मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १९ शुक्रबार १२:००:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तातो हावा बन्न सक्छ घातक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १९ शुक्रबार १२:००:००

गर्मी मौसममा विभिन्न रोगले मानिसलाई सताइरहेको हुन्छ । यस समय विशेषगरी तराईका जिल्लामा तातो हावाले जनजीवन प्रभावित गरिरहेको हुन्छ । लामो समयसम्म अत्यधिक तापक्रममा बस्दा ‘लू’ लाग्ने खतरा हुन्छ । मानिस हिँड्दा, काम गर्दा वा खेल्दा तातो हावा तथा घामको असरले मुर्छा पर्ने वा बेहोस हुने हुन्छ । लू लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ । त्यसैले यो समयमा स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्ने हुन्छ । 

डा. रोशन झा, फिजिसियन सशस्त्र प्रहरी अस्पताल

यस्ता समस्या देखिन सक्छन्
- मुटुको गति तीव्र हुने
- श्वासप्रश्वासमा समस्या आउने
- अत्यधिक टाउको दुख्ने
- रिंगटा लाग्ने, बेहोस हुने
- आँखा पोल्ने
- छाला सुक्खा, रातो हुने 
- शरीर तातो हुने, उच्च ज्वरो आउने
- शरीरबाट पसिना ननिस्कने
- बेचैनी 

के गर्ने ?
- दिउँसोको समयमा बाहिर नहिँड्ने, हिँड्नै परे पातलो कपडाले टाउको छोप्ने, छाता ओढेर हिँड्ने ।
- चिसो पानीले नुहाउने ।
- चिया, कफी नपिउने, पर्याप्त पानी पिउने ।
- खेतबारीको काम सकभर बिहान–बेलुका मात्र गर्ने । 
- फलफूल खाने, मदिरा सेवन नगर्ने । 
- जथाभावी औषधि प्रयोग नगर्ने, कुनै समस्या देखिहालेमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहअनुसार औषधि उपचार गर्ने । 
- हल्का रङका सुतीका कपडा लगाउने ।
- बच्चा र वृद्धलाई पानीको कमी हुनबाट जोगाउने 

सम्भावित कारण 
अत्यधिक गर्मी हुने ठाउँमा लामो समयसम्म बस्दा लू लाग्न सक्छ । चिसो मौसमबाट अचानक गर्मी ठाउँमा जाँदा पनि लू लाग्ने जोखिम रहन्छ । अत्यधिक गर्मी भएको समयमा शारीरिक कसरत गर्नाले पनि लू लाग्न सक्छ । त्यस्तै, गर्मीमा अत्यधिक पसिना आएपछि पनि पर्याप्त पानी नपिउँदा यो समस्या देखिन सक्छ । अत्यधिक मदिरा सेवन गर्नेमा पनि शरीरको तापमान नियन्त्रण गर्ने क्षमता कम हुन्छ, यसकारण पनि लू लाग्न सक्छ । गर्मीमा हावा छिर्न नसक्ने खालका कपडा लगाउँदा पनि लू लाग्न सक्छ । 

के खाने ?
यस समय शरीरमा पानीको कमी हुन दिनुहुँदैन । पचाउन सहज, पानीको मात्रा र पर्याप्त पोषण भएका खानेकुरा लिनुपर्छ । काँक्रो, तरबुजा, अनार, पुदिना, किवी, प्याज, दहीलगायत शीतल बनाउने आहार लिनुपर्छ । हरियो सागसब्जी, फलफूल र जुस पर्याप्त लिनुपर्छ । खानामा काँक्रो समावेश गर्नाले शरीरमा पानीको कमी हुनबाट जोगिन सहयोग मिल्छ । यसमा भिटामिन सी, भिटामिन के, पोटासियमलगायत पोषक तत्व पाइन्छन् । यसले पाचन प्रणालीलाई पनि मजबुत बनाउँछ । दहीले पाचन प्रणाली सुधार्छ, आँत सुक्खा हुन दिँदैन । प्याजले शरीरलाई शीतल गर्छ । जसकारण, लूको प्रभाव कम भएर जान्छ । दही र प्याजको रायता बनाएर पनि पिउन सकिन्छ । पुदिनाले पनि शरीरलाई चिसो राख्छ । बेलमा प्रचुर मात्रामा फाइबर हुन्छ । यसले पाचन प्रणालीलाई मजबुत बनाउने काम गर्छ । यसमा भएको एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुणले रोगप्रतिरोधी क्षमता बढाउँछ ।