मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २३ मंगलबार ११:२३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

शरीरमा पानीको कमीले देखिने समस्या 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २३ मंगलबार ११:२३:००

शरीर स्वस्थ राख्नका लागि पानी प्रशस्त पिउनुपर्छ । पानीको कमी हुँदा डिहाइड्रेसन हुन सक्छ, मुड परिवर्तन हुने, अत्यधिक गर्मी महसुस हुने, कब्जियत र किड्नीमा समस्या देखिनेसमेत हुन सक्छ । औसतमा एउटा मानिसले दैनिक दुईदेखि तीन लिटर पानी पिउन जरुरी छ ।

यद्यपि, व्यक्तिको उमेर, शारीरिक सक्रियता, मौसम र समग्र स्वास्थ्यअनुसार यसमा फरक पर्न सक्छ । एकैपटक धेरै पानी पिउने गर्नु पनि हुँदैन । थोरै–थोरै गरेर आवश्यकताअनुसार दैनिक कम्तीमा दुईदेखि तीन लिटरसम्म पानी पिउनुपर्छ ।

पानीको कमी हुँदा तिर्खा लाग्छ, पिसाब पहेँलो हुन्छ । पिसाब पहेँलो भएको छैन भने पानी पुगेको छ भनेर बुझ्नुपर्छ । अत्यधिक गर्मी भएका वेला, पसिना धेरै बगेको वा शरीर अत्यधिक सक्रिय भएको वेला आवश्यकताअनुसार पानीको मात्रा पनि बढाउनुपर्छ । 

तापमान नियन्त्रणमा राख्न, पाचनतन्त्र बलियो बनाउन, अंगहरूलाई सक्रिय बनाउन, हाडजोर्नीलाई नरम बनाउन, सेल्सहरूमा पोषण पुर्‍याउन, शरीरमा काम नलाग्ने पदार्थलाई बाहिर निकाल्न शरीरमा पानीको मात्रा पर्याप्त हुनुपर्छ । पानीको कमीले मुख सुक्खा हुने, बान्ता हुने, ज्वरो आउने, पेटको समस्या देखिने आदि समस्या देखिन सक्छ । 

मिर्गौलामा समस्या : शरीरमा पानीको कमी हुँदा मिर्गाैलामा समस्या देखिने गर्छ । रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्दा मिर्गौलामा असर पुग्छ । पानीको कमी हुँदा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन र मिर्गौलामा समस्या देखिने गर्छ । 

रक्तचापमा कमी : शरीरमा पानीको कमीका कारण एक्कासि शरीरमा रक्तचाप (ब्लडप्रेसर) घट्ने हुन्छ  । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेलगायतका समस्या देखिन्छ । मुटुको चाल बढ्नेजस्ता जटिल समस्या पनि देखिन सक्छ । 

छालासम्बन्धी समस्या : शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने, चाउरी पर्ने, ओठ फुट्ने, सुक्खा हुने, छालामा चमक हराउने हुन्छ ।

मुड परिवर्तन : शरीरमा पानीकै कमीले रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्ने हुन सक्छ  । जसले गर्दा मानसिक असर पर्छ । 

जोर्नी र मांसपेशीमा समस्या : पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । पानीको मात्रा कम हुँदा हाडजोर्नी बाउँडिने, शरीर दुख्नेलगायतका समस्या हुन्छ । 

पाचनसम्बन्धी समस्या : पानीको कमी हुँदा क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ  र पाचनसम्बन्धी समस्या आउँछ । पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने, झाडापखाला लाग्ने, बान्ता हुने, खान मन नलाग्नेलगायतका समस्या देखिन्छ । 

टाउको दुख्ने : शरीरमा पानीको कमी भएमा टाउको भारी हुने, दुख्ने, ज्वरो आउने, थकान महसुस हुने, चक्कर लाग्ने हुन्छ । मस्तिष्कको कार्यक्षमतामा पनि यसले ह्रास ल्याउँछ । मस्तिष्कले राम्ररी काम गर्न पानीको मात्रा पर्याप्त हुनुपर्छ । अन्यथा, ध्यान केन्द्रित गर्न नसक्ने, थकान, टाउको दुख्नेलगायत समस्या देखिन्छन् । 

के गर्ने ?
- गर्मीयाममा पातलो कपडा लगाउने ।
- दिउँसो घाम लागेको समय, तापक्रम बढेको समयमा व्यायाम नगर्ने ।
- पानी खाइरहने । दिनमा पटक–पटक गरेर कम्तीमा दुईदेखि तीन लिटरसम्म पानी पिउने । 
- जुस र फलफूल खाने ।
- अल्कोहलजन्य खानेकुरा नखाने । 
- अन्य थप समस्या देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहबमोजिम गर्ने ।