमणमा स्पाउस (श्रीमती) वा परिवारको अतिनजिक सदस्य प्रतिनिधित्व गर्ने चलन हुन्छ,’ उनले भने ।

भ्रमणमा नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने गरी सहमति र सम्झौता भएको उनले जानकारी गराए । ‘भ्रमणमा पारवहनसन्धि भयो । विद्युत् व्यापारको दीर्घकालीन सम्झौता भयो । बंगलादेशसम्म बिजुली पुर्‍याउने सुनिश्चितता भएको छ । भ्रमण परिणाममुखी छ,’ उनले भने ।  समिति बैठकमा साउदले भ्रमणका क्रममा भएका सहमति, सम्झौता र उपलब्धि लिखित रूपमा राखेका थिए । सांसदहरूले भ्रमणको उपलब्धि, व्यवस्थापन, प्रोटोकल, इपिजी, सार्क, जलविद्युत्मा भारतको एकाधिकार, अखण्ड भारत, सीमा समस्या, हवाई रुट, डुबान, भारतसँग विश्वासको वातावरण, ग्रेटर नेपाल नक्सा, अग्निपथ योजना, फिल्म आदिपुरुषमा सरकारको धारणा, रामायण सर्किट, जलमार्गसम्म पहुँचको विषयमा जिज्ञासा राखेका थिए । 

ad
ad