१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल काठमाडाैं
Invalid date format o८:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तुलसी बहुउद्देश्यीय सहकारीको ठगी प्रकरण : उपाध्यक्ष, सचिव र प्रबन्धक चेल चलान, अध्यक्ष शर्मासहित पाँच अझै फरार 

Read Time : > 1 मिनेट
गणेश लम्साल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२३:oo

विराटनगरमा प्रधान कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका तीनजना जेल चलान भएका छन् । मोरङ प्रहरीले गत २९ फागुनमा पक्राउ गरेका सहकारीका प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने अदालतको आदेशबाट पुर्पक्षका लागि चेल चलान भएका हुन् । 

निक्षेप हिनामिना गरेको आरोपमा उजुरी परेपछि प्रहरीले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित आठ संचालकविरुद्ध ठगी मुद्दा दायर गरेको थियो । प्रतिवादी बनाइएका अध्यक्ष शर्मा, सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई र छविलाल विश्वकर्मा अझै फरार छन् । एसपी दीपक पोखरेलका अनुसार उनीहरूले ६७ करोड ७६ लाख २१ हजार दुई सय ६८ रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको थियो । 

निक्षेप हिनामिना गरिएको भन्दै एक हजार तीन सय सातजनाले प्रहरीमा उजुरी दिएका थिए । जसबाट ५० करोड ८८ लाख ७८ हजार सात सय २८ रुपैयाँ ठगी गरेको प्रहरीको मागदाबी छ ।  अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार पाँच सय ४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ । शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको थियो । मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखापरीक्षण प्रतिवेदनअनुसार शर्माले सहकारीको करोडौँ रुपैयाँ दुरुपयोग गरी आफ्नो निजी कम्पनी र जग्गामा लगानी गरेको खुलेको थियो । 

शर्माले निजी खाद्यान्न, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि घरजग्गा कारोबारसम्ममा लगानी गरेको खुलेको छ । तुलसी सहकारीले मोरङ, उदयपुर, सिराहा र झापामा कार्यालय खोलेर सर्वसाधारणबाट निक्षेप संकलन गर्दै आएको थियो ।  उनीहरूलाई सहकारी ऐनको दफा १२२ बमोजिम ६ देखि ८ वर्षसम्म कैद सजाय र विगो ५० करोड ८८ लाख ७८ हजार ७२८ जाहेरवालाहरूलाई र १६ करोड ९७ लाख ४२ हजार पाँच सय ४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगोबमोजिम जरिवाना तथा कैद सजाय मागदाबी गरेर अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए । 

तुलसी सहकारीका सञ्चालकले तीन हजार ६३ सर्वसाधारणले जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार नौ सय ९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । विराटनगरमा केन्द्रीय कार्यालय रहेको यो सहकारीमा सबैभन्दा बढी विराटनगरमा एक हजार नौ सय ७८ जनाले ६० करोड ४१ लाख आठ हजार आठ सय ६२ रुपैयाँ निक्षेप गरेको उजुरी प्रहरीमा परेको छ ।

यो संस्थाले बाल बचत, ज्येष्ट नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत आर्कषक खाताहरू सञ्चालन गरेर सर्वसाधारणबाट बचत संकलन गर्दै आएको थियो । यो सहकारीले विराटनगरबाहेक झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा पनि शाखा कार्यालय स्थापना गरेर कारोबार गर्दै आएको छ । 

विराटनगर महानगरपालिकाले चालू वर्षमा नियम पालना नगर्ने १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सञ्चालनमा रहेका सहकारीहरूले लामो समयदेखि लेखापरीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार १५ वटाको दर्ता खारेज गरिएको महानगरले जनाएको छ ।