
कोसी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा)ले बाहिरिने निर्णय गरेको छ।
जसपाबाट स्वास्थ्यमन्त्री बनेकी निर्मला लिम्बूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जसपा प्रदेश कमिटीले जनाएको छ।
प्रदेशमै एक मात्र सांसद भएको जसपाबाट लिम्बू गत पुस २५ गते स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन्। जसपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्र नैतिक दबाबमा परेको छ।
९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाको एक सांसद छन्। एमाले र राप्रपा एक ठाउँमा छन् भने कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एउटा गठबन्धनमा छन्।
प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ तर सभामुख बाहेक दुवै पक्षमा समान ४६ मत पुग्छ ।