१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०८० जेठ १९ शुक्रबार २२:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विषालु जंगली च्याउ खाँदा आमाछोराको ज्यान गयो

Read Time : < 1 मिनेट
२०८० जेठ १९ शुक्रबार २२:१३:००

धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनका सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ ।

सहिदभूमि गाउँपालिका– ३ घर भई हाल धनकुटा नगरपालिका– ७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । 

जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा बिहान ९ः१५ बजे आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । 

सिकिस्त रहेका उनका छोराको पनि आइसियू कक्षमा उपचारका क्रममा बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिए । प्रहरी सञ्चार शाखाका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा– ७ मा रहेको चुलिवन जंगलबाट जंगली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए । 

जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । उपचारमा संलग्न जिल्ला अस्पतालका डा. डुराण्डसिंह खड्काका अनुसार पखाला लाग्ने र बान्ता हुने समस्या लिएर बुबाआमा र छोरा अस्पताल आएका थिए । उपचारपछि बुबा ठीक भएर आमा–छोराको स्याहारमा रहेका थिए भने आमा–छोराको स्वास्थ्यमा सुधार भइरहेको थियो । 

अचानक शुक्रबार मृतक आमाको रक्तचाप कम भई बेहोसीको अवस्था छाएको र छोराको मिर्गौलामा समस्या देखापरेको थियो । त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको डा. खड्काले जानकारी दिए ।