१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीप दक्षिण अफ्रिका जाँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२३:oo

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आइसिसी विश्वकप एकदिवसीय छनोट खेलमा सहभागी हुन तथा अभ्यास खेलका लागि दक्षिण अफ्रिका जाने भएका छन् । गत साता सन्दीपविना नै नेपाली टोली दक्षिण अफ्रिका पुगेको थियो । सर्वोच्च अदालतमा पेसी हुँदा सन्दीप नेपाली टोलीसँगै जान नपाएका हुन् । सर्वोच्च अदालतमा सन्दीपको अगामी पेसी २९ असारसम्मलाई सरेको छ । तत्कालै मुद्दाको पेसी नभएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई सोमबार साँझ दक्षिण अफ्रिका पठाउन लागेको हो । 

क्यानले सन्दीपको भ्रमणका लागि सबै व्यवस्थापन गरेको छ । ‘सन्दीप दक्षिण अफ्रिका सोमबार बेलुका उड्नेछन्, क्यानले सबै व्यवस्थापन गरिसकेको छ,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले नयाँ पत्रिकासँग भने, ‘सन्दीपको पेसी २९ असारलाई सारेको कारण हामीले उनलाई नेपाली टोलीसँगै अभ्यास खेल र ग्लोबल छनोटका लागि पठाउन लागेका हौँ ।’ सर्वोच्च अदालतमा सन्दीपको मुद्दा अझै विचाराधीन अवस्थामा छ । पाटनको उच्च अदालतबाट सन्दीप धरौटीमा छुटेका थिए । तर, प्रत्येकपटक पेसी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने अवस्थाबाट सन्दीप गुज्रिराखेका छन् । यसै प्रावधानका कारण सन्दीप अहिले यतै रोकिएका थिए । 

लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारी गरिरहँदा मुख्य प्रशिक्षक मोन्टी देसाई भिसाका कारण रोकिएका छन्

सन्दीपका वकिलहरूले अदालतलाई अर्को पेसी डेढ महिनापछि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको हो । २९ असारअगाडि पेसी नतोकिने भएकाले सन्दीपले जिम्बावेमा क्वालिफायर खेल्नसमेत पाउनेछन् । 

चारवटा अभ्यास खेल
नेपालले दक्षिण अफ्रिकामा चारवटा अभ्यास म्याच खेल्नेछ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग अभ्यास खेल्नेछ । ग्लोबल छनोट १८ जुनदेखि ९ जुलाईसम्म हुनेछ । नेपाल, वेस्ट इन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह एमा छन् । समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्नेछ । प्रत्येक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्स चरणका शीर्ष दुई टोलीले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकप खेल्नेछन् । 

भिसाको प्रतीक्षामा प्रशिक्षक देसाई
भारतीय नागरिक देसाईको दक्षिण अफ्रिकाको भिसा आइसकेको छैन । ब्रेकको समयमा उनी अमेरिकामा निजी भ्रमणमा थिए । उनले त्यहीँबाट दक्षिण अफ्रिकाका लागि भिसाका लागि निवेदन दिएका थिए । तर, दक्षिण अफ्रिकाले देसाईको भिसा स्वीकृति दिएन । त्यसपछि देसाई भारत फर्केका थिए । भारतबाट दक्षिण अफ्रिकाका लागि उनले पुनः भिसा प्रक्रिया अगाडि बढाए ।

हालसम्म उनको भिसा आएको छैन । प्रशिक्षकको भिसा समयमा नआउँदा नेपाली टोली प्रशिक्षकविना नै दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको छ । ‘प्रशिक्षक देसाईको भिसा प्रक्रियामा छ, एक वा दुई दिनभित्र आउन सक्छ,’ क्यानका कार्यवाहक सचिव पाठकले भने ।