Skip This
क्लबहरूको दबाबपछि ‘ब्याक’ भयो एन्फा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १९ शुक्रबार
  • Saturday, 27 July, 2024
रमेश सुवेदी काठमाडाैं
२o८o जेठ १९ शुक्रबार o९:४६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्लबहरूको दबाबपछि ‘ब्याक’ भयो एन्फा

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १९ शुक्रबार o९:४६:oo

‘ए’ डिभिजन लिग चलिरहेका वेला खेलाडीलाई रिलिज नगर्ने १० क्लबको चेतावनीपछि एन्फाले बन्द प्रशिक्षण स्थगित गरेको छ

सहिद स्मारक ए डिभिजन लिगका १० क्लबको दबाबपछि बिहीबार राति अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो पूर्ववत् निर्णय उल्टाएको छ । लिगमा सहभागी १४ मध्ये १० क्लबले कुपन्डोलमा बसेको संयुक्त बैठकबाट आफ्ना खेलाडीलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा नपठाउने निर्णय गरेका थिए । एन्फाले सम्झौताअनुसार लिगको तयारी रकम, म्याच मनी, म्यान अफ दी म्याच नदिएको भन्दै १० क्लबले खेलाडी राष्ट्रिय टोलीका लागि फुकुवा नगर्ने निर्णय  लिएका थिए ।

क्लबहरूको दबाबपछि एन्फा आफ्नो निर्णय फिर्ता लिन बाध्य भएको हो । एन्फाले विज्ञप्तिमातर्फ राष्ट्रिय टोलीको प्रशिक्षण तत्कालका लागि स्थगित गरेको जनाएको छ । ‘क्लबहरूले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गर्दै खेलाडीहरूको प्रशिक्षण स्थगित गरिएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले हस्ताक्षर गरेको पत्रमा भनिएको छ । एन्फाले शुक्रबार बिहान दशरथ रंगशालामा प्रारम्भिक ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । 

एन्फाले साफको तयारीका निमित्त रणनीति प्रशिक्षण भन्दै खेलाडीलाई बोलाएको हो । तर, १० क्लबले भने लिगका खेलहरू चलिरहेको अवस्थामा खेलाडीलाई प्रशिक्षणमा नपठाउने निर्णय लिएका हुन् । ‘लिग समाप्त भएपछि मात्र हामीले बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेका छौँ,’ १० क्लबका पदाधिकारीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ । बैठकमा त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिससँगै जावलाखेल युथ क्लबका पदाधिकारी सहभागी भएनन् । बैठकमा फ्रेन्ड्स, मनाङ मस्र्याङ्दी, संकटा, हिमालयन शेर्पा, न्युरोड टिम (एनआरटी), खुमलटार, सातदोबाटो युथ, मच्छिन्द्र फुटबल, चर्च ब्वाइज युनाइटेड र थ्री स्टारका पदाधिकारी सहभागी थिए । 

सम्झौताविपरीत निर्णय
१० क्लबले सामूहिक रूपमा खेलाडी रिलिज नगर्ने घोषणा गरेपछि साफ च्याम्पियनसिपको तयारीमा बाधा पुग्ने निश्चित छ । क्लबहरूको यस निर्णयले एन्फा अन्योलमा परेको छ । एन्फा प्रवक्ता शाहले क्लबहरूले सम्झौताविपरीत कार्य गर्न लागेको प्रतिक्रिया दिएका छन् । ‘लिगअघि एन्फा र क्लबबीच सम्झौता भएको थियो, सम्झौताअनुसार साफ च्याम्पियनसिपको तयारीका लागि खेलाडी फुकुवा गर्ने सल्लाह थियो,’ प्रवक्ता शाहले भने, ‘अहिले यो निर्णय लिनु ठीक हैन ।’ लिगको पाँचौँ चरण चलिरहँदा दशरथ रंगशालामै नेपाल, भुटान र लाओससम्मिलित थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना भएको थियो । त्यसवेला क्लबहरूले खेलाडी फुकुवा गरेका थिए । सो प्रतियोगितामा नेपालले लाओसलाई हराउँदै उपाधि हात पारेको थियो । 

साफ च्याम्पियनसिप ६ असारबाट 
‘ए’ डिभिजन लिग २७ जेठमा सकिँदै छ । प्रतियोगिताको २३ चरणका खेल सम्पन्न भएका छन् । नेपालका मुख्य प्रशिक्षक भिसेन्जो अल्बेर्टाे एनेसले साफ च्याम्पियनसिपका लागि मंगलबार ३० सदस्यीय प्रारम्भिक टोलीमा परेका खेलाडी सार्वजनिक गरे । लिगको साबिक विजेता मच्छिन्द्र, चर्च ब्वाइज, आर्मी र एपिएफबाट समान चार खेलाडी परेका छन् । संकटाबाट तीन खेलाडी क्लोज क्याम्पमा बोलाइएको छ । मनाङ, थ्री स्टार, जावलाखेल र सातदोबाटोबाट समान दुई खेलाडी अटाएका छन् । प्रशिक्षक भिसेन्जोले फ्रेन्ड्स, भारतको पन्जाब एफसीबाट खेलिरहेका किरण चेम्जोङ र इन्डोनेसियाको पर्सिक केडेरीबाट व्यावसायिक फुटबल खेलिरहेका रोहित चन्दलाई पनि प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।

१४औँ साफ च्याम्पियनसिप ६ देखि १८ असारसम्म भारतको बेंग्लोरमा हुँदै छ । साफ च्याम्पियनसिपअघि नेपालले फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । साफमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, मादिभ्सले सहभागिता जनाउनेछन् । फिफाको प्रतिबन्धका कारण श्रीलंका सहभागी हुनेछैन । कुवेत र लेबनानलाई आमन्त्रित टोलीका रूपमा बोलाइएको छ । 

क्लबले कालोपट्टी लगाएर खेल्ने 
क्लबहरूले सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारी खर्च, म्याच मनी, म्यान अफ दी म्याच रकम उपलब्ध नगराएकाले बाँकी खेलमा कालोपट्टी लगाएर खेल्ने निर्णय गरेका छन् । ‘पटक–पटक एन्फालाई पुरानो तयारी खर्च, दोस्रो किस्ता, म्याच मनी र म्यान अफ दी म्याच रकम उपलब्ध गराउनेसम्बन्धमा ताकेता गरेका थियौँ, एन्फाबाट रकम उपलब्ध नगराइएकाले शुक्रबारदेखि नै रकम प्राप्त नहुँदासम्म विरोधस्वरूप सबै खेलाडी र पदाधिकारीले कालोपट्टी लगाई खेललाई निरन्तर खेल्ने निर्णय गरेका छौँे,’ पत्रमा उल्लेख गरिएको छ ।