१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २१:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढी उपमहानगरमा सेवाग्राहीका लागि ‘एसी’सहितको प्रतीक्षालय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३९:oo

धनगढी उपमहानगरपालिकाले कार्यालय परिसरभित्र एसीसहितको वातानुकुलित सेवाग्राही प्रतीक्षालय सञ्चालनमा ल्याएको छ । उपमहानगरले सेवाग्राहीको सहजताका लागि साढे २८ लाख रुपैयाँभन्दा बढीको लागतमा सुविधा सम्पन्न प्रतीक्षालय निर्माण गरेको हो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतीक्षालयको मंगलबार उद्घाटन गरे ।  अपांगतामैत्री प्रतीक्षालयमा एसी, पिउने पानी, मनोरञ्जनका लागि टेलिभिजन तथा नि:शुल्क इन्टरनेटलगायत सुविधा उपलब्ध छन् । 

यसअघि सेवाग्राहीले सेवा लिन समय लागे घामपानीमा उपमहानगरको कार्यालय परिसरभित्रका रुखमुनि बस्नुपर्ने अवस्था थियो । खासगरी गर्मीको वेला सेवाग्राहीले प्रतीक्षा गर्न समस्या भोग्दै आएका थिए । 

सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडापत्रसमेत राखिएको छ । जसमा उपमहानगरबाट कुन सेवा लिन के के कागजात आवश्यक पर्छ, उक्त सेवाका लागि कार्यालयको कुन कुन कोठामा जाने, त्यसका लागि कति शुल्क र समय लाग्छ, जिम्मेवार अधिकारी, सेवाबारे गुनासो सुन्ने अधिकारीलगायत विषयमा जानकारी राखिएको छ ।
 
डिजिटल बोर्डमा उपमहानगरपालिकाको कार्यालय र नगरभित्रका वडा कार्यालयले दिने सबै प्रकारका सेवाका शीर्षकहरू राखिएका छन् । डिजिटल बोर्डको ‘स्क्रिन’ मा राखिएका सेवाका शीर्षकहरूमध्ये सेवाग्राहीले आफू लिन चाहेको सेवासम्बन्धी शीर्षकमा ‘टच’ गरेर सेवा लिँदा लाग्ने शुल्क, समय, आवश्यक कागजात, सम्बन्धित अधिकारी, जानुपर्ने कोठा, प्रक्रिया आदिबारे जानकारी लिन सक्ने व्यवस्था गरिएको उपमहानगरले जनाएको छ ।

धनगढीका नगर प्रमुख गोपाल हमालले उपमहानगरपालिकामा आउने सेवाग्राहीले आत्मसम्मान महसुस गरुन् भनेर सुविधा सम्पन्न र प्रविधिमैत्री प्रतीक्षालय सञ्चालनमा ल्याइएको बताए । ‘नागरिक सर्वोत्तम हुन् भन्ने मनसायले सेवा दिन खोजेका हौँ । सेवाग्राहीले हिजो रुखमुनि बस्नुपर्थ्याे,’ मेयर हमालले भने, ‘सेवाग्राहीलाई सहजता र आत्मसम्मान महसुस होस् भनेर प्रतीक्षालय बनाएका हाैँ ।’ 

आफू निर्वाचित भएर आएपछि सुरुमै यो निर्णय गरे पनि भवन बन्न केही समय लागेको उनले बताए । प्रतीक्षालयमा सेवाग्राही जम्मा भइसकेपछि मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिृकत त्यही कक्षमा गएर सेवाग्राहीको गुनासो सुन्ने अभ्यास थालिने पनि उनले बताए । 

उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी रानाले २२ लाख ५१ हजार रुपैयाँको लागतमा प्रतीक्षालय भवन स्थापना गरिएको जानकारी दिइन् । एसी, डिजिटल वडापत्र, खानेपानी, टिभीलगायत प्रविधि र सुविधामा थप छ लाख २८ हजार रुपैयाँ खर्च भएको उनले बताइन् । ‘कतिपय कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यस्तो बेला सेवाग्राहीलाई सहज होस् भनेर सुविधा सम्पन्न प्रतीक्षालय स्थापना गरेका हौँ,’ उनले भनिन् ।

प्रतीक्षालयको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले उपमहानगरको यो कार्य प्रशंसनीय रहेको बताए । यसले लामो समय लाइनमा बस्नुपर्ने, घाममा कुर्नुपर्ने कार्यबाट सेवाग्राहीले मुक्ति पाउने उनले विश्वास व्यक्त गरे । जनताको पहिलो सरोकार राख्ने निकाय स्थानीय तह भएकाले स्थानीय तहले सेवा प्रवाहलाई प्रभावकारी बनाउनेसँगै गुनासो सहज रूपमा सम्बोधन गर्ने गरी काम गर्नुपर्ने धारणा उनले राखे ।