Skip This
प्रदेशकै ‘उत्कृष्ट अस्पताल’मा विद्युत् काटिँदा बन्द हुन्छ डायलाइसिस सेवा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २६ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o जेठ २६ शुक्रबार १३:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेशकै ‘उत्कृष्ट अस्पताल’मा विद्युत् काटिँदा बन्द हुन्छ डायलाइसिस सेवा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २६ शुक्रबार १३:२३:oo

प्रदेशको उत्कृष्ट प्रादेशिक अस्पताल सिराहामा आज (शुक्रबार) आठजना मिर्गौला रोगी डायलाइसिस गराउन भर्ना भएका छन्। 

डायलाइसिस सुरु भए पनि पटक–पटक विद्युत् कटौती हुँदा उनीहरूलाई नियमित चार घन्टा गर्नुपर्ने डायलाइसिस प्रभावित बनेको छ। 

औरही गाउँपालिका– ४ का रामएकवाल यादव, सिराहा नगरपालिका– ६ का सुरेन्द्र यादवलगायत आठजनाको डायलाइसिस भइरहेको अवस्थामा विद्युत् काटिँदा सेवा नै पटक–पटक रोकिँदै आएको छ।

डायलाइसिस गराउन आएका रामएकवालले प्रशासनलाई ध्यानाकर्षण गराए पनि कुनै वास्ता नभएको बताए। ‘चर्को गर्मीले विद्युत् काटिँदा डायलाइसिस कक्षमा बस्न सक्ने अवस्था पनि हुँदैन,’ यादवले भने, ‘अर्काेतिर नियमित चार घन्टा डायलाइसिस पनि हुँदैन।’

डायलाइसिस गराउन आउने रोगीलाई निकै अप्ठ्यारो भइरहेको प्रादेशिक अस्पताल सिराहाका सूचना अधिकारी अशोककुमार सिंहले बताए। प्रदेश सरकारले जेनेरेटर खरिद गर्न रकमको सुनिश्चितता नगरेकाले खरिद प्रक्रिया अगाडि बढाउन नसिकएको भन्दै सूचना अधिकारी सिंहले भने, ‘हामीसँग पैसा छैन। प्रदेशले पैसाको सुनिश्चितता गरेपछि जेनेरेटर खरिद प्रक्रिया  अगाडि बढाउँछु।’

आकस्मिक रूपमा बिग्रिएको वेला, कतै कुनै समस्या आएको वेला विद्युत् काट्नुपरेको विद्युत् प्राधिकरण सिराहा वितरण केन्द्रका प्रमुख रामअयोध्या यादवले बताए। ‘कुनै वेला नेपालबाट र कुनै वेला भारतबाट लाइन लिनुपर्छ,’ प्रमुख यादवले भने, ‘विद्युत् काट्ने कुनै सेड्युल नभएकाले जानकारी गराउन सकिएको छैन। प्राविधिक कठिनाइ हाम्रा लागि पनि छ। उहाँहरूले वैकल्पिक व्यवस्था गरिराख्नुपर्छ। कतै तार चुँडियो, कतै केबल काटियो भने त्यो हाम्रो काबुबाहिरको कुरा हुन्छ।’

आन्दोलन र ध्यानाकर्षण

टाढा–टाढाबाट डायलाइसिस गराउन आइपुगेका पीडितहरूले आफूहरूको नियमित डायलाइसिस हुनुपर्ने भन्दै आन्दोलनसँगै स्थानीय प्रशासनलाई ध्यानाकर्षण पनि गराएका छन्। नियमित चार–चार घन्टा डायलाइसिस नभइरहेको भन्दै रोगीहरू प्रादेशिक अस्पतालअगाडिको मुख्य सडकमा चर्को घाममा विरोधमा उत्रिएका थिए।

त्यसलगत्तै उनीहरूले जिल्ला प्रशासन कार्यालय सिराहामा आफूहरूको डायलाइसिस सेवा नियमित हुनुपर्ने मागसहित ध्यानाकर्षण गराएका थिए।

प्रादेशिक अस्पताल सिराहामा ४६ जनाले नियमित रूपमा डायलाइसिस गराउँदै आएका छन्।  जसमध्ये दैनिकजसो आठ–नौजनाको पालो आउने गरेको छ। सातामा दुई दिन अनिवार्य डायलाइसिस गराउनुपर्छ।
 
गत चैत २९ गते प्रादेशिक अस्पताल सिराहाको ठूलो जेनेरेटरमा आगलागी भएर जेनेरेटर क्षतिग्रस्त भएदेखि डायलाइसिस सेवा प्रभावित हुँदै आएको छ। करिब दुई महिनादेखि डायलाइसिस सेवा प्रभावित भइरहँदासमेत अस्पताल प्रशासन, स्थानीय सरकार र प्रदेश सरकारले वास्ता नगरेको पीडितको आरोप छ।